आत्मसमीक्षा गर्दै संगठनलाई अगाडि बढाऔं : ओली (Live)
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय कार्यशालाले देशमा भएका अन्यौलता र भ्रमलाई चिर्ने बताएका छन्। काठमाडौंमा आयोजित पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै दुई दिनको भेलाले नयाँ जोस र विश्वासका साथ कार्यक्षेत्रमा फर्कने प्रेरणा दिने बताए।
ओलीले संगठनलाई चुनौतीको सामना गर्न सक्ने गरी अगाडि बढ्नुपर्ने बताए। उनले पार्टीभित्र आत्मसमीक्षा गर्ने अगाडि बढ्नुपर्ने बताए।
जेठ २० र २१ गते काठमाडौंमा आयोजित कार्यशालामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय पदाधिकारीसमेत सहभागी छन्।
पार्टी प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरू सहभागिता छन्।
पार्टीका सचिव भानुभक्त ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित कार्यशाला आयोजना भएको हो।
कार्यशालामा डिजिटल सदस्यता प्रणालीको प्रयोग, सदस्यता नवीकरण प्रक्रिया तथा संगठनात्मक सुदृढीकरणका विषयमा प्रशिक्षण र अभिमुखीकरण प्रदान गरिनेछ। पार्टीले यस कार्यशालामार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने अपेक्षा गरेको छ।
प्रतिक्रिया दिनुहोस !