सेयर बजारको ओरालो यात्रामा ब्रेक
काठमाडौं : बजेट घोषणापछि ओरालो यात्राको सेयर बजार असारको तेस्रो सातामा आइपुग्दा ब्रेक लागेको छ। यस साता ५ दिन सेयर कारोबार भएकोमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २ दिन बढ्यो भने ३ दिन घट्यो। अघिल्लो साता भने सेयर बजार ५ दिनै घटेको थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २६४९.५१ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा झर्यो। त्यसपछिको कारोबारको दिन मंगलबार पनि नेप्से उच्च अंकले घट्यो। त्यसदिन २४.६३ अंकले घटेको थियो। त्यसपछिका दुई दिन नेप्से बढ्यो। बुधबार नेप्से ४४.३९ अंक र बिहीबार ८.७८ अंकले बढ्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार भने ८.३० अंकले घटेर नेप्से २६५३.४० विन्दुमा अडिएको छ।
सातामा दुई दिनको कारोबारमा ५३.३७ अंकले बढ्ने र तीन दिनको कारोबारबाट ४९.४७ अंकले घट्ने हुँदा नेप्सेमा ३.९० अंकले बढोत्तरी हुन पुग्यो। अघिल्लो साता भने नेप्से ५२.५७ अंकले घटेको थियो। यस सातामा बुधबार न्यून विन्दु २६०२.३९ मा र शुक्रबार उच्च विन्दु २६७३.१४ अंकसम्म मात्रै नेप्से बढेर सेयर कारोबार भयो।
साताकै सबैभन्दा कम सोमबार ३ सय ५१ वटा कम्पनीको कारोबार भएकोमा मंगलबार साताकै सबैभन्दा बढी ३ सय ६५ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५९ स्क्रिप्टहरूको मात्रै कारोबार भएको थियो। यस साता सबैभन्दा कम सोमबार २ अर्ब ६७ करोड १८ लाख र सबैभन्दा बढी शुक्रबार ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भयो।
साताभरिमा ५ दिनको कारोबारमा १९ अर्ब १७ करोड ५३ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ३ अर्ब ८३ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता औसतमा दैनिक ४ अर्ब २२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार १० प्रतिशतले घटेको देखाउँछ।
अघिल्लो साता औसत दैनिक सेयर कारोबार करिब १ प्रतिशलभन्दा कमैले घटेको थियो।नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४५ खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ छ। गत साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४५ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ थियो। साताभरमा नेप्से ३.९० अंकले बढ्दा कुल बजार पुँजीकरण २४ अर्ब ४० करोड रुपैयाँले बढ्न पुग्यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण ४२ अर्ब ४० करोड रुपैयाँले घटेको थियो।
यस साताभरिका पाँचै दिन स्नो रिभर्स, एक–एक दिन टक्सार पिखुवा खोला हाइड्रोपावर, कालिंगा हाइड्रोपावर, याम्लिङ हाइड्रोपावर, धौलागिरी वित्तीय संस्था, अपर लोहोरे खोेला हाइड्रोपावर कम्पनी र सानिगढ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शुक्रबार भने अपर लोहोरे खोेलाको सेयर १३.६५ अंकले घटेको थियो। सेयर बजारमा सूचीकृत १३ उपसमूहमध्ये यससाता ६ बढे भने ७ घटे।
बैंकिङ, फाइनान्स, ट्रेडिङ, डेभलपमेन्ट बैंक, माइक्रोफाइनान्स र हाइड्रोपावरको उपसमूह बढेका थिए। अघिल्लो साता भने सबै उपसमूह घटेका थिए। यस साता सेन्सेटिभ इन्डेक्स २.१३ अंक, फ्लोट इन्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले बढे। अघिल्लो साता भने सेन्सेटिभ इन्डेक्स ६.३० अंक, फ्लोट इन्डेक्स ३.३५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०६ अंकले घटेका थिए।
लगानीकर्ता संघको मौद्रिक नीतिका लागि ५ सुझाव
सेयर लगानीकर्ता संघ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि ५ सुझाव पेस गरेको छ। बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप स्वतन्त्रता प्रदान गर्ने र नियामकीय प्रतिबन्धहरूको पुनरावलोकन गरी लचकता प्रदान गरिनुपर्ने संघले सुझाव दिएको छ। संघले लघुवित्त संस्थाको लाभांश वितरण सम्बन्धी व्यवस्थामा सुधारको माग गरेको छ।
त्यसैगरी, सेयर धितो कर्जा व्यवस्थालाई जोखिममा आधारित बनाउने माग गरिएको छ। संघले गैरआवासीय नेपालीलाई लगानी प्रवेश तथा बाहिरिने प्रक्रिया सहज बनाउने व्यवस्था गर्न माग गरेको छ। संघले संस्थागत कोषहरूको सक्रिय परिचालनका लागि नीतिगत सहजीकरण गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !