रवि र फाल्गुनन्द क्षेत्र किराँत आन्दोलनको पावन केन्द्र हो। यहाँका चार महान् व्यक्तित्वलाई बिर्सनै सकिन्न– महागुरु फाल्गुनन्द सत्यहाङ्मा, डा. स्वामी प्रपन्नाचार्य, महागुरु आत्मानन्द लिङ्देन र ज्योतिनन्द गुरु।
नेपालको पूर्वी भेगको मेरो यात्रा धनकुटाको चुलाचुलीबाट अरू पूर्वतिर बढ्ने सपना बोकेको थियो ४८ वर्षअघि नै। जुन बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको राविसेको विद्यार्थी भएर धनकुटाको चुलाचुली पुगेको थिएँ। तर त्यसबेला समयले साथ दिएन। त्यसको निकै वर्षपछि झापासम्म पुगें। इलामको प्राकृतिक सौन्दर्यको बखान बारम्बार सुन्ने गरेको छु, तर जाने अवसर अझै मिलेको छैन। आजकल त समय नआई केही पनि हुँदैन भन्ने लाग्छ मलाई। त्यसैले कुनै हतार नगरी बसेको छु।
झन्डै १० महिना जति अगाडि पाँचथरको रविबाट डा. स्वामी प्रपन्नाचार्य (वि.सं. १९८०–२०७२) का अनुयायीहरूको एक समूह काठमाडौं आएको थियो। उहाँहरूको उद्देश्य थियो— स्वामीजीको कर्मभूमि रविको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ स्थित श्रीकिरातेश्वर वैदिक पाञ्चायन स्वर्गपुरी मन्दिर परिसरमा स्वामीजीको पूर्णकदको मूर्ति स्थापना गरिने तय भएकाले त्यसका लागि आर्थिक सहयोग जुटाउनु। कुराकानीपछि मैले सकेको सहयोग राशि आफूसहित अरू शुभेच्छुजनबाट पनि जुटाएर पठाउने आश्वासन दिँदा उहाँहरू खुसी हुँदै फर्किनु भएको थियो।
वचनबद्धताअनुसार समयमै आर्थिक जोहो गर्न डा. स्वामी प्रपन्नाचार्यका काठमाडौंमा रहेका केही शुभेच्छुसँग दुई–तीन पटक बैठक बसी यस विषयमा छलफल गरेपछि उदारताका साथ रकम संकलन भयो भन्नुपर्छ। पूर्णकदको सालिक राख्ने संकल्प गरेको करिब आठ–नौ महिनामै स्वामीजीको ढलोटको मूर्ति तयार भयो।
यो मूर्तिको निर्माण धरान निवासी मूर्तिकार रोजन राईले गर्नुभएको हो। साधु, सन्त, महात्मा एवं भगवान्को श्रीविग्रहलाई सालिकभन्दा पनि ‘मूर्ति’ नामले पुकारिने चलन छ। कारण, यस्ता मूर्तिको प्राणप्रतिष्ठा हुन्छ, जसको कारण देवीदेवताका मूर्तिलाई जस्तै बिहान–बेलुका नित्यपूजा, आरती गर्नुपर्ने हुन्छ; जबकि सालिकमा त्यसो गरिन्न। केवल त्यसको अनावरणमात्र गरिन्छ। वर्षको एक पटक सालिक स्थापनाको दिवस वा जसको सालिक हो, उसको स्मृतिमा बेलाबखत कार्यक्रम राखिएको हुन्छ।
गएको चैतको पहिलो हप्तादेखि नै ‘श्रीकिरातेश्वर वैदिक पाञ्चायन स्वर्गपुरी मन्दिर’का सचिव गोविन्द राईको ताकेता ‘अब मूर्तिको प्राणप्रतिष्ठा कहिले गर्ने ? तपाईँहरूले समय दिनुपर्यो’ भन्ने आग्रह बारम्बार आउन थाल्यो। अन्ततः गत वैशाख ३० गते बुधबारका दिन स्वर्गपुरी मन्दिरको प्रांगणमा स्वामीजीको पूर्णकदको मूर्तिको प्राणप्रतिष्ठा भयो। प्राणप्रतिष्ठाको प्रमुख आतिथ्यता गर्ने सुयोग मलाई मिल्यो। स्वामीजीका असंख्य शुभेच्छु र अनुयायीहरू हुँदाहुँदै पनि आयोजकहरूले अवसर दिनुभयो।
डा. स्वामी प्रपन्नाचार्यप्रति अत्यन्त प्रभावित र साथै अनुगृहीत पनि छु। ‘राईबाबासँग साक्षात्कार’ नामको स्वामीजी र मबीच भएको संवाद शैलीको पुस्तकलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले प्रशंसासहित पुस्तकमा शुभभाव व्यक्त गर्नुभएको छ। यसको कारण पनि हुनुपर्छ राईबाबा अर्थात् डा. स्वामी प्रपन्नाचार्यलाई जान्न, बुझ्न यो पुस्तकले सहयोग गरेको छ भन्ने लागेर होला, त्यो अवसर मलाई प्रदान गरिएको।
प्राणप्रतिष्ठाको कार्यक्रममा कतिपय स्थानीय निमन्त्रित महानुभाव कोही पैदलै, कोही साइकल र कोही मोटरबाइक चढेर आएका थिए। काठमाडौंबाट जर्मनीका लागि नेपालका पूर्वराजदूत प्रा.डा. नोवलकिशोर राई, पूर्वआईजीपी दुर्जकुमार राई, कर्मयोगी बद्रीविक्रम थापा गुठीका अध्यक्ष किरण थापा तथा उहाँका इष्टमित्र एवं स्वामीजीलाई अन्तिम घडीसम्म साथ दिने उहाँका अनन्य शिष्य सत्य सनातन लगायतको उपस्थिति थियो। वातावरण निकै श्रद्धामिश्रित र गहिरो सन्देशपूर्ण थियो।
धनकुटाको भेडेटारबाट फोरह्विल बोलेरोमा झन्डै पौने पाँच घण्टा लाग्ने ८२ किमिको त्यो बाटो ३४ वर्षदेखि निर्माणाधीन र जोखिमपूर्ण छ। अधिकांश कच्ची, केही ठाउँमा मात्र पक्की। धेरै ठाउँमा ज्यान हत्केलामा राखेर गुड्नुपर्ने। अझ कहिले त घना कुहिरोले दायाँ–बायाँको डरलाग्दो खोंच पूरै ढाकिदिन्थ्यो। सडकको दायाँ–बायाँ दुवैतिर झन्डै १०–१२०० फिट गहिरो जंघार भएको महाभारतको डाँडोमा कुहिरोभित्र हराएर हिँड्दा जीवनको अन्तिम यात्रा यही नै पो हुने हो कि जस्तो लाग्थ्यो। साढे दुई घण्टासम्म कुहिरोले ढाकेको बाटो पार गरेपछि अरू दुई घण्टाको यात्रापछि बल्लबल्ल भेंडेटार पुग्यौं।
ओहो! अहिले सम्झिँदा पनि डर लाग्छ। धन्य बचियो! हाम्रो लागि त यो एक दिनको यात्रा थियो, यहाँका स्थानीयहरू कुन आँटले, कुन कहरले ओहोरदोहोर गर्छन् होला! बिरामी मानिस एवं सुत्केरी, गर्भिणी महिलाहरू कसरी त्यहाँको उबडखाबड जोल्टिङमा यात्रा गरिरहेका होलान्! यस्तो नाजुक परिस्थिति हुँदा पनि बोलिदिने कोही नभए जस्तो छ। तीन दशकभन्दा अघिदेखि यही विकराल अवस्था छ।
कार्यक्रम सकेर भेडेटार फर्किने क्रममा बोलेरोको ड्राइभरसँग सल्लाह गर्यौं– ‘अपराह्नको साढे तीन बजिसकेको छ, आज नजाऔं, भोलि बिहान जाऔं।’ तर २६–२७ वर्षीय ती युवा ड्राइभरले भोलि बिहान काठमाडौं जाने साहेबहरूलाई पुर्याउनु छ भन्दै भने, ‘नडराउनुहोस्, मेरो अनुभवले भ्याएसम्म सुरक्षित रूपमा पुर्याउँछु।’ दिनको करिब साढे तीन बजेबाट यात्रा सुरु गरेका थियौं, राति झन्डै पौने आठ बजे उसले सहीसलामत भेडेटार पुर्याएपछि बल्ल लामो सास फेर्न सकियो भने हुन्छ।
उबडखाबड सडकमा पाएको तकलीफको के कुरा गर्नु! जे होस्, उसले कुनै तलमाथि नपारी अनुभवको आधारमा भेडेटार पुर्याएपछि ऊसँग बसेर चिया–नास्ता खाई–खुवाई हातमा केही पुरस्कार दिएर बिदाइ गरेका थियौं। भोलिपल्ट काठमाडौं समयमै पुग्न सजिलो होस् भनी त्यस दिन इटहरीको होटलमा बास बस्न पुग्यौं। भेडेटार एवं रविको चिसो मौसमबाट इटहरी पुग्दा केही गर्मीको अनुभव भयो। इटहरीबाट पथलैयासम्म पनि उस्तै प्रकारको तिख्खर राप र गर्मीको महसुस भयो। भेडेटारदेखि रविसम्मको यात्राको क्रममा मनमा बारम्बार प्रश्न उठिरह्यो— जहाँ मानिसहरू गुरुको स्मरणमा ज्यान जोखिममा राखेर आउँछन्, त्यहाँ राज्यको उपस्थिति किन यति निरीह र कमजोर छ ? यो लेख त्यही प्रश्न, त्यही पीडा र त्यही सम्भावनाको वरिपरि घुमेको छ।
गुरुहरूको कर्मभूमि रवि : रवि र फाल्गुनन्द क्षेत्र किराँत आन्दोलनको पावन केन्द्र हो। यहाँका चार महान् व्यक्तित्वलाई बिर्सनै सकिन्न– महागुरु फाल्गुनन्द सत्यहाङ्मा, डा. स्वामी प्रपन्नाचार्य, महागुरु आत्मानन्द लिङ्देन र ज्योतिनन्द गुरु। महागुरु फाल्गुनन्द (वि.सं. १९४२–२००५) ले बीसौं शताब्दीको सुरुतिर मदिरा, पशुबलि र सामाजिक कुरीतिविरुद्ध आन्दोलन चलाएर किरात समाजलाई नैतिकताको बाटो देखाउनुभयो। सिरिजंगा लिपिको पुनर्जागरण गर्दै ‘भाषा र लिपि बाँचे, जात बाँच्छ’ भन्ने अमर सन्देश दिनुभयो। त्यो अन्धकारको युगमा यस्तो सन्देश प्रवाह गर्नु सानो उपलब्धि थिएन। महागुरु फाल्गुनन्द नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ।
गाउँघरमा काले राई र सीताराम दिलदासले पुकारिने व्यक्ति नै पछि डा. स्वामी प्रपन्नाचार्य बन्नुभयो। उहाँ महागुरु फाल्गुनन्द सत्यहाङ्माका प्रिय शिष्य हुनुहुन्थ्यो। वि.सं. १९९४ देखि २००५ सम्म उहाँको सेवामा समर्पित रहँदा महागुरु फाल्गुनन्दले नै काले राईलाई ‘सीताराम दिलदास’ नामकरण गरिदिनुभएको थियो। महागुरुको अवसानपछि उहाँ निकै विचलित हुनुभयो। कहिले फेदाङ्मा बन्नुहुन्थ्यो, कहिले बिजुवातिर आकर्षित हुनुभयो, कहिले गाईगोठालो, कहिले चिया कमानको ज्यामी, कहिले नानीगोठालो ! जीवनमा उहाँले असंख्य कष्ट र हन्डर बेहोर्नुभयो। पाँचथरको लालीखर्क बरडाँडामा काले राईको रूपमा जन्मिएका उहाँले ३० वर्षको उमेरमा मात्र विद्यालयको कक्षा देख्न पाउनु भएको हो।
अझ यसो भनौं, सावाँ अक्षरको चिनारी ३० वर्षको उमेरमा गरे पनि अध्ययन–अध्यापनका लागि चाहना भए ढिलो हुने रहेनछ भन्ने ज्वलन्त उदाहरण पनि बन्नुभयो। वनारसबाट वेदान्तमा विद्यावारिधि गर्नुभयो। संस्कृतका निष्णात विद्वान् बन्नुभयो। ‘वेदमा के छ ?’, ‘प्राचीन हिन्दु विज्ञान’, ‘प्राचीन किरात इतिहास’, ‘किरातहरू मंगोलियाबाट आएका शरणार्थी होइनन्’, ‘मिल्केका झिल्का’जस्ता अमर ग्रन्थहरू मार्फत किरात दर्शनलाई वैदिक परम्परासँग संवाद गराउनु भयो। उहाँको दृढ विश्वास थियो— नेपाल नै आर्य सभ्यता र वैदिक ज्ञानको उद्गम थलो हो।
स्वामीजीको सपना थियो— रविलाई ‘स्वर्गपुरी’ बनाउने। त्यसैले उहाँले स्थापना गरेको पाञ्चायन मन्दिरलाई स्वर्गपुरी नामकरण गर्नुभयो। प्युठानको रुन्टी गाउँबाट आएका बालतपस्वी स्वर्गद्वारी महाप्रभुबाट प्रेरित भएर यो कल्पना भएको थियो। महागुरु आत्मानन्द लिङ्देन (जन्म वि.सं. २०११ मंसिर १८) फाल्गुनन्दका पनाति पुस्ताका हुनुहुन्छ।
विधिवत् कुनै विद्यालयीय शिक्षा नपाए पनि वन–जंगल, गुफा र कन्दरामा पाएको ज्ञानको प्रकाशले मुन्धुम संकलन, प्रकाशन र सिरिजंगा लिपिको संरक्षणमा उहाँले जीवन समर्पित गर्नुभएको छ। किरात धर्म र साहित्यलाई राष्ट्रिय स्तरमा पुर्याउन उहाँको योगदान अमूल्य छ। अहिले पनि उहाँ यस दिशामा समर्पित भई लाग्नुभएको छ।
इलाम जिल्लाको मझुवास्थित जल्केनी गाउँमा दिलबहादुर माङपाहाङ राई र दिलमायाबाट वि.सं. २०१४ मा जन्मेका नन्दबहादुर राई नै धर्म–अध्यात्मको एकान्त साधनाबाट अनन्ततः वि.सं. २०३७ मा आत्मज्ञान प्राप्त गरेर महाप्रभु ज्योतिनन्द (वि.सं. २०१४–२०४१) को भेषमा आर्जित ज्ञानलाई बाँड्दै हिँड्नुभयो। यी चारै गुरुको साझा सन्देश हो— पहिचान जोगाऊ, नैतिकता अपनाऊ, राष्ट्रलाई एकताको सूत्रमा बाँध। रवि त्यही अमर सन्देश जन्मिएको पवित्र भूमि हो। जसको विशेष महत्व छ ।
सडक नहुँदा रोकिएको सम्भावना : रवि पुग्दा दुई कुरा स्पष्ट हुन्छन्— मानिसको श्रद्धा अझै जीवित छ, तर भौतिक पूर्वाधारको अभावले त्यो श्रद्धालाई आर्थिक र सामाजिक समृद्धिमा बदल्न सकेको छैन।
कृषि र जडीबुटीको हब : अलैंची, अदुवा, कागती र जडिबुटीका लागि रविको भूगोल उत्कृष्ट छ। बाटो नहुँदा लागत दोब्बर र नाफा न्यून हुन्छ। पक्की सडक पुग्यो भने इलामको फिक्कल र पाँचथरको फिदिमसँग जोडिएर यो क्षेत्र ‘अलैंची हब’ बन्न सक्छ।
चियाको सम्भावना : इलामको चिया विश्वप्रसिद्ध छ। रविको उचाइ, माटो र हावापानी इलामसँग मिल्दोजुल्दो छ। सडक र प्रविधि पुगे ‘रवि टी’ ब्रान्डले युवालाई गाउँमै रोजगारी दिन सक्छ।
धार्मिक–पर्यटकीय हिल स्टेसन : फाल्गुनन्द, प्रपन्नाचार्य, आत्मानन्द र ज्योतिनन्दको जन्मभूमि जोड्ने यो क्षेत्र धार्मिक पर्यटनको सर्किट बन्न सक्छ। चिसो हावापानी र रमणीय दृश्यले होमस्टे, गुरुकुल र ध्यान केन्द्रहरूलाई प्रोत्साहन दिन्छ। नेपालले ‘अन्तर्राष्ट्रिय दीर्घायु दिवस’को प्रतिबद्धता गरेको सन्दर्भमा पनि यो क्षेत्र महत्वपूर्ण बन्न सक्छ।
किन पक्की सडक पहिलो प्राथमिकता ? : सडक पुगेपछि कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य सबै आफैं फस्टाउँछन्। गर्भवती, बिरामी र बालवृद्ध वनितालाई समयमा अस्पताल पुर्याउन सकिन्छ। शिक्षक र स्वास्थ्यकर्मी गाउँमा टिक्छन्। राज्यको उपस्थिति बलियो हुन्छ। रवि–भेडेटार मार्ग इलाम–पाँचथर–ताप्लेजुङ जोड्ने र फाल्गुनन्द सर्किट निर्माण गर्ने राष्ट्रिय महत्वको मार्ग हो। यसको मुख्य जिम्मेवारी संघीय सरकारको हो। यसलाई केन्द्रको संघीय सरकारले प्राथमिकतामा राखेर जतिसक्दो चाँडो गुणस्तरीय सडक निर्माण गर्नतिर लागिहाल्नु जरुरी छ।
संघीय सरकारले भेंडेटार–रवि सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखोस् र बहुवर्षीय ठेक्का लगाएर गुणस्तरीय पक्की सडक बनाओस्। प्रदेश सरकारले अनुगमन, समन्वय र गुरुयोजना (अलैंची, चिया, पर्यटन) बनाओस्। स्थानीय सरकारले मर्मत, सरसफाइ र धार्मिक–पर्यटकीय ब्रान्डिङको दायित्व लेओस्। नागरिक समाजले यो मुद्दालाई निरन्तर उठाइरहोस्, जबसम्म लक्षित उद्देश्य प्राप्त हुँदैन।
निष्कर्ष : गुरुहरूको सच्चा सम्मान उहाँहरूले देखाएको बाटोमा हिँडेर, उहाँहरूको स्मरण गर्दै कर्म गर्दा मात्र हुन्छ। मूर्तिको प्राणप्रतिष्ठा, माल्यार्पण र सत्संगले पनि सम्मान व्यक्त हुन सक्छ। तर यो सम्मानलाई दिगो बनाउन उहाँहरूको जन्मभूमिसम्म अनुयायी, शिष्य–प्रशिष्यहरू सजिलै पुग्न सक्ने बाटो चाहिन्छ। महागुरु फाल्गुनन्दको सन्देश थियो, ‘सत्यमार्गमा हिँड।’ स्वामी प्रपन्नाचार्य भन्नुहुन्थ्यो, ‘नेपाल धर्म–अध्यात्मको पुण्यभूमि हो, यसको महत्वलाई जहाँ छौं, त्यहीबाट उजागर गर।’
आत्मानन्द गुरु आज पनि भन्नुहुन्छ, ‘मुन्धुम बचाऊ, पहिचान बचाऊ।’ यी सत्यमार्गमा हिँड्न भौतिक पक्की बाटो पनि चाहिन्छ। स्मरण र कर्म सँगसँगै नगए स्मरण मात्र अनौपचारिकता बन्छ। त्यसले कुनै गतिलो नतिजा दिन सक्दैन। म रवि पुगेर फर्किएँ। उबडखाबड बाटोको सम्झनाले मन थकित छ, तर मनमा एउटा जिद्दी बाँकी छ— यो सडक जति सक्दो चाँडो बन्नैपर्छ। रविका मानिसहरूले अब अर्को ३४ वर्ष कुर्नु नपरोस्। देशभरिका कच्ची सडकलाई चाँडो पक्की बनाउने अभियानमा सबै नेपाली लागौं। किनभने एउटै सडकले हजारौं किसान, विद्यार्थी, बिरामी र पर्यटकको जीवन फेर्न सक्छ।
प्रतिक्रिया दिनुहोस !