विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्र : केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन्। प्रतिशोध साँध्न खोजेको भन्दै उनले सरकारको दमनकारी कदमको डटेर सामना गर्ने बताए।
'वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो। यो दमनकारी कदम म र हाम्रो पार्टीमाथि लगातार भइरहेका शृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,' उनले भने।
अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यतालिका हुँदाहुँदै विधिको शासन र सामान्य कानुनी प्रक्रियाको धज्जी उडाएर गिरफ्तारी गरिएको उल्लेख गरे। सोधपुछका अन्य विकल्प हुँदाहुँदै सरकारले सस्तो लोकप्रियताका लागि यस्तो हर्कत गरेको उनको भनाइ छ।
'जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ। सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो 'स्टन्ट' र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको भन्दै ओलीले यस्ता हर्कत तत्काल रोक्न चेतावनी दिए। उनले विपक्षी दलमाथिको प्रहार बन्द नभए त्यसको परिणाम राम्रो नहुने चेतावनीसमेत दिए। 'वर्तमान सरकार अलोकतान्त्रिक‚ सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ। हामी सरकारलाई चेतावनी दिन चाहन्छौं, विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्,' विज्ञप्तिमा भनिएको छ।
उपाध्यक्ष पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस !