सीमा विवाद हल गर्न संयन्त्रले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले नेपाल र भारत छिमेकी देश भएकाले सीमा विवादहरू छन् भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भइरहेको बताएका हुन् ।
उनले ऐतिहासिक दस्तावेजहरूका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुराका साथै सुस्ता क्षेत्र नेपालको भएकाले तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजहरूका आधारमा कूटनीतिक वार्तामार्फत सीमा सम्बन्धी विषयहरू समाधान गर्न चाहेको धारणा राखे ।
दुई देशबीच विद्यमान रहेका सीमासम्बन्धी संयन्त्रहरूले सीमा क्षेत्रमा काम गरिरहेको भन्दै मन्त्री खनालले आगामी महिना ‘बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिएको बताए । त्यस्तै उनले आगामी सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट उपलब्ध गराउने तयारीमा राहदानी विभाग जुटेको जानकारी दिए । मन्त्री खनालले राहदानी छपाइको बिषय हाल अदालतमा विचाराधीन रहेकाले, सो प्रक्रियामा टिप्पणी गर्नु उपयुक्त नहुने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस !