ओलीको स्वीकारोक्ति, अरूको असन्तुष्टि

ओलीको स्वीकारोक्ति, अरूको असन्तुष्टि
सुन्नुहोस्

विराटनगर : नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा प्राप्त गरेपछि सुरु गरेको देशव्यापी निर्वाचन समीक्षा अभियान कोशी प्रदेशमा प्रवेश गरेको छ। 

प्रदेश राजधानी विराटनगरमा मंगलबारबाट सुरु भएको भेलामा पार्टीभित्रको असन्तुष्टि, संगठनात्मक कमजोरी, नेतृत्वको कार्यशैली र डिजिटल क्षेत्रमा देखिएको कमजोरीका बारेमा गम्भीर बहस भएको छ। प्रदेशस्तरीय समीक्षा तथा सुझाव संकलन कार्यक्रममा एकातिर अध्यक्ष केपी शर्मा ओलीले पार्टीको डिजिटल कमजोरीलाई चुनावी धक्काको प्रमुख कारणका रूपमा चित्रित गरे भने अर्कोतर्फ जिल्ला नेतृत्व र प्रदेशका नेताहरूले केन्द्रदेखि वडा तहसम्म संगठन पुनर्गठन गर्नुपर्ने आवाज उठाएका छन्। 

एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरेको कार्यदलमार्फत देशभर सञ्चालन गरिरहेको समीक्षा अभियान अन्तर्गत कोशी प्रदेशमा भएको छलफलले पार्टीभित्रको वास्तविक मनोविज्ञान बाहिर ल्याएको छ। निर्वाचन परिणामको समीक्षा गर्ने औपचारिक उद्देश्यसहित आयोजित कार्यक्रममा अधिकांश नेताहरूले संगठनको वर्तमान संरचना, नेतृत्व चयन प्रक्रिया, कार्यशैली र निर्णय प्रणालीमाथि प्रश्न उठाएका छन्। 

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टीले गरेको कामको प्रचारप्रसार प्रभावकारी रूपमा गर्न नसक्दा राजनीतिक क्षति बेहोर्नुपरेको बताएका छन्। एमालेसँग जनशक्ति र संगठनात्मक संरचना भए पनि त्यसलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न नसक्दा पार्टी विरोधी शक्तिहरूले जनमत निर्माणमा अग्रता हासिल गरेको उनको भनाइ छ। 

ओलीले आफ्नो नेतृत्वको सरकारले विकास, सुशासन, पूर्वाधार निर्माण, राष्ट्रिय हितको रक्षा र कूटनीतिक सम्बन्ध सुदृढीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे। तर, उपलब्धिहरू जनतामाझ प्रभावकारी ढंगले पुर्‍याउन नसकिएको उनको स्वीकारोक्ति थियो। ‘हाम्रा विरुद्ध भएका गलत प्रचारको प्रतिवाद गर्न सकेनौं। सत्यलाई जनतासम्म पुर्‍याउन सकेनौं। असत्यको खण्डन गर्न पनि प्रभावकारी ढंगले प्रस्तुत हुन सकेनौं,’ ओलीले भने। 

उनले संविधान निर्माणदेखि राष्ट्रिय स्वाधीनताको सवालसम्म एमालेले खेलेको भूमिकाको चर्चा गर्दै पार्टीविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाइएको आरोप लगाए। सामाजिक सञ्जाल र सूचना प्रवाहको क्षेत्रमा पार्टी कमजोर हुँदा त्यसको प्रत्यक्ष असर निर्वाचन परिणाममा परेको उनको निष्कर्ष थियो। ओलीको भाषणको मूल सन्देश डिजिटल युगको राजनीतिमा सूचना व्यवस्थापन र जनमत निर्माणको लडाइँमा एमाले पछि परेको स्वीकारोक्ति थियो। 

विगतमा संगठनात्मक संरचना र कार्यकर्ता परिचालनलाई प्रमुख शक्ति मान्ने एमाले अहिले सामाजिक सञ्जाल, डिजिटल प्रचार र वैकल्पिक सूचना प्रवाहको क्षेत्रमा आफू कमजोर रहेको निष्कर्षमा पुगेको देखिन्छ। तर, विराटनगरमा भइरहेको छलफलको स्वर भने ओलीको विश्लेषणभन्दा अझ फराकिलो देखिएको छ। बैठकमा सहभागी अधिकांश जिल्ला अध्यक्ष, प्रदेशका नेता र सांसदहरूले पार्टीको समस्या डिजिटल कमजोरीमा सीमित नरहेको बताएका छन्। उनीहरूले संगठनभित्र मौलाएको चाकडी संस्कार, सीमित व्यक्तिको वरिपरि केन्द्रित निर्णय प्रक्रिया, कार्यकर्ताको मनोबल कमजोर बनाउने प्रवृत्ति तथा नेतृत्वमा देखिएको आत्मसन्तुष्टिलाई चुनावी पराजयको मूल कारणका रूपमा औंल्याए। 

छलफलमा सहभागी नेताहरूका अनुसार १४ जिल्लामध्ये पाँचथरबाहेक अधिकांश जिल्लाका अध्यक्षहरूले आफ्नो धारणा राख्दै पार्टीलाई जोगाउन केन्द्रदेखि वडा तहसम्म पुनर्गठन आवश्यक रहेको बताएका थिए। केही जिल्ला अध्यक्षले भने तत्काल पुनर्गठन आवश्यक नरहेको बताएका छन्। विशेषगरी मोरङ, सुनसरी लगायतका जिल्लाका नेताहरूले वर्तमान संरचनाबाट पार्टीलाई पुनर्जीवित गर्न कठिन हुने निष्कर्ष प्रस्तुत गरेका छन्। उनीहरूको धारणा अनुसार निर्वाचनको परिणाम गठबन्धन, प्रचार वा डिजिटल कमजोरीको परिणाम मात्रै नभएर लामो समयदेखि थुप्रिँदै आएको संगठनात्मक समस्याको अभिव्यक्ति हो। 

बैठकमा उठेको अर्को महत्वपूर्ण विषय ‘गणेश प्रवृत्ति’ थियो। सहभागी नेताहरूले पार्टीभित्र योग्यता, क्षमता र जनाधारभन्दा नेतृत्वको चाकडी गर्ने प्रवृत्ति हावी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइमा वास्तविक कार्यकर्ताभन्दा नेतृत्वको वरिपरि घुम्ने व्यक्तिहरू अवसर र जिम्मेवारी प्राप्त गर्ने अवस्थाले संगठन कमजोर बनेको छ। केही नेताहरूले अध्यक्ष ओलीको नेतृत्वको प्रत्यक्ष आलोचना गरे पनि धेरैले समस्या एक व्यक्तिमा सीमित नरहेको बताएका थिए। ‘दोष केपी ओलीलाई मात्र दिएर उम्किन मिल्दैन। शीर्ष तहदेखि तलसम्म सबैले जिम्मेवारी लिनुपर्छ’ भन्ने धारणा भेलामा बलियो रूपमा उठेको एक नेताले बताए। 

बैठकमा नेता विनोद ढकालले महाभारतको प्रसंग उल्लेख गर्दै वर्तमान कमिटीको औचित्यमाथि प्रश्न उठाएका थिए। उनले युद्ध समाप्त भएपछि अर्जुनको गाण्डीव धनुषले आफ्नो भूमिका पूरा गरेजस्तै वर्तमान संरचनाले पनि आफ्नो उपयोगिता गुमाइसकेको तर्क गरेका थिए। उनको संकेत वर्तमान संगठनात्मक संरचना परिवर्तन नगरी पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन नसकिनेतर्फ थियो। 

राजनीतिक विश्लेषणका दृष्टिले हेर्दा विराटनगरको समीक्षा बैठक एमालेभित्र देखिएको दुईवटा फरक धाराको संकेत मान्न सकिने नेताहरु बताउँछन्। पहिलो धाराले चुनावी असफलताको प्रमुख कारण सूचना, प्रचार र डिजिटल क्षेत्रको कमजोरीलाई मानिरहेको छ। दोस्रो धाराले भने पार्टीभित्रको संरचनागत समस्या, नेतृत्व शैली, आन्तरिक लोकतन्त्रको अभाव र कार्यकर्ता व्यवस्थापनलाई मूल कारणका रूपमा हेरेको छ। 

ओलीले डिजिटल कमजोरीलाई प्रमुख समस्या भने पनि जिल्लाबाट उठेका सुझावहरूले एमालेभित्र अझ गहिरो संगठनात्मक पुनर्संरचनाको माग बढिरहेको देखाउँछन्। यही कारण समीक्षा अभियान चुनावी परिणामको मूल्यांकनमा सीमित नरहेर नेतृत्व, संगठन र कार्यशैलीको बहसमा रूपान्तरण भएको भेलामा सहभागी एक नेताले बताए।

विराटनगर भेलामा पार्टी उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मतकुमार कार्कीलगायत सहभागी छन्। कोशी प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ वटै जिल्लाका पदाधिकारी, प्रदेशका निर्वाचन क्षेत्रमा गत निर्वाचनमा उम्मेदवार बनेकाहरु तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूले लिखित तथा मौखिक सुझाव प्रस्तुत गरिरहेका छन्। 

मंगलबार जिल्ला अध्यक्षहरूले लिखित सुझाव पेस गरेका छन्। बुधबार अझ विस्तृत र खुला छलफल हुने कार्यक्रम छ। एमालेले असार १९ गतेसम्म देशव्यापी समीक्षा अभियान सम्पन्न गर्ने निर्णय लिएको छ। यसअघि बागमती प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न भइसकेको छ। 

समीक्षा अभियानपछि एमालेले प्रदेश तथा स्थानीय तहसम्म ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ। संगठन पुनर्गठन, सदस्यता नवीकरण, कार्यकर्ता परिचालन र जनसम्पर्क विस्तारलाई अभियानको मुख्य लक्ष्य बनाइएको छ। कोशी प्रदेशको छलफलबाट उठेका आवाजहरूले एमालेभित्र चुनावी हारको समीक्षा मात्र नभई पार्टीको भावी दिशा, नेतृत्वको भूमिका, संगठनात्मक संरचना र राजनीतिक कार्यशैलीबारे व्यापक पुनर्विचार सुरु भएको संकेत दिएका छन्। आगामी दिनमा नेतृत्वले सुझावलाई कति गम्भीरतापूर्वक ग्रहण गर्छ भन्ने विषयले एमालेको आगामी राजनीतिक यात्राको दिशा निर्धारण गर्ने नेताहरु बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.