मेसी अघिअघि एमबाप्पे पछिपछि
काठमाडौं : फिफा विश्वकप २०२६ जारी रहँदा विश्व फुटबलका दुई स्टारबीच अर्को ऐतिहासिक प्रतिस्पर्धा चुलिएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका सुपरस्टार काइलिन एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बन्ने होडमा छन्।
३८ वर्षीय मेसीले विश्वकप २०२६ मा सानदार प्रदर्शन गर्दै जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान तोडेका छन्। अर्जेन्टिनाका लागि लगातार गोल गर्दै मेसीले आफ्नो विश्वकप गोल संख्या १८ पुर्याएका हुन्। उनी पुरुष विश्वकप फुटबलको इतिहासमा सर्वाधिक गोलकर्ता बनेका छन्। तर, मेसीको यो कीर्तिमान सुरक्षित भने देखिएको छैन। २७ वर्षीय एमबाप्पे पनि तीव्र गतिमा उनको पछाडि कुदिरहेका छन्। फ्रान्सका कप्तान एमबाप्पेले यस संस्करणमा उत्कृष्ट सुरुवात गर्दै आफ्नो विश्वकप गोल संख्या १६ पुर्याएका छन् र कीर्तिमानको दौडलाई थप रोमाञ्चक पनि बनाएका छन्।
विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा अहिले मेसी शीर्ष स्थानमा छन् भने क्लोस र एमबाप्पे संयुक्त रूपमा दोस्रो स्थानमा छन्। ब्राजिलका महान स्ट्राइकर रोनाल्डो नाजरियो १५ गोलसहित तेस्रो स्थानमा छन्।
फुटबल विश्लेषकहरूका अनुसार मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन्। त्यसैले उनले बनाएको नयाँ कीर्तिमानलाई चुनौती दिने सबैभन्दा बलियो दाबेदार एमबाप्पे नै हुन्। उमेरको हिसाबले पनि एमबाप्पेसँग अझै कम्तीमा एक वा दुई विश्वकप खेल्ने अवसर रहने भएकाले यो कीर्तिमान फेरि तोडिन सक्ने धेरैको अनुमान छ।
विश्वकपमा गोलको वर्षा गरिरहेका यी दुई स्टारबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई थप आकर्षक बनाएको छ। अहिलेका लागि मेसी अगाडि छन्, तर एमबाप्पे पछिपछि दौडिरहेका छन्। विश्व फुटबलका समर्थकहरू अब उत्सुकतापूर्वक हेर्दै छन्, के मेसीले आफ्नो अग्रता अझै बढाउनेछन् वा एमबाप्पेले इतिहास पल्टाउँदै नयाँ कीर्तिमान रच्नेछन् ?
यसैगरी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू अन्तिम चरणमा पुग्दा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ पुरस्कारको दौड पनि रोचक बनेको छ।
अर्जेन्टिनाका कप्तान मेसी पाँच गोलसहित शीर्ष स्थानमा छन्। अस्ट्रियाविरुद्ध दुई गोल गरेपछि उनले गोल्डेन बुटको दौडमा अग्रता कायम गरेका हुन्। त्यसपछि मेसीलाई पछ्याइरहेका छन्, नर्वेका स्ट्राइकर अर्लिन हालान्डले। मंगलबार सेनेगलविरुद्ध दुई गोल गर्दै हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या चार पुर्याएका छन्। नर्वेलाई नकआउट चरणमा पुर्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
फ्रान्सका कप्तान एमबाप्पे पनि गोल्डेन बुटको प्रमुख दाबेदारका रूपमा छन्। इराकविरुद्ध दुई गोल गरेपछि उनले विश्वकप २०२६ मा आफ्नो प्रभावशाली यात्रा जारी राखेका छन्। सन् २०२२ मा गोल्डेन बुट जितेका एमबाप्पे लगातार दोस्रो पटक यो पुरस्कार जित्ने अभियानमा छन्।
प्रतिक्रिया दिनुहोस !