अमेरिकाद्वारा इरानमा पुनः आक्रमण, ट्रम्पले भने– फेरि हमला भए अझ कडा जवाफ दिन्छौं
काठमाडौं : अमेरिकाले इरानका दक्षिणी तटीय क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि कडा सैन्य कारबाही गर्ने चेतावनी दिएलगत्तै हवाई आक्रमण भएको हो।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्य आसपासका सिरिक र बन्दर अब्बासलगायत क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन्। कोनारक, चाबहार र जास्क क्षेत्रमा पनि विस्फोटको आवाज सुनिएको बीबीसीले जनाइएको छ।
आक्रमणपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो हिजो इरानले जहाजहरूमाथि गरेको आक्रमणको जवाफ हो। यदि फेरि यस्तो भयो भने यसको परिणाम अझ गम्भीर हुनेछ।’
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले होर्मुज जलडमरूमध्यमा सुरक्षित जलयात्रामाथि खतरा उत्पन्न गर्ने इरानको क्षमता कमजोर बनाउन लक्षित कारबाही गरिएको जनाएको छ। हालै व्यावसायिक जहाज र तिनका चालकदलमाथि भएको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरिएको पनि सेन्टकमले उल्लेख गरेको छ।
आक्रमणपछि खाडी क्षेत्रका देशहरू पनि उच्च सतर्कतामा पुगेका छन्। बहराइनको राजधानी मनामामा विस्फोट भएको, कुवेतले मिसाइल र ड्रोन अवरोध गरेको तथा कतारले सुरक्षा सतर्कता जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानले अमेरिकी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर यसअघि इरानी अधिकारीहरूले अमेरिकाबाट हुने कुनै पनि आक्रमणको तत्काल प्रतिकार गरिने चेतावनी दिएका थिए।
इरानी सरकारी टेलिभिजनका अनुसार बन्दर अब्बासमा आठवटा विस्फोट भएका छन्। सिरिक, जास्क तथा विवादित अबु मुसा टापुमा पनि क्षेप्यास्त्र प्रहार भएको दाबी गरिएको छ। बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ।
चाबहारमा विद्युत् आपूर्ति प्रभावित भएको र बुशेहरस्थित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको एक ब्यारेकमा आगलागी भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। क्षतिको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन।
यसैबीच ट्रम्पले ‘एयर फोर्स वान’मा पत्रकारहरूसँग कुरा गर्दै इरानले सम्झौताका लागि सम्पर्क गरेको दाबी गरेका छन्। उनले इरान सम्झौता गर्न इच्छुक देखिए पनि त्यसको पालना गर्नेमा आफू विश्वस्त नरहेको बताएका छन्।
मंगलबार होर्मुज जलडमरूमध्यमा तीनवटा तेल ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले पहिलो चरणको सैन्य कारबाही गरेको थियो। त्यसयता दुवै देशबीच तनाव झन् बढेको छ।
१७ जुनमा अमेरिका र इरानबीच भएको युद्धविरामसम्बन्धी समझदारीपछि पनि पटक–पटक सैन्य कारबाही हुँदै आएको छ। ट्रम्पले बुधबार उक्त समझदारी अब प्रभावहीन भएको दाबी गर्दै इरानसँग थप वार्ता गर्नु ‘समयको बर्बादी’ हुने बताएका छन्।
यता इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको अभिव्यक्तिको जवाफ ‘शब्दले होइन, कामले दिने’ चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !