मेसीले रचेको इतिहास
डालास : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अस्ट्रियाविरुद्ध दुई गोल गर्दै विश्व फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनको उत्कृष्ट प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले समूह ‘जे’को खेलमा अस्ट्रियालाई २–० गोलले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो।
खेलको सुरुवातमै पेनाल्टी अवसर गुमाएका मेसीले त्यसपछि आफ्नो अनुभव र उत्कृष्ट फिनिसिङमार्फत खेलको ३८औं मिनेटमा पहिलो गोल गरेका थिए। निर्धारित समय सकिन केही क्षण बाँकी रहँदा उनले दोस्रो गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए।
यो दुई गोलसँगै मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। उनले जर्मनीका मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमानलाई उछिन्दै विश्वकप गोल संख्या १८ पुर्याएका छन्। यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै मेसीले क्लोसको कीर्तिमानसँग बराबरी गरेका थिए। मेसीले लगातार छैटौं विश्वकपमा गोल गर्ने दुर्लभ उपलब्धि पनि आफ्नो नाममा लेखाएका छन्। यससँगै लगातार ६ विश्वकपमा गोल गर्ने विश्व फुटबलका केही सीमित खेलाडीहरूको सूचीमा उनले आफूलाई पनि उभ्याएका छन्।
विश्वकप २०२६ मा मेसीको गोल संख्या पाँच पुगेको छ। अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसीले यसअघि नै आफ्नो नाममा लेखाइसकेका छन्। उनीपछि अर्जेन्टिनाका गाब्रियल बाटिस्टुटा (१०), डिएगो म्याराडोना (८), ग्विलेर्मो स्टाबिल (८), मारियो केम्पेस (६) र गोन्जालो हिग्विन (५) छन्। अल्जेरियाविरुद्धको ह्याट्रिकपछि मेसीको नाममा अर्को कीर्तिमान पनि बनेको छ। त्यो हो, दक्षिण अमेरिकी महादेशबाटै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीमा उनले आफ्नो नाम लेखाएका छन्। यो कीर्तिमान यसअघि ब्राजिलका रोनाल्डोको नाममा १५ गोलका साथ थियो। रोनाल्डोको विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान सन् २०१४ मा क्लोजले तोडेका थिए।
मेसीको प्रदर्शनले सावित गरेको छ कि उमेर केवल संख्या मात्र हो। खेलको गति, बल नियन्त्रण, आक्रमण, पास र गोल गर्ने क्षमतामा उनी अझै पनि अर्जेन्टिनाका सबैभन्दा भरपर्दो हतियार देखिएका छन्। प्रशिक्षक लियोनल स्कोलोनीले समेत मेसीको प्रभाव र उनका उपलब्धिहरू आश्चर्यको विषय नरहेको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया दिनुहोस !