परराष्ट्रनीतिको प्रतिबद्धतालाई दृढतापूर्वक पालना गर्न राजदूतहरुको अपिल
चीनका लागि ७ नेपाली पूर्वराजदूतको प्रश्न : दलाई लामाको जन्मदिन सरकारको सहमतिमा मनाइएको हो ?
विज्ञप्तिमा भनिएको छ, ‘के हामीले छिमेकसंगको परराष्ट्र नीति बदलेका हौं ? यदि यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्र राष्ट्र चीनसंगको दौत्य सम्वन्धको स्थापना कालदेखि हालसम्म कायम राखेको एक चीन नीतिको प्रतिकूल गएको छ र यसले नेपालले अवलम्बन गर्दै आएको भूराजनैतिक सन्तुलनमा समेत प्रतिकूल असर पार्ने प्रष्ट देखिन्छ।’
काठमाडौं : सरकारलाई चीनका लागि नेपाली पूर्वराजदूतहरुले परराष्ट्रनीतिको प्रतिबद्धतालाई दृढतापूर्वक पालना गर्न अपिल गरेका छन्। चीनका लागि ७ जना नेपाली पूर्वराजदूतहरुले संयुक्त विज्ञप्ति निकाल्दै नेपालमा १४ औं दलाइ लामाको ९१ औं जन्मदिन मनाइएको र सो कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने समाचारले चिन्तित बनाएको जानकारी गराएका हुन्।
विज्ञप्तिमा चीनका लागि नेपालका पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, बिष्णु पुकार श्रेष्ठ, कृष्ण प्रसाद ओलीले हस्ताक्षर गरेका छन्।
राजदूतहरुले नेपालले सधैं दृढतापूर्वक एक चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको स्मरण गराएका छन्। उनले परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको प्रतिबद्धतामा परिवर्तन आएको हो ? भन्दै प्रश्न गरेका छन्। उनीहरुले कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, एक चीन नीतिको प्रतिकूल गएको र यसले भूराजनैतिक सन्तुलनमा समेत प्रतिकूल असर पार्ने धारणा राखेका छन्।
‘यहि असार २२, २०८३ मा नागार्जुन नगरपालिका-२ स्थित नामग्यालविद्यालयमा १४औं दलाइ लामाको ९१ औं जन्मदिन मनाइएको र सो कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने समाचारले हामी चीनका लागि पूर्व राजदूतहरू चिन्तित भएका छौं।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालले सधैं दृढतापूर्वक एक चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो ? के हामीले छिमेकसंगको परराष्ट्र नीति बदलेका हौं ? यदि यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने, नेपालले मित्र राष्ट्र चीनसंगको दौत्य सम्वन्धको स्थापना कालदेखि हालसम्म कायम राखेको एक चीन नीतिको प्रतिकूल गएको छ र यसले नेपालले अवलम्बन गर्दै आएको भूराजनैतिक सन्तुलनमा समेत प्रतिकूल असर पार्ने प्रष्ट देखिन्छ।’
राजदूतहरुले यस्तो गतिविधि हाम्रो देशको स्थायित्व, विकास र स्वतन्त्रताको लागि प्रत्युत्पादक हुने भएको नेपाल सरकार र सरोकारवालालाई सतर्क र सचेत रहनसमेत अपिल गरेका छन्। उनीहरुले भविष्यमा यस्ता गतिविधिहरू नदोहोरिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गतिविधि हाम्रो देशको स्थायित्व, विकास र स्वतन्त्रताको लागि प्रत्युत्पादक हुने भएको हुँदा हामी नेपाल सरकार लगायत सबै सरोकारवालालाई सतर्क र सचेत रहन समेत अपिल गर्दछौ। साथै भविष्यमा यस्ता गतिविधिहरू नदोहोरिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं।’
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !

