कोशी अस्पतालमा पाँचथर कारागारका बन्दीको मृत्यु
विराटनगर : विराटनगरको कोशी अस्पतालमा उपचाररत पाँचथर कारागारका बन्दी सन्देश राईको बुधबार बिहान मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीय राई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
जिल्ला अदालत पाँचथरले २०८२ मंसिर ७ गते उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसपछि जिल्ला कारागार पाँचथरमा रहेका उनी बिरामी परेपछि जिल्ला अस्पताल फिदिममा उपचार गराइएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि विराटनगर रेफर गरी असार १८ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
मोरङ कारागारका प्रशासक राजन घिमिरेका अनुसार उपचारका क्रममा बुधबार बिहान करिब ५ बजे उनको मृत्यु भएको हो । राईको सुरक्षाका लागि मोरङ कारागारबाट कर्मचारी र सुरक्षाकर्मी खटाइएको थियो । उपचारमा संलग्न चिकित्सकले उनलाई मुटु, मिर्गौला र फोक्सोसम्बन्धी पुरानो समस्या रहेको बताएका छन् । पछिल्ला दिनमा उनलाई श्वासप्रश्वासमा कठिनाइ हुनुका साथै शरीर सुन्निने समस्या देखिएको थियो ।
राईविरुद्धको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत पाँचथरमा विचाराधीन रहेको अवस्थामा उनको मृत्यु भएको हो । घटनाको बारेमा परिवारलाई जानकारी गराइसकिएको र शव पाँचथर कारागारलाई जिम्मा लगाइने घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस !