सरकारलाई सांसद दुलालको प्रश्न : कतिजना नागरिकले आत्मदाह गरेपछि राहदानी घर-घरमा पुग्ने हो ?
काठमाडौं :नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद दुलालले सरकारले नागरिकको घरमै राहदानी सेवा पुर्याउने घोषणा गरे पनि सेवाग्राहीले अझै सास्ती खेप्नुपरेको बताए। उनले राहदानी वितरणमा ढिलाइ भएका कारण ती व्यक्तिले आत्मदाहको प्रयास गरेको दाबी गरे।
सरकारले राहदानी दिन ढिलाइ गरेकै कारण उनले आत्मदाह गर्नु परेको कुरा प्राम्भिक कारण खुलेको उनको भनाइ छ।
'सभामुख महोदय,त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाहको प्रयास गरेका छन्। सरकारले घरघरमा राहदानी पुर्याइदिने उद्घोष गरे पनि सेवाग्राहीले अझै दुःख पाइरहेका छन्,'दुलालले घटनाबारे सरकारसँग जवाफ माग्दै भने,'सरकार कहाँ छ ? पीडित सेवाग्राहीले आत्मदाह गरिरहँदा सरकार कहाँ छ ? कतिजना नागरिकले आफ्नो शरीरमा आगो लगाएपछि राहदानी घरघरमा पुग्ने हो ?'
उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।
बिहीबार दिउँसो राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको खुलेको छ। उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर आफ्नो शरीरमा छर्किएर आगो लगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !