खेलाडी छनोटमा धाँधलीको आरोप
काठमाडौं : जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुद प्रतियोगिताका लागि गरिएको पौडी खेलाडीको छनोटमा धाँधली भएको राष्ट्रिय खेलाडीहरूले जनाएका छन् ।
इर्भिन श्रेष्ठ, मेधावी केसी, निर्णय थापालगायतका खेलाडीले नेपाल पौडी संघले पूर्वसूचना र स्थापित नियमविपरीत रातारात छनोटको मापदण्ड बदलेर खेलाडीहरूको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलाडी, प्रशिक्षक तथा अभिभावकले छनोट प्रतियोगिताको विश्वसनियतामाथि प्रश्न उठाउँदै न्यायका लागि सर्वोच्च अदालत पुगेको जनाएका छन् ।
नेपाल पौडी संघले गत वैशाख १० गते सूचना जारी गर्दै २०८३ जेठ २३ र २४ गते आयोजना हुने ‘तेस्रो नेपाल एक्वाटिक च्याम्पियनसिप’लाई एसियाली खेलकुदको प्रारम्भिक छनोटको घोषणा गरेको थियो । उक्त प्रतियोगिताबाट महिला र पुरुषमा आठ÷आठ जना खेलाडी छनोट गरी असार तेस्रो साता अन्तिम छनोट गर्ने जनाएको थियो । तर, जेठ २३ गते पहिलो दिनको खेल सकिएपछि सोही च्याम्पियनसिपलाई नै अन्तिम छनोट गर्ने घोषणा गरेको थियो । जसमा दुई महिला र दुई पुरुष खेलाडी मात्र छनोट हुने जनाइएको थियो ।
पहिले घोषणा गरेको र आधाभन्दा बढी खेल सकिएपछि खेलको मापदण्ड नै बदलेर छनोट गर्नुमा ठूलै षड्यन्त्र र चलखेल रहेको आरोप इर्भिन श्रेष्ठले लगाए । ‘आधा खेल भइसकेपछि विना छाप र हस्ताक्षरको सूचना जारी गरेर प्रारम्भिक छनोटलाई अन्तिम छनोटमा बदल्नु नियम विपरीत छ’, उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्ले जेठ २२ गते ५ दिनभित्र नाम पठाउन पत्र काटेको बहाना बनाइएको छ । जबकि आयोजक जापानले असार १७ गतेसम्मको समय दिएको छ । कसको स्वार्थका लागि रातारात नियम मिचिएको हो त्यो स्पष्ट पार्नुपर्छ ।’
यस्तै मेधावी केसीले खेलकुद क्षेत्रको यस्तै बेथिति र विसंगतिका कारण देशका प्रतिभावान खेलाडीहरू विदेश पलायन भइरहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस !