७ वर्षमा पनि सकिएन मिनी रंगशाला

७ वर्षमा पनि सकिएन मिनी रंगशाला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रंगशाला सम्झौता भएको सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनामा भएको चरम ढिलासुस्ती भएको भन्दै बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले निर्माण कार्यलाई तत्काल तीव्रता दिएर समयमै सम्पन्न गर्न निर्देशन दिएकी छिन्।

रंगशालाको स्थलगत अनुगमन तथा अवलोकनका क्रममा उनले खेल पूर्वाधार विकास प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेकाले अब कुनै पनि बहानामा काम रोक्न नमिल्ने स्पष्ट पारेकी हुन्। ‘यो रंगशाला सिन्धुपाल्चोकका खेलाडीहरूको मात्र नभई समग्र जिल्लाको खेलकुद विकाससँग जोडिएको महत्वपूर्ण परियोजना हो,’ मन्त्री नेपालले भनिन्, ‘बाँकी कामलाई तीव्रता दिई छिटो सम्पन्न गर्न आवश्यक सहयोग र समन्वय प्रदेश सरकारका तर्फबाट हुनेछ।’

तीन वर्षमा सम्पन्न हुनुपर्ने रंगशाला सात वर्षसम्म पनि किन पूरा नभएको भनी प्रश्न गर्दै उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई अब बहानाबाजी गरेर नचल्ने चेतावनी दिइन्। देखिएका समस्या समाधानका लागि मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको भन्दै मन्त्री नेपालले कुनै पनि हालतमा तत्काल काम सक्नुपर्नेमा जोड दिइन्। मन्त्री नेपालसँगै मन्त्रालयका सचिव, सामाजिक विकास कार्यालयका प्रमुख तथा अन्य सरोकारवाला अधिकारीहरू सहभागी टोलीले रंगशालाको निर्माण प्रगति, बाँकी रहेका कार्य, निर्माणका क्रममा देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरेको थियो।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत काभ्रेपलाञ्चोकको भैंसेपाटीस्थित सार्वजनिक निर्माण कार्यान्वयन एकाइ र सुनकोशी गिरी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीबिच रंगशाला बनाउने ठेक्का सम्झौता भएको थियो। २०७६ भदौ २ गते तत्कालीन बागमती प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलालले यस रंगशालाको शिलान्यास गरेका थिए।

रंगशालाको डिजाइन अहिलेसम्म पाँच पटकसम्म फेरिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार रंगशालाको फुटबल मैदान अखिल नेपाल फुटबल संघ (एन्फा) को मापदण्डबमोजिम सय मिटर लम्बाइ र ६५ मिटर चौडाइको हुनेछ। रंगशालामा ६ हजार दर्शक क्षमताको प्याराफिट बन्नेछ भने पाँच सय सवारीसाधन अट्ने पार्किङस्थल, ड्रेसिङ रुमलगायतका संरचना बनाइनेछ।

४१ करोड ६२ लाख रुपैयाँ लागतमा ठेक्का लागेको रंगशालाको निर्माण कम्पनीले निर्धारित अवधिमा काम सम्पन्न गर्न नसकेपछि दुई पटकसम्म म्याद थप गरिएको थियो। सो अवधिमा समेत निर्माण कार्यले गति लिन नसकेपछि मुख्य कम्पनी सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रालिले २०८१ साल जेठ महिनादेखि निर्माण कार्यको जिम्मा लिएको छ।

निर्माण कार्य ७० प्रतिशत पुगेका बेला मन्त्रिपरिषद्को १३औं संशोधनपछि म्याद थपको व्यवस्था नहुँदा गत असोज महिनादेखि काम प्रभावित भएको थाहा भएको छ। पछि सार्वजनिक खरिद नियमावलीको १४औं संशोधनमार्फत विशेष व्यवस्था अनुसार म्याद थप गरिएसँगै निर्माण कार्य पुनः सुचारु गरिएको थियो।

निर्माण व्यवसायी तथा सुनकोशी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि जेबी लिम्बूका अनुसार प्रदेश सरकारबाट मूल्य समायोजन बापतको रकम प्राप्त हुन ढिलाइ हुँदा फ्लडलाइट जडानलगायतका केही अन्तिम चरणका कार्य प्रभावित भएका छन्। उनले कम्पनीले तीव्र गतिमा निर्माण कार्य अघि बढिरहेको भए पनि भुक्तानी प्रक्रियामा देखिएको जटिलताले परियोजना सम्पन्न गर्न चुनौती थपिएको बताए।

तर मिनी रंगशाला निर्माणमा व्यवसायीले ढिलासुस्ती गर्दा आयोजनाले पूर्णता पाउन नसकेको स्थानीय युवाहरूको भनाइ छ। रंगशाला समयमै सम्पन्न नहुँदा सात वर्षदेखि जिल्लामा खेलकुदका गतिविधि ठप्प प्रायः रहेको जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठ बताउँछन्। रंगशाला निर्माण सम्पन्न भए जिल्लामा खेल गतिविधि विस्तार हुने र राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.