किन लगातार घट्दैछ भारतको विदेशी मुद्रा सञ्चिति, झण्डै १० अर्ब डलरले फेरि कमी
भारत : भारतको विदेशी मुद्रा सञ्चिति १२ जुनमा समाप्त भएको सातामा ९.९८५ अर्ब अमेरिकी डलरले घटेर ६७१.६२५ अर्ब डलरमा पुगेको छ । यसको मुख्य कारण सुनको सञ्चितिमा आएको ठूलो गिरावट रहेको बताइएको छ ।
यो जानकारी भारतीय रिजर्भ बैंकले शुक्रबार सार्वजनिक गरेको हो । यसअघि पनि अघिल्लो सातामा कुल विदेशी मुद्रा सञ्चिति ७११ मिलियन डलरले घटेर ६८१.६१० अर्ब डलरमा झरेको थियो । १२ जुनमा समाप्त भएको सातामा कुल सञ्चितिको सबैभन्दा ठूलो हिस्सा रहेको विदेशी मुद्रा सम्पत्ति भने ८४६ मिलियन डलरले बढेर ५४४.२९० अर्ब डलर पुगेको छ ।
तर सुनको सञ्चिति १०.७५४ अर्ब डलरले घटेर १०३.८२१ अर्ब डलरमा सीमित भएको छ । आरबीआईका अनुसार, विशेष आहरण अधिकार पनि ६६ मिलियन डलरले घटेर १८.६९९ अर्ब डलरमा झरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भारतको रिजर्भ पोजिसन पनि ११ मिलियन डलरले घटेर ४.८१५ अर्ब डलरमा पुगेको छ ।
के हो कारण ?
विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न गत महिना नरेन्द्र मोदी सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क उल्लेखनीय रूपमा बढाएको थियो । प्रधानमन्त्री मोदीले मध्यपूर्व संकटका कारण भारतको विदेशी मुद्रा सञ्चितिमाथि थप दबाब परेको चेतावनी दिएका थिए ।
भारतले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ । त्यस्तै प्लाटिनममा लाग्ने शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ ।
सरकारको यो कदम विदेशी मुद्रा जोगाउने तथा कच्चा तेल, मलखाद र महत्वपूर्ण प्रविधिजस्ता अत्यावश्यक आयातलाई प्राथमिकता दिनका लागि चालिएको बताइएको छ । विशेष गरी विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय ढुवानी मार्गहरूमा अस्थिरता बढिरहेका बेला यस्तो निर्णय गरिएको हो । कच्चा तेलको ठूलो आयातकर्ता भएकाले भारत उच्च तेल तथा ग्यास मूल्यको प्रत्यक्ष असरमा पर्ने देश हो ।
भारतलाई कति ठूलो विदेशी मुद्रा सञ्चिति चाहिन्छ ?
भारतीय रिजर्भ बैंकका पूर्व डेपुटी गभर्नर माइकल देबब्रत पात्राका अनुसार भारत आर्थिक रूपमा अझ सुरक्षित हुन कम्तीमा १ ट्रिलियन अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति आवश्यक छ । हाल भारतसँग करिब ६९० अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ, जुन १ ट्रिलियन डलरको लक्ष्यभन्दा करिब ३१० अर्ब डलर कम हो । यस वर्ष मार्च १६ मा प्रकाशित एक लेखमा पात्राले विदेशी मुद्रा सञ्चितिको स्तर बजारको विश्वास र स्थिरताका लागि अत्यन्त महत्वपूर्ण हुने बताएका थिए ।
उनका अनुसार १ ट्रिलियन डलर सञ्चितिको लक्ष्य दुई प्रमुख सुरक्षा कवचमा आधारित छ । करिब ३५० अर्ब डलर एक वर्षभित्र तिर्नुपर्ने सम्पूर्ण वैदेशिक ऋणको सुरक्षा गर्न । बाँकी ६५० अर्ब डलर विदेशी पोर्टफोलियो लगानीकर्ताहरूले ठूलो मात्रामा पूँजी फिर्ता लैजाने सम्भावित जोखिमबाट जोगिन ।
पात्राले भारतले सन् २०२२–२३ पछि यस्तै चुनौतीहरूको सामना गरिसकेको उल्लेख गर्दै दीर्घकालीन आर्थिक स्थिरताका लागि कम्तीमा ६०० देखि ६५० अर्ब डलर बराबरको अतिरिक्त सुरक्षा कोष आवश्यक पर्ने बताएका छन् । उनका अनुसार यही आधारमा भारतको विदेशी मुद्रा सञ्चिति कम्तीमा १ ट्रिलियन डलर हुनुपर्छ, किनभने सञ्चितिको एक हिस्सा बजारमा हस्तक्षेप गर्न तरल स्वरूपमा उपलब्ध हुनुपर्ने आवश्यकता पनि रहन्छ ।
प्रतिक्रिया दिनुहोस !