नेक्स्ट लेभलको उचाइमा प्रितमका कम्पनी

नेक्स्ट लेभलको उचाइमा प्रितमका कम्पनी
सुन्नुहोस्

प्रितमको नेतृत्वमा कम्पनीले पछिल्ला वर्षहरूमा वार्षिक २० देखि २५ प्रतिशतको लोभलाग्दो वृद्घि हासिल गरिरहेको छ। हाल उनका उत्पादनहरू नेपालमा मात्र सीमित नभई विश्वका ६–७ वटा देशहरूमा निर्यात हुन थालेका छन्।

नेपालको औद्योगिक क्षेत्रमा ‘रिजाल फुड एन्ड वेभरेज’ एउटा स्थापित नाम हो, जसको जग सन् १९८६ (वि.सं. २०४३) मा प्रितम रिजालका बुबाले दालमोठ र भुजिया उत्पादनबाट सुरु गरेका थिए। त्यही कम्पनीका मुख्य बजार प्रबन्धक हुन्— प्रितम रिजाल, जुन नाम नेपाली व्यवसायीमाझ परिचित छ। 

उद्योग परिसर र घर एउटै हाताभित्र भएकाले प्रितमको बाल्यकाल औद्योगिक वातावरणमै बित्यो। स्कुल जाने बेला कर्मचारीहरू काममा आएको देख्नेदेखि लिएर गाडीहरूमा सामान लोड भएको दृश्य हेर्दै हुर्किएका उनमा सानैदेखि व्यवसायप्रति एउटा गहिरो लगाव थियो। धेरैले उनलाई ‘भविष्यमा बिजनेस नै सम्हाल्ने होला नि?’ भनेर सोध्दा उनी मनमनै ‘म बिजनेस चलाउनेमात्र होइन, यसलाई नयाँ उचाइमा पुर्‍याउनेछु र अझ ठूलो बनाउनेछु’ भन्ने संकल्प गर्थे। सानै उमेरमा उनले दिएका साना–साना सुझावले व्यवसायमा सकारात्मक नतिजा ल्याउँदा उनको आत्मविश्वास झनै बढ्दै गयो, जसले उनलाई व्यावसायिक मार्गमा लाग्न थप प्रेरित गर्‍यो।

शिक्षाको सिलसिलामा भारतमा रहँदा प्रितमले त्यहाँको विशाल स्न्याक्स र नमकिन बजारलाई नजिकबाट अध्ययन गर्ने अवसर पाए। हल्दीराम र बिकाजीजस्ता विश्वप्रसिद्ध ब्रान्डहरूको उत्पादन शैली र बजार विस्तार देख्दा उनलाई नेपाली उत्पादनहरू केवल ‘दालमोठ’ को एउटा सानो र सीमित दायरामा मात्र खुम्चिएको महसुस भयो। भारतमा विभिन्न राज्यअनुसारका फरक–फरक स्वाद र उत्पादनका पोर्टफोलियो देखेपछि उनले नेपालमा पनि ‘भ्यालु एडिसन’ मार्फत ठूलो फड्को मार्न सकिने सम्भावना देखे। नेपाल फर्किँदा उनीसँग केवल शैक्षिक डिग्रीमात्र थिएन, बरु नेपाली बजारलाई नयाँ ढंगले उपयोग गर्ने एउटा स्पष्ट भिजन र हुटहुटी पनि थियो।

स्नातक तह सकिएपछि उनी पूर्णकालीन रूपमा व्यवसायमा आबद्ध भए, तर उनको यो सुरुवात सहज भने थिएन। त्यो समय विश्वव्यापी रूपमा कोभिड–१९ को महामारीले आक्रान्त थियो। मुलुकमा तरलता अभाव र चर्को ब्याजदरजस्ता आर्थिक चुनौतीहरू थिए। कतिपय अवस्थामा वैदेशिक रोजगारीमा गएका साथीहरूलाई देख्दा ‘मैले कतै गल्ती त गरिनँ ?’ भन्ने सोच पनि नआएको होइन। तर, उनका बुबा र परिवारले उनलाई एउटा ठूलो पाठ सिकाउनुभयो– ‘यदि कठिन समय सुरुमै सामना गरियो भने, यसले भविष्यका लागि परिपक्वता र आत्मविश्वास पैदा गर्छ।’ यही प्रेरणाले उनलाई डगमगाउन दिएन। उनले कोभिडपछिको बजारलाई बुझ्न भाटभटेनी र बिग मार्टजस्ता ठूला स्टोरहरूसँग प्रत्यक्ष जोडिएर उपभोक्ताको फिडब्याक लिए र परम्परागत शैलीलाई आधुनिक रिटेल मोडेलमा ढाले।

प्रितमको नेतृत्वमा कम्पनीले पछिल्ला वर्षहरूमा वार्षिक २० देखि २५ प्रतिशतको लोभलाग्दो वृद्धि हासिल गरिरहेको छ। हाल उनका उत्पादनहरू नेपालमा मात्र सीमित नभई विश्वका ६–७ वटा देशहरूमा निर्यात हुन थालेका छन्। अबको पाँच वर्षमा उनले यसलाई केवल एउटा स्न्याक्स कम्पनीमात्र नभई पूर्ण ‘फुड प्रोसेसिङ इन्डस्ट्री’मा रूपान्तरण गर्ने लक्ष्य राखेका छन्। 

आलु, बदाम र दालजस्ता कच्चा पदार्थमा आत्मनिर्भर हुनका लागि उनी ‘ब्याकवार्ड इन्टिग्रेसन’ को योजनामा छन्, जहाँ उद्योगले सिधै किसानहरूसँग सहकार्य गर्नेछ। उनी विश्वास गर्छन् कि यदि राज्यले व्यावसायिक सहजता र नीतिगत स्पष्टता प्रदान गर्ने हो भने नेपाली युवाहरूले स्वदेशमै उद्यमशीलताको माध्यमबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्छन्। यसका साथै, नेपालको युवा जनशक्तिलाई देशकै सम्पत्तिका रूपमा चित्रण गर्दै उनी भन्छन्– ‘जहाँ अन्य मुलुकहरू जनशक्ति आयात गर्न बाध्य छन्, नेपालले भने आफ्नै युवाहरूलाई स्वदेशमै ‘क्यापिटलाइज’ गरेर औद्योगिक क्रान्ति गर्न सक्नुपर्छ।’ प्रितमको यो दूरगामी सोचले नेपाली उद्योगलाई आत्मनिर्भर बनाउन र युवाहरूलाई स्वदेशमै भविष्य खोज्न ठूलो प्रेरणा प्रदान गर्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.