शान्तिवार्ताको तयारी भइरहँदा लेबनानमा हवाई आक्रमण
बेरुत (रोयटर्स) : इजरायलले करिब २० वटा ठाउँका मानिसहरूलाई ती स्थान छाड्न आदेश दिएलगत्तै दक्षिणी लेबनानमा हवाई आक्रमण सुरु गरेको छ।लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार टायर जिल्लाको मर्राकेह सहरमा भएको आक्रमणमा परी कम्तीमा एक जनाको ज्यान गएको छ।यसअघि इजरायली प्रधानमन्त्रीले हिजबुल्लाहले उत्तरी इजरायलमा आक्रमण जारी राखेमा आफ्नो देशले कडा जवाफ दिने चेतावनी दिएका थिए।
अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले सामाजिक सञ्जाल ‘एक्स’मा ‘हामी शान्ति सम्झौताको इतिहासमै सबैभन्दा नजिक छौं’ भनी लेखेकै बेला यी आक्रमणहरू भएका हुन्।उनले आगामी २४ घण्टाभित्रै यो सम्झौताले अन्तिमरूप पाउने सम्भावना रहेको समेत उल्लेख गरेका छन्।गत अप्रिल महिनामा भएको युद्धविरामपछि तेहरानका सडकहरूमा जनजीवन सामान्य बन्दै गएको छ।
इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले पनि अमेरिकासँगको लडाइँ अन्त्य गर्ने सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन्।यस सम्झौताले इजरायल र लेबनानको हिजबुल्लाहबीचको द्वन्द्वलाई समेत शान्त पार्ने उनले बताए।
अराघचीका अनुसार यो सम्झौतामा हर्मुज जलडमरू मध्य पुनः सञ्चालनमा ल्याउने र इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दी हटाउने विषयहरू समेटिएका छन्।यद्यपि, इरानको आणविक कार्यक्रमबारे भने पछि मात्रै वार्ता हुने उनले स्पष्ट पारे।
अमेरिकी अधिकारीहरूले सम्झौताका केही विवरणहरू पुष्टि गर्दै इरानले पाउने आर्थिक सुविधाहरू तेहरानले आफ्ना प्रतिबद्धताहरू कत्तिको पूरा गर्छ भन्ने कुरामा निर्भर रहने बताएका छन्। यसअघिका केही अमेरिकी रिपोर्टहरूले लेबनान यस सम्झौताको हिस्सा नहुन सक्ने संकेत गरेका थिए, जबकि इरानले भने यसका लागि दबाब दिँदै आएको थियो।
यो युद्ध गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानभर गरेका आक्रमणहरूबाट सुरु भएको थियो।त्यसको जवाफमा इरानले इजरायल र खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गर्नुका साथै विश्वको तेल र तरल प्राकृतिक ग्यास ढुवानीको मुख्य मार्ग मानिने हर्मुज जलडमरू मध्य नै ठप्प पारिदिएको थियो।
गत अप्रिलमा युद्धविरामको सहमति भए तापनि अमेरिका र इरानबीच छिटपुट रूपमा आक्रमणहरू भइरहेका छन्।यसै साता मात्रै दुवै पक्षले एकअर्कामाथि दुई पटक जवाफी हमला गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार वार्ताकारहरूले ‘भर्खरै एउटा ठूलो सहमति’ गरेकाले आफूले इरानविरुद्ध तय गरिएका ‘पूर्वनिर्धारित आक्रमणहरू’ रद्द गरेको र यो सम्झौतामा चाँडै हस्ताक्षर हुने सम्भावना रहेको बताएका थिए।
शुक्रबार इरानी सञ्चारमाध्यमले १४ बुँदे प्रस्तावित सम्झौताका केही विवरणहरू सार्वजनिक गरेका थिए, जसलाई ट्रम्पले ‘सहमति भएका सर्तहरूसँग यसको कुनै सम्बन्ध नभएको’ र ‘यसमा कुनै सत्यता नरहेको’ भन्दै खण्डन गरे।
त्यसको केही घण्टापछि पाकिस्तानका प्रधानमन्त्रीले अमेरिका र इरानबीचको समझदारी पत्रमा सहमति जुटिसकेको र यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको बताए।
दशकौंदेखि पश्चिमी देशहरूले इरानमाथि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्।तर, इरानले यी आरोपहरूको खण्डन गर्दै आफ्नो आणविक कार्यक्रम विशुद्ध रूपमा बिजुली निकाल्न र शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ। शुक्रबार दिउँसो पत्रकारहरूसँगको विशेष कुराकानीमा अमेरिकी अधिकारीहरूले इरानी जहाजहरूमाथिको अमेरिकी नाकाबन्दी हटाउने सर्तमा इरानले हर्मुज जलडमरू मध्य खुला गर्ने बताए।
यी कदमहरू तत्कालै लागू हुनेछन्। यसपछि ६० दिनको वार्ता अवधि सुरु हुनेछ, जसमा इरानको संवर्धित युरेनियममाथि ध्यान केन्द्रित गरिनेछ, जुन आणविक बम बनाउन आवश्यक पर्ने मुख्य तत्व हो। अधिकारीहरूका अनुसार वार्ताको परिणामस्वरुप ती सबै सामग्रीहरू सोही स्थानमा नष्ट गरी देशबाहिर पठाइनेछ, यद्यपि यसको ठोस प्रक्रिया तय हुन अझै बाँकी छ।
अमेरिका, इरान, पाकिस्तान र मध्यस्थतामा सहयोग गरिरहेको कतार लगायतका सबै पक्षमा एउटा आशावादी वातावरण देखिए पनि अझै केही प्रक्रियाहरू पूरा हुन बाँकी नै छ।यसअघि पनि गत महिना दिनमा यस्ता सम्झौताहरू हुने अपेक्षा गरिए पनि अन्तिम चरणमा पुगेर
भाँडिएका थिए।
प्रतिक्रिया दिनुहोस !