विहेमा सहभागी हुन भारत आउँदै थिए मन्जुर, कुवेत विमानस्थलमा ड्रोन हमलामा मारिए
भारत : भारत मध्य प्रदेशस्थित उज्जैनका ५५ वर्षीय मन्जुर अहमदको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कथित इरानी हमलामा मृत्यु भएको छ । उनको शव बिहीबार राति अहमदाबाद ल्याइएको छ र त्यहाँबाट उज्जैन लगिँदैछ ।
मन्जुर अहमद परिवारमा हुन लागेको विवाह समारोहमा सहभागी हुन भारत फर्किरहेका थिए । परिवारका अनुसार मन्जुर विगत करिब ३० वर्षदेखि कुवेतमा दर्जीको काम गर्दै आएका थिए । उनका छोरा मोहम्मद अनसले बताएअनुसार बुधबार बिहान उनी मुम्बई जाने उडान समात्न कुवेत विमानस्थल पुगेका थिए ।
अनसले भने, ‘उहाँ भारत आउँदै हुनु हुन्थ्यो । परिवारमा भतिजाको विवाह हुन लागेको थियो र त्यसैमा सहभागी हुन फर्किंदै हुनु हुन्थ्यो ।’ घटना कसरी भयो भन्ने प्रश्नमा अनसले भने, ‘हामीलाई भनिएको थियो कि उहाँ कुवेतको टर्मिनल–१ नजिक भएको ड्रोन आक्रमणको चपेटामा पर्न ुभएको थियो ।’ उनले बताएअनुसार विमानस्थलमा आक्रमण भएको खबर पाएपछि परिवारले मन्जुर अहमदसँग सम्पर्क गर्ने प्रयास गर्यो, तर सम्पर्क हुन सकेन । पछि कुवेतस्थित भारतीय दूतावासबाट फोन आएर उनका पिताको मृत्यु भएको जानकारी दिइयो ।
परिवारले के भन्यो ?
मन्जुर अहमदकी वृद्ध आमाले मंगलबार राति छोरोसँग अन्तिम पटक कुरा भएको बताइन् । उनले रुँदै भनिन्, ‘राति करिब ११ बजे कुरा भएको थियो । उहाँ घर आउन पाउने भएकाले निकै खुशी हुनु हुन्थ्यो । बिहान ६ बजे घरबाट विमानस्थलका लागि निस्कनु भएको थियो । तर बिहान ९ बजेदेखि फोन लाग्न छाड्यो ।’ भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमलाको निन्दा गरेको छ । मन्त्रालयका अनुसार उक्त घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य केही भारतीय घाइते भएका छन् ।
मन्त्रालयले भन्यो, ‘पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै भारतले नागरिक र नागरिक पूर्वाधारलाई निशाना नबनाउन आग्रह गर्दै आएको छ । हामी पुनः सबै पक्षलाई यस्ता आक्रमण रोक्न अपिल गर्दछौँ ।’ कुवेतस्थित भारतीय दूतावासले पनि मृतकको परिवारसँग सम्पर्कमा रहेको र शवलाई छिट्टै भारत पठाउन कुवेती अधिकारीहरूसँग समन्वय भइरहेको जनाएको छ । मन्जुर अहमदका बाल्यकालका साथी फिरोज पठानीले बीबीसी हिन्दीसँग कुरा गर्दै मन्जुरको शव जुन ४–५ को मध्यरातमा अहमदाबाद विमानस्थल ल्याइएको बताए ।
उनले भने, ‘परिवारका केही सदस्यसँगै एम्बुलेन्स राति ३ बजेसम्म अहमदाबाद विमानस्थल पुगेको थियो । त्यहाँबाट शव उज्जैन लगिँदै छ । शुक्रबार साँझ अन्त्येष्टि गरिनेछ ।’ भावुक हुँदै उनले थपे, ‘मन्जुर र म ४५ वर्षदेखि एकअर्कालाई चिन्छौं । हाम्रो पारिवारिक सम्बन्ध थियो । उहाँ ३० वर्षदेखि कुवेतमा बस्दै आउनु भएको थियो । तर जब भारत आउनु हुन्थ्यो, हामी सँगै माछा मार्न जान्थ्यौँ। उहाँ अत्यन्त सरल र मिलनसार व्यक्ति हुनुहुन्थ्यो ।’
इरानले आरोप गर्यो अस्वीकार
मन्जुर अहमदको मृत्यु यस्तो समयमा भएको हो, जब पश्चिम एसियामा जारी तनावको प्रभाव खाडी मुलुकहरूसम्म पुगेको छ । बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ मा भएको आक्रमणमा एक जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा टर्मिनल भवनमा आक्रमण भएको र त्यसपछि छानाको एक भाग खसेको देखिएको छ । कुवेती अधिकारीहरूले उक्त आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गर्दै यसलाई ‘क्रूर आक्रामकता’ भनेका छन् ।
प्रतिक्रिया दिनुहोस !