सरकारले १०० दिनमा आशा जगाउनुको सट्टा संशय र आशंका मात्रै जन्माउने काम गर्यो : प्रदीप पौडेल
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नु पर्ने र आगामी १५औं महाधिवेशनलाई विधिसम्मत ढङ्गले सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नेतृत्व तहलाई सम्मान गर्न आफूहरू सधैँ तयार रहेको तर विधिको दायरा र सीमालाई कसैले पनि मिच्न नहुने स्पष्ट पारे ।
महामन्त्री पौडेलले पार्टीभित्र रहेका संस्थापन र इतर दुवै पक्षका नेता–कार्यकर्ताले अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने धारणा राखे । पौडेलले सदस्यता अद्यावधिकलाई लिएर अनावश्यक भ्रम फैलाइएको उल्लेख गर्दै यसको उद्देश्य पुराना सदस्यलाई हटाउनु नभई उनीहरूको विवरण अद्यावधिक गरी एकीकृत अभिलेख तयार गर्नु रहेको स्पष्ट पारे । महामन्त्री पौडेलले सरकार गठन भएको १०० दिन पुग्न लाग्दा सरकारले जनतामा विश्वास जगाउनुको साटो अनेकन् आशंका र संशयहरू मात्रै जन्माउने काम गरेको आरोप लगाए ।
जनताले जुन लोकतान्त्रिक र संसदीय व्यवस्थाबाट रास्वपालाई निर्वाचित गरेर पठाए, सरकारमा पुगेपछि उनीहरूले त्यही व्यवस्था र जगलाई भत्काउने गरी महाधिवेशनबाट नीति पास गरेको भन्दै आपत्ति जनाए । महामन्त्री पौडेलले रास्वपाले संघीयता खारेज गर्ने जस्ता व्यवस्था र संविधान विरोधी निर्णहरु गरिरहेको आरोप लगाए । बालेन्द्र शाह र रास्वपा नेतृत्वले चुनावका बेला एृउटा र सत्तामा पुगेपछि अर्कै चरित्र देखाएको भन्दै लोकतान्त्रिक र संसदीय व्वस्थाकै बलमा आएर त्यही विचार र प्रणालीलाइ सिध्याउने खेल खेलिएको भन्दै सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा संशयपूर्ण रहेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस !