वीर अस्पतालले भन्यो-५५ प्रतिशत शरीर जलेका गणेशको ज्यान जोगाउन सकिएन
काठमाडौं : काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। शरीरको करिब ५५ प्रतिशत भाग जलेर अत्यन्तै नाजुक र जटिल अवस्थामा वीर अस्पताल भर्ना भएका नेपालीको आज (शुक्रबार) बिहान ११:१९ बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ।
मुगु जिल्ला सोरु गाउँपालिका वडा नं. १ निवासी नेपालीलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएदेखि नै सघन उपचार कक्षमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिएको थियो।
उनको ज्यान बचाउन अस्पतालका प्लास्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सिङ स्टाफको टोलीले निरन्तर प्रयास गरिरहेको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
अस्पतालका अनुसार उनलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी समेत भइरहेको थियो। तर अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर र जीवनरक्षक औषधिहरू प्रदान गरी बचाउने अन्तिम क्षणसम्म प्रयास गरेका थिए।
उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। 
प्रतिक्रिया दिनुहोस !