मनास्लुको फेदीमा ‘हाईअल्टिच्यूड’ फुटबल प्रतियोगिता
गोरखा : मनासलु हिमालको फेदीमा ‘हाइअल्टिच्यूड’ फुटबल प्रतियोगिता सुरु भएको छ । समुद्री सतहदेखि ३,५०० मिटर उचाइको स्याला खेल मैदानमा आज बुधबारदेखि मनास्लु कप फुटबल प्रतियोगिता भएको थार्पा लामाले जानकारी दिए ।
हिमालपारिको चुमनुब्री गाउँपालिका २ स्याला खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको चुमनुब्री–२ का निवर्तमान वडाअध्यक्ष पेम्बारेता लामाले उद्घाटन गरेका छन् । आलोपालो पद्धति अनुसार यस पटकको प्रतियोगिता बिही सेराङ्गी हिमाली युवा क्लवले आयोजना गरेको उनले बताए । प्रतियोगितामा १२ टिम सहभागी छन् ।
बुधबार उद्घाटन खेल ल्हो मावि ‘बी’ र आयोजक क्लवबीच भएको छ । सो खेल एक–एकको बराबरीमा टुंगिएको छ । प्रतियोगितामा बिजेता हुने टिमले नगद रु एक लाख ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उपविजेता टिमले रु ७५ हजार र प्रतियोगितामा तेस्रो हुनेले नगद रु ४५ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । यस्तै, अनुशासित खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलरक्षक लगायतको पुरस्कारको व्यवस्था गरिएको छ ।
महिलातर्फको प्रतियोगितामा बिजेता हुनेले पनि नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाइ छ । उत्तरी गोरखा हिमाली भेगका युवाहरु बीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरुबीच एकआपसमा मेलमिलापको भावना जगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिता नाम दिएर हाइअल्टिच्यूड फुटबल खेलको सुरुवात गरेका थिए । सोही समयबाट निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !