विश्वकप खेल्न इरानको सर्त

विश्वकप खेल्न इरानको सर्त
सुन्नुहोस्

लन्डन : इरानले आगामी जुन ११ बाट सुरु हुन लागेको फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने स्पष्ट पारेको छ। तर, त्यसका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र आयोजक राष्ट्रसँग केही सर्त राखेको छ। अमेरिका र इरानबीचको भूराजनीतिक तनाव सिर्जना जारी रहे पनि आयोजक राष्ट्रले आफ्ना सर्त पूरा गर्नुपर्ने अडान इरानले राखेको छ। अमेरिकासँगको टकराबका कारण फुटबलमा पनि असर देखिन थालेपछि इरानले सर्तसहित विश्वकपमा सहभागिता जनाउने घोषणा गरेको हो। 

इरानी फुटबल महासंघ (एफएफआईआरआई)ले आफ्नो देशको विश्वास, संस्कृति, मूल्यमान्यता, राष्ट्रिय पहिचान र गरिमाको मूल्यबाट पछि नहट्ने भन्दै विश्वकपमा खेल्ने जनाएको हो। ‘हामी निश्चित रुपमा विश्वकपमा सहभागी हुन्छौं। तर, आयोजकले हाम्रो केही शर्त पूरा गर्नुपर्ने हुन्छ’, एफएफआईआरआई भनेको छ, ‘विश्वकपका नाममा आफ्नो विश्वास, संस्कृति र सिद्धान्तबाट भने पछि हट्दैनौं।’ विश्वकपका दौरान आयोजक अमेरिकाले आफ्ना खेलाडी, प्रशिक्षक र समर्थकलाई कस्तो व्यवहार गर्छ भन्ने नै इरानको मुख्य चिन्ता हो। 

केही समय पहिले इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजलाई गत महिना क्यानडामा प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो। फिफा सम्मेलनमा सहभागी हुन क्यानडा गएका मेहदीलाई क्यानडाले प्रवेश नदिई फिर्ता पठाइदिएको थियो। त्यसपछि इरानले विश्वकपमा सहभागी हुन १० वटा सर्त फिफासमक्ष राखेको थियो। इरानले आफ्ना खेलाडी, प्रशिक्षक र अफिसियलसँगै इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्ससँग सम्बन्धित व्यक्तिहरूलाई पनि प्रवेश अनुमति दिनुपर्ने माग राखेको छ। यस्तै आफ्नो राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सम्मान हुनुपर्ने, विमानस्थल, होटल र रंगशालामा थप सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग पनि गरेको छ। 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी खेलाडीहरूलाई विश्वकपमा स्वागत गरिने बताएका छन्। तर, इरानको सैन्य समूहसँग सम्बन्धित व्यक्तिमाथि प्रतिबन्ध लाग्न सक्ने चेतावनी पनि उनले दिएका छन्। यसले फिफालाई सबै छनोट भएका टोलीलाई प्रतियोगितामा सहभागी गराउने र अन्तर्राष्ट्रिय राजनीतिक तनावबीच सन्तुलन कायम गर्ने कठिन जिम्मेवारी पनि बहन गर्नुपर्ने बाध्यता बनेको छ। यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए भने इरानले पनि जवाफी हमला गरेको थियो। अहिले युद्धविराम भए पनि अवस्था संवेदनशील छ।

इरानले एसियाली छनोटमार्फत विश्वकपमा स्थान बनाएको थियो। ४८ राष्ट्र सहभागी विश्वकपमा इरान, बेल्जियम, न्युजिल्यान्ड र इजिप्टसँगै समूह ‘जी’मा छ। इरानको समूह चरणका खेल अमेरिकाको लस एञ्जल्स र सियाटलमा हुने तालिका छ। ४८ टोली सहभागी विश्वकपमा जम्मा एक सय चार खेल हुनेछ। विश्वकपको उद्घाटन मेक्सिको सिटी र फाइनल खेल न्यु जर्सीमा आयोजना हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.