स्क्रिनबाट निस्किने प्रकाशले ‘भिजन सिन्ड्रोम’को जोखिम
दैनिक क्रियाकलापलाई सहज बनाउन टेलिभिजन, कम्प्युटर तथा मोबाइललगायत सामग्रीको उपयोग गरिरहनु भएको छ ? ख्याल गर्नुहोस्, अन्यथा ती उपकरणको स्क्रिनबाट प्रवाह हुने प्रकाशले तपाईंलाई आँखामा ‘भिजन सिन्ड्रोम’को समस्याले पिरोल्न सक्छ।
टेलिभिजनलगायतका विद्युतीय सामग्रीको काँचबाट प्रवाह हुने किरणले आँखा सुक्खा हुनेलगायतका समस्या लिएर आँखा अस्पतालमा पीडितहरूको लर्को लाग्न थालेको छ। टीभी, कम्प्युटर र मोबाइलको उपयोग गर्दा निश्चित दूरी र समयको हेक्का नराख्ने स्कुले विद्यार्थी र अन्य पेसाकर्मीहरू पीडित हुन पुगेका छन्। नेपाल आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. नियाज कौसर मिकरानी पछिल्लो समय भिजन सिन्ड्रोमको समस्याले पीडित हुनेहरूको संख्या बढिरहेको बताउँछन्। भन्छन्, ‘आँखालाई आराम गर्न नदिई लगातार काम गर्नेहरूमा यो समस्या देखिएको छ।’ आँखाको परेला माथि ४० वटा र तल्लो भागमा २५ वटा ग्रन्थी हुन्छन्। यी ग्रन्थीहरूमा असर पर्ने बित्तिकै भिजन सिन्ड्रोमका लक्षणहरू देखा पर्ने नेत्र रोग विशेषज्ञहरूको भनाइ छ।
वरिष्ठ आँखा रोग विशेषज्ञ प्रा.डा. आनन्दकुमार शर्मा स्कुलका विद्यार्थी, बैंकर्स, कम्प्युटर इन्जिनियरहरू भिजन सिन्डोमबाट प्रभावित भएको बताउँछन्। टेलिभिजन, कम्प्युटरलगायतबाट प्रवाह भएको किरणले थकान महसुस गराउनुका साथै आँखालाई सुक्खा राख्ने नेत्र विशेषज्ञहरूको अनुभव छ। प्रा.डा. शर्मा भन्छन,‘ रगत प्रवाह गर्न मुटुको चाल र श्वासप्रश्वास फेर्नका लागि फोक्सोको खुम्चने र फैलने प्रक्रिया जति आवश्यक छ, आँखालाई स्वस्थ राख्नका लागि परेला झिम्कनु पनि त्यत्तिकै आवश्यक छ। टेलिभिजन हेर्ने र कम्प्युटर चलाउनेहरूको आवश्यक मात्रामा परेला झिम्किन पाउँदैन। फलस्वरूप भिजन सिन्ड्रोमको समस्याले पिरोल्न थाल्छ।’
परेली झिम्काउँदा आँखामा रहेको तरल पदार्थले नानी (कोर्निया)लाई भिजाई मोइस्चर गराउँछ। नेत्र रोग विशेषज्ञहरूका अनुसार, नानीलाई मोइस्चरमा राख्दा भिजन सिन्ड्रोमको डर हुँदैन। सामान्यत एक मिनेटमा १५ पटक परेली झिम्कनु सामान्य मानिन्छ । तर, टेलिभिजनको दृश्य हेरिरहेका बेला र कम्प्युटरमा काम गरिरहेका बेला परेली झिम्कने ६ देखि ८ पटक झिम्कने प्रा.डा. शर्माको भनाइ छ। उनी थप्छन्, ‘निदाउँदा परेली छोपिनु पर्छ भने ननिदाउँदा आँखा निरन्तर झिम्किरहनु पर्छ। टेलिभिजन हेर्दा होस् वा कम्प्युटरमा काम गर्दा होस दूरी र समयको ख्याल गर्नुपर्छ।’
वातानुकूलित कोठामा बसेर टेलिभिजन, कम्प्युटर र मोबाइल चलाउनेहरू बढ्दै गएका छन्। यो बानीले झन् भिजन सिन्ड्रोमको समस्यालाई वृद्धि गर्ने चिकित्सकहरू बताउँछन्। एसी वा हिटरको प्रयोग गरी यी सामग्री चलाउँदा पनि आँखा सुक्खा गराउन झन् सहयोग पुग्छ।
युट्युबबाट अध्ययन गर्ने चलन बढेकोले भिजन सिन्ड्रोमको समस्या झन वृद्धि हुने नेत्र रोग विशेषज्ञहरूको आकलन छ। सात घण्टाभन्दा बढी समय टेलिभिजन हेर्ने वा कम्प्युटर चलाउनेहरूलाई यो समस्याले पिरोलिरहेको पाइएको छ। आँखा झिम्कने प्रक्रिया रोकिनेबित्तिकै आँखामा तरल पदार्थ उत्पन्न हुँदैन। तरल पदार्थले भिजाएर चिसोपना राख्नुपर्नेमा आँखा मोइस्चर नभई सुक्खा हुन पुग्छ। दृश्य हेर्न सहयोग पुर्याउने नानी सुक्खा हुँदा लेयर हट्छ। दृश्य धमिलो देखिने, आँखा चिम्म गर्दा आनन्द महसुस हुने हुन्छ। त्यस्तै टाउको दुख्ने, काम गर्दा अल्छी लाग्नेजस्ता लक्षणहरू देखिन्छन्।
लगातार काम गरिरहनुको साटो बीचबीचमा आराम गर्ने, स्वच्छ पानीले बारम्बार आँखा सफा गर्ने, बाहिर टहलिने र पानी पिउनुपर्ने प्रा.डा. शर्माको सुझाव छ। त्यस्तै आँखालाई आराम दिनुका साथै आँखाको आवश्यक कसरतसमेत गर्नु पर्ने डा. मिकरानी बताउँछन्। कृत्रिम रूपमा तरल पदार्थ निस्कने औषधि राखेर भए पनि आँखामा चिसोपना (मोइस्चर) गराउनुपर्ने सुझाव चिकित्सकहरूको छ।
प्रतिक्रिया दिनुहोस !