गणेश थुम्कीतर्फ बन्दै मिनी ग्रेटवाल

गणेश थुम्कीतर्फ बन्दै मिनी ग्रेटवाल
सुन्नुहोस्

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोक पुग्ने भक्तजन र पर्यटकका लागि गणेश थुम्कीसम्मको यात्रा अब थप सहज र आकर्षक बन्दै गएको छ। कालिञ्चोक मन्दिर दर्शनका लागि पुग्ने अधिकांश भक्तजनले मन्दिरसँगै गणेश थुम्की पुगेर मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्ने गरेपछि त्यहाँसम्म पुग्ने पदमार्गलाई व्यवस्थित बनाउन मिनी ग्रेटवाल निर्माण गरिएको हो। निर्माण सम्पन्न भइसकेको खण्डले पदयात्रालाई सुरक्षित र सहज बनाएको छ भने आगामी चरणमा थप निर्माण भएपछि ग्रेटवाल कालिञ्चोक मन्दिरसम्मै जोडिने भएको छ।

आर्थिक वर्ष २०८२/८३ को बागमती प्रदेश सरकारको बजेटबाट सुरेश गौतमको पहलमा गणेश थुम्कीतर्फ करिब ३०० मिटर मिनी ग्रेटवाल निर्माण गरिएको कालिञ्चोक रिसोर्टका सञ्चालक शान्तवीर तामाङले बताए। कालिञ्चोक मन्दिरतर्फ जानका लागि पनि पदमार्ग निर्माणको काम भइरहेको छ। अब थप करिब ३०० मिटर निर्माण सम्पन्न भएपछि ग्रेटवाल मन्दिर परिसरसम्मै पुग्ने उनको भनाइ छ। यसले पदयात्रा गर्ने भक्तजनलाई सहज मात्र होइन सुरक्षित पनि बनाउने विश्वास गरिएको छ।

पछिल्ला वर्षहरूमा कालिञ्चोक आउने भक्तजनको यात्रा  मन्दिर दर्शनमा मात्र सीमित रहने गरेको छैन। मन्दिर दर्शनपछि अधिकांश आगन्तुक गणेश थुम्की पुगेर रोल्वालिङ हिमशृङ्खला, गौरीशंकर क्षेत्रका हिमाल, घना वन, डाँडाकाँडा तथा वरपरको मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्ने गरेको तामाङले बताए। यस कारण गणेश थुम्की कालिञ्चोक भ्रमणको अभिन्न गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयको भनाइ छ।

कालिञ्चोकमा केबलकार सञ्चालनमा आएपछि यात्रा सहज बनेको छ। शारीरिक रूपमा हिँड्न कठिन हुने, ज्येष्ठ नागरिक, बालबालिका वा समय अभाव भएका भक्तजनले केबलकार प्रयोग गर्ने गरेका छन्। तर प्राकृतिक वातावरणको आनन्द लिँदै पदयात्रा गर्न चाहनेहरूको संख्या अझै उल्लेख्य छ। उनीहरूका लागि मिनी ग्रेटवाल आकर्षणको केन्द्र बन्दै गएको छ। फराकिलो  पदमार्ग, विश्राम गर्न मिल्ने स्थान र सुरक्षित हिँडडुलको व्यवस्थाले पदयात्रालाई थप सहज बनाएको स्थानीय पर्यटन व्यवसायीहरूले बताएका छन्।

धार्मिक दृष्टिकोणले पनि कालिञ्चोक पुग्ने धेरै भक्तजन पैदल यात्रा गरेर मन्दिर पुग्न रुचाउँछन्। पैदल हिँडेर देवीको दर्शन गर्दा मनोकामना पूरा हुने र धार्मिक पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। केबलकार सञ्चालनमा आएपछि पनि पैदल यात्रा गर्ने भक्तजनको संख्या घटेको छैन।

समुद्री सतहबाट ३ हजार ८ सय ४५ मिटर उचाइमा अवस्थित कालिञ्चोक नेपालकै चर्चित धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक हो। यहाँबाट रोल्वालिङ हिमशृङखला, गौरीशंकर क्षेत्रका हिमाल, हराभरा पहाडी भू–दृश्य, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। हिउँदमा हिमपातका कारण आन्तरिक पर्यटकको उल्लेख्य भीड लाग्ने यहाँ अन्य मौसममा पनि धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण वर्षभरि भक्तजन तथा पर्यटकको आगमन भइरहन्छ।

सदरमुकाम चरिकोटबाट करिब १८ किलोमिटर दूरीमा रहेको कालिञ्चोकमा पछिल्ला वर्षहरूमा सडक, केबलकार, होटल तथा पदमार्गको पूर्वाधार विस्तारसँगै धार्मिक पर्यटनले नयाँ गति लिएको छ। स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार गणेश थुम्कीसम्म निर्माण भइरहेको मिनी ग्रेटवाल पूर्ण रूपमा सम्पन्न भएपछि कालिञ्चोकको पदयात्रा अझ व्यवस्थित हुने, पर्यटकको बसाइ लम्बिने र स्थानीय पर्यटन व्यवसायलाई समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.