के फेरि पेट्रोल–डिजेल महँगो हुँदैछ ? भारतदेखि नेपालसम्म चिन्ता
भारत : भारतमा पेट्रोल र डिजेलको मूल्यलाई लिएर फेरि बहस तीव्र बनेको छ । हालै केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री सुरेश गोपीले दिएको अभिव्यक्तिपछि उपभोक्ता माझ यो प्रश्न उठेको छ-के अब फेरि इन्धनको मूल्य बढ्ने हो ?
तर सरकारले हालसम्म यसबारे कुनै औपचारिक घोषणा गरेको छैन ।
मन्त्रीको भनाइले भने भविष्यमा पेट्रोल–डिजेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको अवस्थामाथि निर्भर रहने संकेत गरेको छ । केरलाको त्रिशूर जिल्लामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गोपीले सरकार विश्वव्यापी ऊर्जा बजारमा नजिकबाट निगरानी गरिरहेको बताए । उनका अनुसार पेट्रोल, डिजेल र एलपीजीको मूल्य परिवर्तन कच्चा तेलको आपूर्ति र स्थिरतामा आधारित हुनेछ । उनले स्पष्ट पारे कि मूल्यसम्बन्धी अन्तिम निर्णय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी तथा सम्बन्धित मन्त्रालयले गर्नेछ ।
मध्यपूर्वको तनावले असर
पछिल्लो समय पश्चिम एसिया (मिडल इस्ट) मा बढ्दो तनावले विश्व ऊर्जा बजार प्रभावित भएको छ । यही क्षेत्रबाट ठूलो मात्रामा कच्चा तेल र ग्यास आपूर्ति हुन्छ । कुनै पनि भू–राजनीतिक अस्थिरताले तेलको मूल्य बढाउन सक्छ, जसको असर भारत जस्ता आयात–निर्भर देशमा प्रत्यक्ष पर्छ ।
भारतले आफ्नो करिब ८५ प्रतिशत कच्चा तेल विदेशबाट आयात गर्छ, त्यसैले अन्तर्राष्ट्रिय मूल्य बढ्दा घरेलु इन्धन पनि महँगो हुने सम्भावना रहन्छ ।
एलपीजी र इन्धन मूल्यमा पहिले नै वृद्धि
पछिल्ला हप्ताहरूमा एलपीजी सिलिन्डर, पेट्रोल र डिजेलको मूल्यमा केही वृद्धि देखिएको छ । विशेषज्ञका अनुसार यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रह्यो भने तेल कम्पनीहरू र सरकार दुवै मूल्य समायोजन गर्न बाध्य हुन सक्छन् । तर अहिलेको अवस्थामा सरकार तत्काल ठूलो निर्णय लिन चाहँदैन । मन्त्रालयले लगातार अन्तर्राष्ट्रिय बजार, आपूर्ति स्थिति र देशको ऊर्जा आवश्यकताको मूल्यांकन गरिरहेको छ ।
नेपालमा पनि चिन्ता
भारतमा इन्धनको मूल्य बढ्न सक्ने बहसले नेपाललाई समेत प्रभावित बनाउने गरेको छ । नेपालमा भारतबाटै डिजेल–पेट्रोल आपूर्ति हुने गरेको छ । भारतमै इन्धनको मूलय बढ्दा नेपाली उपभोक्ताले समेत बढी मूल्य तिर्नुपर्ने हुनाले चिन्ता बढ्नु स्वभाविक हो ।
प्रतिक्रिया दिनुहोस !