काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेलस्थित ‘दुसित थानी हिमालय रिसोर्ट’ मा २४ घण्टा बिताएर फर्किएका छन्। शनिबार दिउँसो ३ बजेतिर रिसोर्ट पुगेका रवि र स्वर्णिम आइतबार सोही समयमा फर्किएका हुन्। अर्थमन्त्री वाग्लेको लगानी रहेको सो रिसोर्टमा सभापति लामिछाने श्रीमती निकिता पौडेललाई पनि साथमा लिएर गएका थिए।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बिदा उपभोग गर्ने गरेको विगतको शैलीलाई पछ्याउँदै रवि र स्वर्णिमले पनि रिसोर्टमा बिदा मनाएका हुन्। तर, के उनीहरू बिदा मनाउनकै लागि मात्र दुसित थानी गएका हुन् त ? भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। उनीहरूले यसबारे काभ्रेको स्थानीय प्रहरी प्रशासनलाई समेत खबर गरेका थिएनन् र सुटुक्क त्यहाँ पुगेका थिए। उनीहरूको यो २४ घण्टे बसाइलाई नेपाली राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। हालै चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित लामिछाने र उपसभापतिमा निर्वाचित वाग्लेले यो गुप्तबासमा के–के विषयमा कुराकानी भयो भन्ने खुलाएका छैनन्।
यद्यपि, पछिल्ला दिनहरूमा प्रधानमन्त्री बालेनसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको खटपट भइरहेका प्रसंगहरूका कारण यो बसाइ थप चासोको विषय बनेको हो। सभापति लामिछाने र अर्थमन्त्री वाग्लेको यो गुप्तबासबाट प्रधानमन्त्री बालेन समूह सशंकित बनेको छ।
- रवि लामिछाने र डा. स्वर्णिम वाग्ले धुलिखेलस्थित दुसित थानी हिमालय रिसोर्टमा २४ घण्टा बसेर फर्किए।
- गोप्य बसाइमा के–कस्ता विषयमा छलफल भयो भन्ने सार्वजनिक गरिएको छैन।
हालको मन्त्रिपरिषद्मा दोस्रो वरीयता (मर्यादाक्रम) मा रहेका अर्थमन्त्री वाग्ले प्रधानमन्त्रीको सचिवालयको अनावश्यक हस्तक्षेपबाट वाक्क भएपछि सभापति लामिछानेसँग एकान्तमा आफ्ना कुरा राख्न चाहन्थे। दिनहुँजसो प्रधानमन्त्रीले निजी क्षेत्रसँग भेटघाट र छलफल गरिरहेका छन्, तर उनले कुनै पनि बैठकमा अर्थमन्त्री वाग्लेका तर्फबाट सहभागिता गराएका छैनन्। प्रधानमन्त्री बालेनले उद्योगी, व्यवसायी, निर्माण व्यवसायी, जुत्ता व्यवसायी तथा होटल व्यवसायीलगायतलाई निरन्तर भेटिरहेका छन्। बरु जुत्ता व्यवसायीसँगको भेटवार्तामा सांसद विदुषी राणा सहभागी भइन्, तर अर्थमन्त्रीले भने कुनै पनि भेटघाटमा सहभागी हुन पाएका छैनन्।
त्यस्तै, विधानमै संसदीय दलको नेतालाई कस्ने व्यवस्थादेखि अर्थमन्त्री वाग्लेले अघि सारेको प्रदेश सभा खारेजीको विषयसम्मले प्रधानमन्त्री बालेनसँग विमति सिर्जना गरेको बताइँदै आएको छ। सरकार गठन भएको छोटो अवधि पूरा भइरहँदा सरकारप्रतिको आलोचनाका स्वरहरू पनि बढेका छन्। सडकमा दिनहुँजसो विरोध प्रदर्शन भइरहेका छन्। सुकुम्बासी समस्यादेखि गणेश नेपालीहरूको आत्मदाहलगायतका विषयले सभापति लामिछाने स्वयम् पनि छटपटाउन थालेका थिए। मन्त्रीहरूलाई रातारात पक्राउ गर्न प्रधानमन्त्री बालेनले दिएको आदेशको विषय पनि चर्चाकै शिखरमा छ।
अर्कोतर्फ, विगतमा सभापति रवि लामिछाने भेट्न आउँदा छोरी खेलाएर बस्ने प्रधानमन्त्री बालेन पछिल्लो समय भने लामिछानेलाई भेट्न आफैं पुगेका थिए। उनले अर्थमन्त्रीलगायतका मन्त्रीहरूको क्रियाकलापप्रति आफू सन्तुष्ट नरहेको कुरा सभापति लामिछानेसमक्ष राखेका थिए। बालेनले केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुपर्ने प्रस्तावसमेत लामिछानेसमक्ष राखेको बुझिएको छ।
कर आतंक
पछिल्लो समय देशमा करको आतंक नै सिर्जना भएको छ। साउन १ गतेदेखि शवगृहमा शव राखेबापत पनि ३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ। सामाजिक समता शुल्कका नाममा शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत करको व्यवस्था गरिएको छ, जो साउन १ गतेदेखि नै लागू भइसकेको छ।
निजी विद्यालयका सञ्चालकहरूले थप ३ प्रतिशत कर तिर्ने घोषणा नै गरिसकेका छन्। यो करको नीतिगत विषयमा पनि प्रधानमन्त्री र अर्थमन्त्रीबीच एकमत नरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !