स्याबास् आदित्य

स्याबास् आदित्य
सुन्नुहोस्

एकजना नेपाली किशोर आदित्य सुवेदीको कम्पनीले ३ अर्ब ६२ करोड रुपैयाँको प्रारम्भिक लगानी अमेरिकामा जुटाएको खबर साँच्चिकै सुखद र संसारभरका नेपालीका लागि गर्वको कुरा हो। यो विशाल उपलब्धिका लागि आदित्य सबै नेपालीका तर्फबाट बधाईका हकदार भएका छन्। जम्मा १९ वर्षका आदित्यको कम्पनीले एआईको माध्यमबाट सेमिकन्डक्टर चिप डिजाइनलाई सस्तो र छिटो बनाउने लक्ष्य राखेको छ। यो भनेको अहिले संसारले भोगिरहेको चिपको महँगी र कतिपय अवस्थाको एकाधिकार अन्त्य गर्ने प्रयास हो।

उनले त्यसमा सफलता पाए भने संसारलाई नै ठूलो गुन हुनेछ। अमेरिकामा कम्पनी खोलेर जुन विश्वासका साथ उनले लगानी जुटाए, त्यो बिनाआधार होइन; त्यसमा धेरै सम्भावना भएरै लगानी जुटेको हो भन्न सजिलै सकिन्छ। नेपाली मस्तिष्कले पनि विश्वलाई योगदान पुर्‍याउने क्षमता राख्छ भन्ने कुरा आदित्यले प्रमाणित गरेका छन्। अहिले अमेरिकामा भए पनि आदित्य आखिर नेपालकै मोरङमा जन्मिएका र काठमाडौंमा हुर्किएका हुन्।

सँगै अर्को सुखद खबर पनि छ। इन्डोनेसियाको जाकार्तामा आयोजित विश्वस्तरीय एआई, रोबोटिक्स र कोडिङ प्रतियोगितामा नेपालका ६ वटा विद्यार्थी टोलीहरूले विभिन्न विधामा पुरस्कार जितेका छन्। ७० भन्दा बढी देशका १५ सय प्रतिस्पर्धीमाझ नेपालीहरू उत्कृष्ट भए। प्रविधि र सूचनाको जमानामा नेपालीले युगअनुसारको प्रतिभा उजागर गरेका रहेछन् भन्ने यो अर्को प्रमाण बनेको छ। यी दुवै समाचारले नेपाली युवा र विद्यार्थीको प्रविधि सामथ्र्यलाई विश्वमञ्चमा प्रमाणित गरिदिएको छ। आदित्यले हार्वर्ड विश्वविद्यालयको छात्रवृत्ति त्यागेर उद्यमशीलताको बाटो रोजेका थिए। त्यो गलत नभई सही बाटो थियो भन्ने कुरा प्रमाणित भएको छ। गुगल डिपमाइन्ड, ओपनएआई र एनभिडियाजस्ता विश्वविख्यात संस्थाका सञ्चालकहरूले नेपाली प्रतिभामाथि लगानी गर्नु चानेचुने कुरा होइन।

प्रविधिले भूगोललाई साँघुरो पारेको छ। प्रतिभालाई पनि प्रविधिले नै विश्वमाझ चिनिने वा योगदान गर्ने अवसर दिएको छ। तर, सँगसँगै हाम्रा युवाहरू भने बिदेसिन बाध्य छन्। नेपाली प्रतिभाले नेपालभित्रै योगदान गर्न सक्ने वातावरण बनाउन राज्य चुकिरहेको छ। किन नेपाली युवालाई नेपालमै केही गर्ने नीति र वातावरण दिन सकिरहेका छैनौं, आखिर प्रतिभा त युवासँग छ भन्ने कुरा मनन् गर्नुपर्ने राज्यले हो।

प्रविधि यस्तो चिज हो, जसलाई हाम्रोजस्तो भूपरिवेष्ठित देश भनेर कुनै साँध–सीमामा छेकिनु र रोकिनु पर्दैन। अभौतिक प्रविधि नेपालमै उत्पादन गरेर निर्यात गर्न सकिन्छ। भौतिक प्रविधि पनि आवश्यकताका आधारमा अन्य देशहरूले आयात नगरी धरै छैन। आदित्यले बनाउने भनेको सस्तो सेमिकन्डक्टर आज जुनसुकै देश पनि आयात गर्न तयार हुन्छ, स्वयं अमेरिका पनि।

अमेरिकामा रहेर पनि आदित्यले नेपालमै केही गर्न चाहेका छन्। उनले नेपालमा सूचना प्रविधिको विश्वविद्यालय खोल्ने र प्रत्येक प्रदेशमा शिक्षालय पुर्‍याउने संकल्प राखेका छन्। के राज्य उनको स्वागत गर्न तयार छ ? कि प्रक्रियागत झमेलाको तगारो हालेर बस्छ ? प्रश्न गम्भीर छ। आफैंले वातावरण बनाएर स्वदेशमै प्रतिभा प्रस्फुटन हुन दिनुपर्नेमा बाधक बन्ने हाम्रो कर्मचारीतन्त्र, प्रशासन र नीति बदलिन्छ कि फेरि बहानाबाजीमै अल्झिन्छ ? आदित्यको सफलताले हाम्रो राज्यको नियतमाथि बलियो प्रश्न सोधेको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.