सत्ता–प्रतिपक्षको विवादले सार्वजनिक लेखा समितिको बैठक नै स्थगित
सत्तारुढ सांसद खगेन्द्र सुनारले भने, ‘अल्पमतको मुनि रहेर बहुमतले काम गर्न सक्दैन’
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उपसमितिको संयोजक र सदस्यमा रहने बिषयमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच विवाद भएको हो ।
बैठकमा रास्वपाका सांसदहरुले लेखा समितिको सभापति बिपक्षी दलबाट रहेको अवस्थामा उपसमितिको संयोजक सत्ता पक्षलाई दिनुपर्ने धारणा राखेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले आफूहरुले सम्मानजनक भूमिका पाउनु पर्ने धारणा राखेका थिए । समिति सदस्य खगेन्द्र सुनारले अल्पमतको मुनि रहेर बहुमतले काम गर्न नसक्ने बताए । उनले समितिको नेतृत्व प्रतिपक्षीले पाएको अवस्थामा उपसमितिको संयोजक सत्ता पक्षलाई दिनुपर्ने अडान राखे ।
बैठकमा नेकपा सांसद महेन्द्रबहादुर शाहीले उपसमिति संयोजक छान्न अल्पमत वा बहुमतको प्रावधान भन्दा समावेशी तवरले समझदारी गरेर अघि बढ्नुपर्ने सुझाव दिए । रास्वपा सांसद खुस्बु ओलीले उपसमितिमा सम्मानजनक उपस्थिति हुनुपर्ने भन्दै कुनै प्रकारको बिभेद स्वीकार्य नहुने धारणा राखे। उपसमिति संयोजकको बिषयमा टुङ्गो नलागेपछि समिति सभापति भरतबहादुर खड्काले अर्को सूचना जारी नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !