नेताहरूको कार्यविभाजन टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ : नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११:३० बजे बैठक बोलाइएको हो।
जेठ ५ गते बसेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजन सम्बन्धी प्रस्तावमाथि छलफल गरी आजको बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरेको छ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजनको प्रस्तावमाथि विस्तृत छलफल हुनेछ। सचिवालयले पारित गरेपछि उक्त निर्णयलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत तल्लो तहसम्म पठाइनेछ।
गत मंसिर २७ /२९ मा भएको ११ औं महाधिवेशनपछि नेताहरुको अस्थायी कार्यविभाजन गरिएको थियो । फागुन २१ को निर्वाचनमा केन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो ।
यस पटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागहरु मध्ये सचिव भानुभक्त ढकाललाई संगठन,केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल,विशाल भट्टराईलाई जनसंगठन र डा.सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवहरुलाई विभागहरुका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ।अध्यक्ष ओलीको प्रस्ताव अनुसार अधिकांश केन्द्रीय सदस्यहरूलाई 'मिशन स्थानीय चुनाव' को विशेष जिम्मेवारी दिएर खटाउन लागिएको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस !