अतिथि देवो भवःले सिकाएको दायित्व

अतिथि देवो भवःले सिकाएको दायित्व
सुन्नुहोस्

भनिथ्यो, झन्डै साढे अर्बभन्दा बढी जनसंख्या भएका भारत र चीनका थोरै पर्यटक आए पनि नेपाललाई पुगिहाल्छ। अहिले पोखराका हकमा त्यस्तै भएको छ। व्यवसायीहरूकै भनाइमा दैनिक १५ सयदेखि दुई हजारसम्म गाडीमा भारतीय पर्यटक भित्रिएका छन्। पोखराका झन्डै साढे चार सय पर्यटकीय होटल (सबैगरी भने १२ सय होटल छन्) को ‘अकुपेन्सी’ भारतीयबाटै ९० प्रतिशत छ। पोखरा आसपासका ठाउँदेखि मुक्तिनाथसम्म भारतीय पर्यटक छ्यापछ्याप्ती छन्। पोखरेली पर्यटनकर्मीले २०औं वर्षअघिदेखि ‘गर्मी से बेहाल, चलो नेपाल’ अभियान भारतमै गएर चलाउँदै आएका थिए। यसपालि चाहिँ साँच्चै गर्मी छल्न भनेरै भारतीयहरू पोखरा आए।

हरेक वर्ष गर्मी याममा भारतको बिहार, उत्तर प्रदेशलगायत ठाउँमा कर्मचारी र विद्यार्थीलाई बिदा हुन्थ्यो। तर यसपालि जति भारतीय पोखरा गर्मी छल्न कहिल्यै आएनन्। जानकारहरूका भनाइमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले डलर खर्च नहुने देशमा मात्रै भ्रमण गर्न भनेपछि भारतीयको रोजाइ सिंगो नेपाल र त्यसमा पनि पोखरा प¥यो। केही वर्षयता पोखरासहित अन्नपूर्ण क्षेत्र घुमेका सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व (इन्फ्लुएन्सर)ले गरेको प्रचारको परिणाम पनि भारतीयहरू पोखरा घुम्न आइपुगेका छन्। 

भारतीयलाई नेपाल आउँदा प्रवेशाज्ञा लाग्दैन, भारु सजिलै साटिन्छ वा त्यसबाट खर्च गर्न सकिन्छ। अचेल त डिजिटल भुक्तानी पनि चल्न थालेको छ। भाषाको समस्या खास हुँदैन। त्यही कारण भारतीयले नेपाल सजिलो गन्तव्य मानेका छन्। इतिहासमै सबैभन्दा धेरै भारतीय पर्यटक आइरहँदा कतिपयको आचार व्यवहारबारे सामाजिक सञ्जालमा टीकाटिप्पणी पनि भएको छ। तीर्थयात्रीहरूले बाटोमै खानपान र बसोबास गरेका कुरा त छँदैछन्, भारतीयले फोहोर गरेका दृश्य पनि उत्तिकै सामाजिक सञ्जालमा देखिन्छ। खासमा तीर्थयात्रीका लागि हामीले कुनै छुट्टै बसोबास र खानपान स्थल बनाइदिएका छैनौं। त्यसको व्यवस्था तुरुन्तै गराउनुपर्छ भन्ने यसपालिको आगमनले दिएको शिक्षा हो। शुल्क लिएरै वि    श्रामस्थल, भान्छा, शौचालय र शयनकक्षहरू उपलब्ध गराउन सकिन्छ। तीर्थयात्री पनि पर्यटकै हुन्, तिनले पनि नेपालको सकारात्मक प्रचार गर्ने गरेका छन्, र अरू पर्यटक लोभिएका हुन्। 

अहिले ‘पर्यटक आए’ भनेरमात्रै हुँदैन, यसको दिगोपनमा ध्यान दिनुपर्छ। भारतमा प्रवद्र्धनात्मक अभियानलाई निरन्तरता दिनुपर्छ। त्यसका लागि गरिनुपर्ने पहिलो काम तथ्यांक संकलन हो। भारतीय वा अरू जुनसुकै पर्यटकको पनि तथ्य, तथ्यांक राख्ने व्यवस्था हुन सकेको छैन। त्यसका लागि सबै प्रदेशले संघ र स्थानीय तहसँग मिलेर प्रवेश बिन्दुमा संयन्त्र खडा गर्न सक्छन्। यात्रुको परिचय विवरणसहित गन्तव्य, बसाइ अवधिसहितको अभिलेख राख्ने, उनीहरूलाई पर्यटकीय सूचना उपलब्ध गराउने र विश्रासस्थलसहितको केन्द्र बनाउने कुनै ठूलो काम होइन, त्यत्ति पनि नहुनु चाहिँ विडम्बना हो। 

पर्यटकको विवरणात्मक तथ्यांकले राज्यलाई योजना बनाउन, व्यवसायीलाई लगानी विस्तार गर्न र स्वयं पर्यटकलाई सुरक्षित हुन मद्दत पुग्छ। खास धेरै खर्च नलाग्ने यस्तो व्यवस्थाका लागि पनि बेवास्ता हुनु दुर्भाग्य हो। प्रवेश बिन्दुमा सूचना केन्द्र बनाई उनीहरूलाई पर्यटकीय आचारसंहिता पनि उपलब्ध गराउनु आवश्यक देखिएको छ। सामान्य आचारव्यवहारमा देखिएका उनीहरूका कमजोरीकै भरमा गलत प्रचार वा दुव्र्यवहार गरिनु हुँदैन। आखिर हाम्रो देशको सबैभन्दा सम्भावनाको ठूलो क्षेत्रमध्येको एक पर्यटन हो, यसलाई थप व्यवस्थित गरिनुपर्छ। अनि हाम्रो त मूल मन्त्र नै हो, अतिथि देवो भवः।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.