प्रधानमन्त्री बालेन्द्र शाह रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सहभागी (फोटोफिचर)
काठमाडौं : वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी भएका छन्।
शनिबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्र नाथको रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ।
भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेका थिए। सोही अवसरमा राष्ट्रपति पौडेलले मच्छिन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरेका थिए। समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री शाह लगायतको पनि उपस्थिति थियो।
मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याएको ४ दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो। मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तु जडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ।
भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहाल पुर्याइन्छ। मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहि आएको छ।









प्रतिक्रिया दिनुहोस !