विश्वका उत्कृष्ट १० ‘इको–फ्रेन्डली’ सडक
विश्व आर्थिक मञ्चको वार्षिक ‘ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट’ अन्तर्गतको ‘रोड क्वालिटी इन्डेक्स’ले विश्वभरका सडकको भौतिक र प्राविधिक गुणस्तर मापन गर्छ, जसमा सिंगापुर, नेदरल्यान्ड्स र स्विट्जरल्यान्ड सधैं शीर्ष स्थानमा पर्छन्।
नवीनतम वातावरणीय परियोजनाहरू जस्तै, नेदरल्यान्ड्सको ‘सोलर (सोला) रोड’ र स्विडेनको ‘ई–रोड आर्लान्डा’ जस्ता विश्वमै पहिलो पटक परीक्षण र सफल भएका परियोजना छन्। यिनै तथ्य, तथ्यांकका आधार र अनुसन्धानहरूलाई टेकेर विश्वका १० उत्कृष्ट देशको यात्रा गरौं, जसले परम्परा भत्काएर दिगो भविष्यको नयाँ मार्ग कोरे।
१. नेदरल्यान्ड्समा सडकबाटै बिजुली : साइकल र हरियालीको सन्दर्भमा नेदरल्यान्ड्स अगाडि छ। डच सरकारको पूर्वाधार तथा जल व्यवस्थापन मन्त्रालयको तथ्यांक हेर्ने हो भने यहाँ बन्ने नयाँ राजमार्गहरूमा अत्यधिक मात्रामा ‘रिसाइकल’ गरिएको कालोपत्रे प्रयोग गरिन्छ। जसले नयाँ अलकत्रा र गिट्टीको दोहन कम गर्छ। नेदरल्यान्ड्सलाई विश्वकै उत्कृष्ट सडक बनाउने मूल विषय अर्कै छ।
कल्पना गर्नुहोस् त, तपाईं सडकमा हिँडिरहनुभएको छ र त्यो सडकले बिजुली उत्पादन गरिरहेको छ ! हो, नेदरल्यान्ड्सको ‘सोलर रोड’ परियोजनाले यही चामत्कारिक काम गरेको छ। क्रोमनी भन्ने सहरमा सन् २०१४ मा विश्वकै पहिलो सौर्य प्यानल जडित साइकल लेन बनाइयो। जुन सडकले घामबाट ऊर्जा लिन्छ र नजिकैका घरहरू र सडक बत्तीहरूलाई बिजुली दिन्छ। बाढी र पानी जम्ने समस्याबाट बच्न डच इन्जिनियरहरूले बनाएको पानी सोस्ने प्रणाली त झनै उत्कृष्ट छ। प्रकृतिलाई नबिगारी आधुनिकता अँगाल्ने नेदरल्यान्ड्स साँच्चै प्रेरणादायी देश हो।
२. सिंगापुरमा स्पञ्ज, एआई र स्मार्ट सेन्सरहरू : विश्व आर्थिक मञ्चको रिपोर्ट हेर्ने हो भने सडकको गुणस्तरमा सिंगापुरले विश्वमै सबैभन्दा उच्च अंक (६.५/७.०) पाएको छ। सानो तर अति नै विकसित टापु राष्ट्र यसले सडकलाई कसरी वातावरणमैत्री बनाउन सकिन्छ भनेर विश्वलाई सिकाएको छ। सिंगापुरको ‘ल्यान्ड ट्रान्सपोर्ट अथोरिटी’ले सडक निर्माणमा विशेष प्रकारको ‘पोरस अस्फाल्ट’को अनिवार्य प्रयोग गराउँछ।
सिंगापुरमा भारी वर्षा हुन्छ। तर यो विशेष कालोपत्रेले पानीलाई सडकमा जम्न नदिई स्पन्जले जस्तै तुरुन्तै सोसेर ढलमा पुर्याउँछ। जसले गाडी चिप्लिएर हुने दुर्घटना कम गर्छ। अर्को, यसले गाडीका टायर र सडकबीचको घर्षणबाट निस्कने चर्को आवाजलाई दबाइदिन्छ, जसले सहरलाई शान्त राख्छ। सिंगापुरले सहरभरि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जडित ‘स्मार्ट सेन्सर’हरू राखेको छ, जसले ट्राफिक जाम हुन दिँदैन। गाडी जाम नभएपछि इन्धन कम जल्छ र धुवाँ पनि कम निस्कन्छ।
३. स्विडेनमा ई–रोड आर्लान्डाले जादुयी सडक : स्विडेनले यातायातको क्षेत्रमा सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ। सुन्दा असम्भव जस्तो लागे पनि स्विडेनको सडक निर्माण विभाग ‘ट्राफिक भर्केट’ले यसलाई सम्भव बनाउँदैछ। स्विडेनले विद्युतीय सडकको अवधारणालाई सन् २०१८ मै वास्तविकतामा परिणत गरिसकेको छ– स्टकहोम नजिकैको ‘ई–रोड आर्लान्डा’ परियोजना। यो यस्तो जादुयी सडक हो, जहाँ विद्युतीय ट्रक वा कार गुड्दागुड्दै आफैं चार्ज हुन्छन्।
सडकको बीचमा रेलको लिक जस्तै ट्र्याक बिछ्याइएको हुन्छ, जसबाट गाडीको तल्लो भागमा जोडिएको यन्त्रले बिजुली तान्छ। गाडी रोकिएपछि वा बाटो काटेपछि यो ट्र्याकमा करेन्ट प्रवाह हुन बन्द हुन्छ, त्यसैले यो पूर्णरूपमा सुरक्षित छ। जुन प्रविधिले अब विद्युतीय गाडीहरूमा ठूला र भारी ब्याट्री बोक्नुपर्ने झन्झट हटेको छ। ब्याट्री उत्पादन घटाउनु भनेको प्रकृति दोहनलाई सिधै रोक्नु हो। स्विडेनको यो कदम भविष्यको यातायातको साँचो तस्बिर हो।
४. स्विट्जरल्यान्डमा अकोस्टिक अस्फाल्ट’ र इकोडक्टस् : स्विट्जरल्यान्डको प्राकृतिक सौन्दर्य र पूर्वाधार दुवै विश्वप्रसिद्ध छन्। स्विस फेडरल रोड्स अफिसले सडक बनाउँदा मानिसको सुविधासँगै जनावरहरूको अधिकारलाई पनि उत्तिकै सम्मान गर्छ। पहाड र जंगल छिचोलेर राजमार्गहरू बनाउँदा जनावरहरूको बासस्थान टुक्रिने र उनीहरू गाडीको ठक्करबाट मारिने जोखिम घटाउन सयौं वन्यजन्तु कोरिडोर (इकोडक्ट्स) निर्माण गरेको छ। जहाँ रुखबिरुवा रोपेर ठ्याक्कै जंगल जस्तै बनाइएको हुन्छ।
साथै, सुन्दर आल्प्स पर्वतका उपत्यकाहरूमा गाडीको आवाज गुञ्जिएर हुने ध्वनि प्रदूषणलाई रोक्न स्विस इन्जिनियरहरूले विशेष किसिमको ‘अकोस्टिक अस्फाल्ट’ प्रयोग गर्छन्। यसले आवाजलाई सोस्छ र प्रकृतिको शान्तिलाई कायमै राख्छ। विकास र प्रकृतिको सुन्दर सहअस्तित्व स्विट्जरल्यान्डबाहेक विरलै देख्न पाइन्छ।
यो पनि पढ्नुहोस
५. फ्रान्समा वाट–वे र स्मार्ट मेन्टेनेन्स : फ्रान्स कला, फेसन र रोमान्सको देशमात्र होइन, इन्जिनियरिङमा पनि उत्तिकै अब्बल छ। पारिस्थितिक संक्रमण मन्त्रालय र निर्माण कम्पनी ‘कोलस ग्रुप’ मिलेर सडकलाई नै ऊर्जाको पावरहाउस बनाउने सपना देखेका छन्।
फ्रान्सको नोर्मान्डीमा उनीहरूले ‘वाट–वे’ नामक विश्वकै पहिलो सोलार प्यानल जडित मोटरबाटोको परीक्षण गरे। यो यस्तो पातलो र बलियो सौर्य प्यानल हो, जसलाई सिधै सडकको सतहमा टाँस्न सकिन्छ र त्यसमाथि १८–पाङ्ग्रे भारी ट्रकहरू गुड्दा पनि टुट्दैन। यद्यपि सुरुवाती दिनमा केही प्राविधिक चुनौती आए तर फ्रान्सले यसलाई निरन्तर सुधार गरिरहेछ। फ्रान्सले ‘स्मार्ट मेन्टेनेन्स’ प्रणाली पनि लागू गरेको छ। सडक भत्किएर ठूला मेसिन र अलकत्रा बोकेर जानुअघि नै सडकमा जडान गरिएका सेन्सरले कुन ठाउँमा मर्मत आवश्यक छ भनेर पूर्वसूचना दिन्छन्। यसरी थोरै मर्मतले काम चल्छ र अनावश्यक कार्बन उत्सर्जन रोकिन्छ।
६. जापानमा थोत्रा प्लाष्टिकबाट बाटो र चार्जिङ स्टेसन :
भूकम्प, सुनामीजस्ता प्राकृतिक प्रकोपहरू झेलिरहने देश जापानको पूर्वाधार मन्त्रालयले सडक बनाउँदा अत्यन्तै टिकाउ र लामो समयसम्म खप्ने प्रविधिको प्रयोग गर्छ। अचेल वातावरणलाई केन्द्रमा राख्दैछ। विश्वभर ठूलो टाउको दुखाइ बनेको प्लास्टिक प्रदूषण जापानले भने सदुपयोग गर्दै सडकमा बिछ्याउँछ।
फालिएका प्लास्टिकका बोतल र झोलाहरूलाई पगालेर अलकत्रामा मिसाउने प्रविधि सफलतापूर्वक लागू गर्छ जापान। यस्ता सडक धेरै बलियो हुन्छन्, पानीले कम बिगार्छ र आयु पनि लामो हुन्छ। एकातिर प्लास्टिकको फोहोर व्यवस्थापन हुने, अर्कोतिर सडक पनि बलियो बन्ने। जापानले देशभरि विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसनहरूको यति बाक्लो सञ्जाल बिछ्याएको छ कि मानिसहरू पेट्रोलपम्प खोज्नभन्दा चार्जिङ स्टेसन भेटाउन सजिलो मान्छन्।
७. डेनमार्कमा कार छोडेर साइकल जहाँ छ ग्रिनवेज :
डेनमार्कको सडक मोडल अलि फरक र निकै प्रेरणादायी छ। डेनमार्कको सडक निर्देशनालयको मुख्य उद्देश्य सडक फराकिलो बनाएर धेरै कार गुडाउने होइन, बरु मानिसलाई कार छोडेर साइकल वा सार्वजनिक यातायात प्रयोग गर्न प्रेरित गर्ने हो। कोपेनहेगनजस्ता सहरहरूमा हेर्ने हो भने कार गुड्ने बाटोभन्दा साइकल गुड्ने बाटो फराकिला र सुविधायुक्त छन्।
मोटरबाटोहरूसँगै समानान्तर रूपमा हरियालीले भरिएका ‘ग्रिनवेज’ निर्माण गरिएका छन्। यी लामा साइकल लेनहरू हुन्, जहाँ साइकल यात्रीहरूले ट्राफिक जाम र धुवाँधुलोको सामना नगरी छिटो गन्तव्यमा पुग्न सक्छन्। कारको प्रयोग घटेपछि सडक भत्किने दर कम हुन्छ, सडक मर्मतमा लाग्ने कार्बन उत्सर्जन जोगिन्छ र सहरको हावा एकदमै सफा हुन्छ। पूर्वाधारले नै मानिसको बानी बदल्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो, डेनमार्क।
८. संयुक्त अरब इमिरेट्स (यूएई)मा रबरइज्ड अस्फाल्टः मरुभूमिको तातो बालुवा र प्रचण्ड गर्मी हुने यूएईको नाम यो सूचीमा देख्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर यूएईको ऊर्जा तथा पूर्वाधार मन्त्रालयले दिगो विकासमा गरेको लगानी लोभलाग्दो छ। खाडी मुलुकको अत्यधिक गर्मीमा सामान्य अलकत्रा पग्लेर सडक बिग्रिने ठूलो समस्या हुन्छ। यसको समाधान गर्न यूएईले काम नलाग्ने पुराना टायरहरूलाई धुलो बनाएर अलकत्रामा मिसाउन थालेको छ। यसरी बनेको ‘रबरइज्ड अस्फाल्ट’ले गर्मीलाई सजिलै थेग्छ र सडकको आयु कैयौं वर्ष बढाइदिन्छ।
यसरी, मरुभूमिमा जताततै फालिने हजारौं टन रबरको फोहोर व्यवस्थापन भएको छ। अर्कोतर्फ, यूएई (विशेषगरी दुबई र अबुधाबी)ले सडकमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ट्राफिक लाइटहरू राखेको छ। यी लाइटहरूले गाडीको चाप हेरेर आफैं हरियो वा रातो बत्ती बाल्छन्। जसले गाडीहरू चोकमा लामो समय रोकिनु पर्दैन र हावामा फालिने विषाक्त धुवाँको मात्रा उल्लेख्य रूपमा घट्छ।
९. दक्षिण कोरियाका डिभाइडरमाथि सौर्य प्यानलको छाना : दक्षिण कोरियाले परम्परागत सडकलाई केवल यात्रा गर्ने माध्यमबाट परिणत गरेर ऊर्जा उत्पादन र सक्रिय गतिशीलताको हब नै बनाइदिएको छ। दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले अघि सारेका परियोजनाहरू विश्वकै लागि उदाहरण बनेका छन्।
सबैभन्दा सुन्दर नमुना दाएजियोन र सेजोङ सहर जोड्ने राजमार्ग हो। यो राजमार्गको बीच भागमा (जहाँ सामान्यतया डिभाइडर हुन्छ) एउटा सुरक्षित साइकल लेन बनाइएको छ। लेनको ठीक माथि सौर्य प्यानलहरूको लामो छाना राखिएको छ। यसले एकातिर साइकल यात्रीलाई घाम र पानीबाट बचाउँछ भने अर्कोतिर त्यसबाट उत्पादित बिजुलीले राजमार्गमा बत्तीहरू बाल्न र नजिकैको ग्रिडमा ऊर्जा आपूर्ति गर्न मद्दत गर्छ। सडकको खेर गइरहेको खाली ठाउँलाई बहुउद्देश्यीय र वातावरणमैत्री तरिकाले प्रयोग गर्ने दक्षिण कोरियाको दूरदृष्टि तारिफयोग्य छ।
१०. अस्ट्रियामा आस्फिनाग र ग्रीन ब्रिजहरू : युरोपको मुटुमा रहेको अस्ट्रिया एक प्रमुख ‘ट्रान्जिट’ देश हो, जहाँबाट दैनिक हजारौं अन्तर्राष्ट्रिय ट्रक र कारहरू ओहोरदोहोर गर्छन्। यति धेरै व्यस्त सडक सञ्जाल भए तापनि अस्ट्रियाले आफ्नो जैविक विविधतालाई जोगाउन ठूलो संघर्ष गरेको छ। अटोबान (राजमार्ग) सञ्चालक कम्पनी ‘आस्फिनाग’ले वातावरण संरक्षणलाई सधैं पहिलो प्राथमिकतामा राख्ने गरेको छ। यहाँका राजमार्गहरू पार गर्न ठाउँ–ठाउँमा ठूला ‘ग्रीन ब्रिज’हरू बनाइएका छन्।
यी पुलहरू सिमेन्टका मात्र हुँदैनन्, त्यसमा माटो राखेर, घाँस र बुट्ट्यानहरू रोपेर जंगलको बाटो जस्तै बनाइएको हुन्छ। जसले जंगली जनावरहरू सुरक्षित ओहोरदोहोर गर्न पाउँछन्। अस्ट्रियाले सडक कालोपत्रे गर्दा मौसम–प्रतिरोधी विशेष रसायनहरू मिसाउँछ, जसले सडक छिटो बिग्रिँदैन। सडक छिटो नबिग्रिनु भनेको पटक–पटक डोजर र रोलरहरू ल्याएर मर्मत गरिरहनु नपर्नु हो, जसले निर्माण कार्यबाट हुने प्रदूषणमा भारी कटौती भएको छ।
प्रतिक्रिया दिनुहोस !
