रवि र बालेनबीच ४ घन्टा छलफल, सुकुम्बासीमा समाधानमा जोड
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच आइतबार लामो छलफल भएको छ। हालका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा उनीहरूका बीच कुराकानी भएको हो। प्रधानमन्त्री बालेन स्वयम् सभापति लामिछानेलाई भेट्न पुगेका थिए। उनीहरूबीचमा चार घण्टा लामो छलफल भएको छ।
गणेश नेपालीहरूको आत्मदाहदेखि सुकुम्बासीहरूको समस्याले सडकदेखि सदनमै सरकारको तीव्र आलोचना र विरोध भइरहेको छ। यो विषयमा सार्वजनिक रूपमा न प्रधानमन्त्रीको कुनै प्रतिक्रिया आएको छ न पार्टी सभापति रवि लामिछानेकै सत्तारूढ रास्वपाले आधिकारिक रूपमा गणेश नेपालीहरूको आत्मदाह र सुकुम्बासीको बिचल्लीको विषयमा बोलेको छैन। यी प्रकरणले भर्खरै हनिमुन सकेको सरकारलाई फिटफिटी पर्न थालिसकेको छ। जनताको समस्या भन्दै पीडित भएको ठाउँमा पुग्दै आएका गृहमन्त्री सुधन गुरुङ समेत अब सानातिनाका काम नजाने भनेर भाग्न खोज्नुपर्ने अवस्था आएको छ।
पार्टीको पहिलो महाधिवेशन भएको ३ साता बढी भइसकेको छ। सभापति लामिछानेले अझै पनि पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्न सकेका छैनन्। विधानमा वरिष्ठ नेता त प्रधानमन्त्री बालेनका लागि राखिएको हो। तर, विधानमा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था राखिएको छ। जसले बालेनलाई झस्काएको छ।
विधानमा नै सम्पूर्ण अधिकार सभापतिका केन्द्रित गरिएको छ। संसदीय दलको नेतासम्मलाई पदाधिकारीले फिर्ता बोलाउन सक्ने व्यवस्था राखिएको छ। विधानमा सभापति लामिछानेलाई शक्तिशाली बनाइएको छ भने बालेनले प्रधानमन्त्री स्वच्छाचारी हुने भयकै कारण अकुंश लगाउने किसिमको व्यवस्था राखिएको कतिपय रास्वपाकै नेताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !