मालबाहक ट्रक लिएर सहचालक बेपत्ता, खोजी तीव्र
सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैयामा पार्किङ गरी राखिएको मालबाहक खाली ट्रक लिएर सहचालक बेपत्ता भएका छन्। पथलैयाका स्थानीय सोम गुरुङको स्वामित्वमा रहेको ना६ख १३५७ नम्बरको ट्रक आइतबार राति पार्किङ स्थलबाटै सहचालकले लिएर फरार भएका हुन्।
प्रहरीका अनुसार राति करिब ११ बजे सहचालकले पार्किङ गरी राखिएको ठाउँबाट ट्रक लिएर निस्किएको सीसीटीभी फुटेजमा देखिएको छ। तर ट्रक कुन दिशातर्फ लगेका हुन् भन्ने कुरा भिडियोमा प्रस्ट नदेखिएकाले पथलैया चौकीका प्रहरीले आसपासका विभिन्न स्थानका सीसीटीभी फुटेजहरू जाँच गरिरहेको छ।
उक्त ट्रकमा पथलैयाका ३१ वर्षीय अनोज थापा चालकका रूपमा कार्यरत थिए। राति सहचालकलाई चाबी बुझाएर घर गएका चालक थापा सोमबार बिहान फर्कँदा गाडी नदेखेपछि लगत्तै प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार सहचालकले कसैलाई जानकारी नै नदिई ट्रक लिएर गएको र हालसम्म सम्पर्कमा नआएको पुष्टि गरे। बेपत्ता ट्रक र सहचालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !