आशावादी बजेट

आशावादी बजेट
सुन्नुहोस्

आर्थिक वर्ष २०८३/०८४ का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बहुप्रतिक्षित बजेट ल्याए । जेन–जी आन्दोलनको जगमा व्यापक रूपान्तरणको नारासहित आएको दलको बजेट बहुप्रतिक्षित हुनु स्वाभाविक थियो । योजना आयोगले दिएको सीमाभन्दा २ खर्ब ३४ अर्बभन्दा बढी अर्थात् २१ खर्ब २४ अर्बको अंकमा आएको बजेट आफैंमा महत्वांकाक्षी देखिन्छ ।

आकर्षक, महत्वांकाक्षा सकारात्मक नै पाटो हो । महात्वाकांक्षा नराखी लक्ष्य भेट्न सकिन्न, समृद्धि हासिल गर्न सकिन्न । सबा १० खर्ब जतिको राजस्व संकलन भइरहेको परिप्रेक्ष्यमा वाग्लेले १४ खर्बको राजस्व लक्ष्य राखेर ठूलो आकारको बजेट ल्याएका छन् । आकर्षक कार्यक्रमसहित बजेट ठूलो बनाउँदा स्रोतको चाप स्वाभाविक हो, त्यो लक्ष्य भेट्ने मुख्य चुनौती वाग्लेको बजेटलाई छ । सम्भवतः त्यही भएर होला राजस्वको मुख्य स्रोत अर्थात् निजी क्षेत्रलाई पनि उत्साहित बनाउने कोसिस बजेटमार्फत गरिएको छ । 

संरचनागत सुधार भनिएको बजेट पहिले–पहिलेका भन्दा केही फरक छ । वाग्लेको बजेट वितरणमुखी छैन । सस्तो लोकप्रियतामुखी नभए पनि कर्णप्रिय भने अवश्य रह्यो । पहिल्यैदेखि वाग्लेले जसरी मध्यमवर्ग, मध्यमवर्ग भनेर जोड दिइरहेका थिए, बजेट पनि त्यही वर्ग केन्द्रित गरे । त्यही वर्ग रिझाउने गरी बजेट घोषणाको सुरुआतीमै वाग्लेले आयकर लाग्ने आम्दानी सीमा ५ लाखलाई दोब्बर बढाएर १० पुर्‍याएको सुनाए । यो र यस्तै मध्यमवर्ग लक्षित घोषणा गर्दा वाग्लेको भागभंगीमाले नै बताउँथ्यो कि आफ्ना कार्यक्रमले मध्यमवर्ग उत्साहित र खुसी हुन्छ भन्ने आत्मविश्वास उनमा छ । मध्ययमवर्गको महत्त्वपूर्ण हिस्सा जुन सरकारी कर्मचारी हो, त्यसको पनि तलब वृद्धि गरेर सरकारले अर्काे लोकप्रियतावादी काम गरेको छ । खासमा त्यसले भोलि बजारमा महँगीसमेत बढाउन सक्ने सम्भावना भने रहन्छ नै ।

आशावादी हुने कुरा के हो भने थुप्रै करका दरमा हेरफेर गरिएको छ । कम्पनी दर्ता र बन्द गर्दाका झमेलालाई बजेटमार्फत अन्त्यको नीतिगत व्यवस्थाको घोषणा सरकारले गरेको छ । बिनाधितो र परियोजनालाई नै धितो मानेर कर्जा दिने नीति होस् या विदेशी लगानीलाई लगानीबोर्डमा दर्ता गराए पुग्नेसम्मका नीतिले उद्यमशीलता विकासमा र वैदेशिक लगानी आकर्षणमा योगदान गर्न सक्छ । जसको फलस्वरूप सरकारले लक्ष्य राखेको राजस्व संकलनमा योगदान पुग्न सक्छ ।

एकसाथ ३ सय ६० वस्तुमा अन्तःशुल्क खारेज गर्ने भनेर गरिएको घोषणाबाट पनि निजी क्षेत्र उत्साहित बनेको छ । पुँजीगत लाभकरलाई अन्तिम बनाउने जस्ता प्रावधानहरू लगानीमैत्री छन् । ३१ निकाय खारेज गर्ने, ६ वटा गाभ्ने र १८ वटा पुनर्संरचना गर्ने घोषणाले सरकारको प्रशासनिक खर्च पक्कै कटौती गर्नेछ । जुनसुकै सरकार पनि सामाजिक सुरक्षा भत्ता वृद्धिको लोकप्रियता पछ्याइरहेका बेला वाग्लेले भने सक्नेले भत्ता लिन छाडौं भन्ने आह्वान गरे । तर, आर्थिक हैसियत भएकालाई कटौती नै गर्ने साहस गर्न सकेनन् । खर्च कटौतीको उपाय त्यो पनि हुनसक्थ्यो र समन्याय पनि ।

खुद्रे बजेट वितरण नगरी ठूला पूर्वाधारमा केन्द्रित हुनु बजेटको सबल पक्ष हो । ठूला पूर्वाधार सम्पन्न गर्न आवश्यक स्रोतमा राजस्व मात्रैको भर नपरी विकल्प यसपटक सरकारले खोजेको छ । करका दरहरूका व्यापक हेरफेर गर्दा बहुदरको मूल्यअभिवृद्धि करको कार्यान्वयन सुखद मान्न सकिए पनि बिजुली, शिक्षा र स्वास्थ्यका करहरू भने लोककल्याणका दृष्टिले औचित्यपूर्ण मान्न सकिन्न । राजस्व संकलनका लागि जे जसरी सरकारले प्रयत्न गर्न खोज्दैछ, जुन आफैंमा महत्वाकांक्षी भए पनि असम्भव पक्कै हुँदैन । मात्रै दृढ इच्छाशक्तिचाहिँ चाहिन्छ । आधुनिक जमानाले मागेको डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताका सवालमा सरकारले जस्ता कार्यक्रम ल्याएको छ, त्यसको कार्यान्वयनबाट अर्थतन्त्रले कसरी लाभ लेला अहिल्यै भन्न सकिन्न । तर, आजको डिजिटलमैत्री जमानामा यो अत्यावश्यक भने थियो । कच्चा पदार्थको भन्सार घटाइँदा स्वदेश उद्योगले विदेशीसँग कसरी प्रतिस्पर्धा गर्लान् भन्ने पनि अहिल्यै यकिन हुँदैन ।

सरकारले कम्मर कसेरै बजेट कार्यान्वयनमा लाग्यो भने मुलुकको अर्थतन्त्रलाई रूपान्तरण गर्न सफल हुनसक्छ । तर, प्रक्षेपण गरे झै ७ प्रतिशतको आर्थिक वृद्धि भने कठिन कुरा हो । निजी क्षेत्रको उत्साह केवल करका दर र प्रशासनिक झमेलाको अन्त्यमा मात्रै निर्भर छैन, जसरी पछिल्लो समय सरकारले व्यवसायीको धरपकड गर्‍यो र आर्थिक अपराधलाई फौजदारी सरहको व्यवहार गर्‍यो त्यसबाट सन्देह फैलिएको छ । तसर्थ सुशासन कायम गर्दाका बखत पनि सरकारले निजी क्षेत्र मैत्री र विश्वास जित्ने कर्म भने गर्नैपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.