नेपाल पौडी संघविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं : एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च अदालत पुगेका छन् । पौडी खेलाडी इर्भिन श्रेष्ठ, मेधावी केसी र निर्णय थापाले आफूहरूलाई मौका समेत नदिई नेपाल पौडी संघले आफूखुशी खेलाडी छनौट गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएका हुन् ।
नेपाल पौडी संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुदलाई विपक्षी बनाएर रिट दायर गरिएको रिटमा अदालतले असार ३ गतेका लागि छलफलमा समेत बोलाएको पौडी खेलाडी मेधावी केसीले जानकारी दिए । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौडी खेलाडीहरुले संघद्वारा सञ्चालन गरिएको आयची नागोया एसियाली खेलकुद २०२६ को प्रारम्भिक छनोट प्रक्रिया सम्बन्धमा गम्भीर असन्तुष्टि रहेकाले अदालत जानुपरेको जनाएका छन् ।
हाल सम्पन्न प्रारम्भिक छनोट प्रक्रियामा अपनाइएका केही निर्णयहरू, मूल्याङ्कनका आधारहरू तथा छनोटको समग्र प्रक्रियाले धेरै खेलाडीहरुमा प्रश्न उठाएको अवस्था रहेको खेलाडी मेधावी केसीले बताए । नेपालको पौडी खेलको विकास, खेलाडीहरूको हकहितको संरक्षण तथा भविष्यमा अझ निष्पक्ष र विश्वसनीय छनोट प्रणाली सुनिश्चित गर्नुपर्ने आफूहरुको माग रहेको उनको भनाइ छ । त्यस्तै पौडी खेलाडी इर्भिन श्रेष्ठले एशियाली खेलकुदको पौडी खेलाडी छनौट व्यहारिक नभएको गुनासो गरे । एशियाली खेलकुदको पौडी खेलाडी छनौट जारी रहँदा प्रतिस्पर्धाको बीचमा छनोटको मापदण्ड र नियम परिवर्तनप्रति उनीहरुले असहमति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !