नेपालमा बालयौन दुराचारको सजाय काटेर फर्किएका व्यक्ति अमेरिकी अदालतबाट दोषी ठहर
काठमाडौं : नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो बेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो ।
नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो । उनी त्यसबेलादेखि हिरासतमै छन् । उनीविरुद्ध अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ ।
बालकहरूको यौन शोषण गर्न संगठित रूपमा सिण्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालकहरू सहरमा ओसार पसार गरी विदेशी बालयौन दुराचारीहरूलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान शुरू गरेको थियो । २०७३ भदौ २४ गते काठमाडौं ठमेलस्थित याम्बु होटलबाट सो ब्यूरोबाट खटिएको प्रहरीले केनेथ जोसेफ कुम्ब्स र बालयौन दुराचारका निम्ती निजलाई सहयोग गर्ने काठमाडौं स्वयम्भू बस्ने २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंको २०७४ वैशाख १० गतेको फैसलाले कुम्ब्सलाई ९ वर्ष कैद सजाय ठहर भएको थियो भने पुतवारलाई ४ वर्ष कैद सजाय ठहर भएको थियो ।
अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयलको सूचनामा कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटलमा ८ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेको र ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालकबालिकाहरूलाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ । साथै कुम्ब्सले खिचेको पीडितको तस्विरहरू कुम्ब्सका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरेको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको सीआईबी, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको समेत अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !