मधेसका कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

मधेसका कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशका कारागारहरूमा क्षमताभन्दा तेब्बर कैदीबन्दीहरू जेनतेन सजाय काट्न बाध्य भएका छन्।  आधारभूत सेवाहरूको समेत समस्या भोगिरहेका कैदीबन्दीहरूका लागि कारागार सुधारगृह बन्नुपर्नेमा सजाय गृह बनेको छ। 

प्रदेशका ८ जिल्लामध्ये ६ जिल्लामा कारागार छ भने एउटा मात्रै बाल सुधारगृह रहेको छ। जिल्ला कारागार सप्तरीमा जम्मा ३० जना महिला र १ सय २५ जना पुरुष गरी जम्मा १ सय ५५ कैदीबन्दी राख्ने क्षमता छ। तर, हाल यहाँ ३ सय ५८ कैदी छन्। जसमध्ये महिला २३ र पुरुष ३ सय ३५ छन्। 

जिल्ला कारागार सिरहामा महिला १५ र पुरुष १ सय ३५ गरी जम्मा १ सय ५० जना कैदीको क्षमता छ। तर, यहाँ हाल ४ सय १४ पुरुष कैदी छन्। जिल्ला कारागार महोत्तरीमा २०० जना पुरुष कैदी राख्ने क्षमता छ तर, यहाँ हाल ४ सय १२ कैदी छन्। जिल्ला कारागार सर्लाहीमा पनि २०० जना पुरुष कैदीको क्षमता छ तर यहाँ ३४ महिला र ३ सय ३९ कैदी सजाय भोगीरहेका छन्।

जिल्ला कारागार रौतहटमा २० जना महिला र १ सय ८० जना पुरुष गरी २०० जना कैदीको क्षमता छ तर, यहाँ सबैभन्दा बढी ६० महिला र १ हजार १ सय ४५ पुरुष गरी १ हजार २ सय ५ कैदीहरू छन्। बाल सुधारगृह पर्सामा ९९ जना बालकैदीहरू छन्। 

‘भौतिक पूर्वाधारको अवस्था निकै कमजोर छ। हामीले कैदीहरूलाई स्वतन्त्र रूपमा अन्य कारागारमा जान चाह्ने इच्छा छ भनेर समेत सोधेका थियौं तर जान मान्नु भएन। आफ्नो गाउँठाउँमै भयो भने बेलाबखत आफन्तहरूसँग भेट गर्न पाइन्छ भनेर पनि धेरै नगएका हुन्,’ सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भन्छन्, ‘खानेपानीको समस्या छ, शौचालयको समस्या छ, सरसफाइ जेनतेन राख्ने प्रयास गरेका छौं। खाटको अभाव छ। यसको व्यवस्थापनका लागि हामीले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरीराखेका छौं।’

१६८ वर्ष पुरानो जलेश्वर कारागारमा हाल क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी सजाय काटिरहेका छन्। वर्षायाममा बाढी पानी पर्‍यो भने डुबानमा पर्ने, गर्मीका बेला अत्यधिक गर्मीले पोलेर हैरान पार्ने र चिसोको बेला जेनतेन कठ्यांग्रिएर बस्नुपर्ने बाध्यताबीच यस कारागारका कैदीहरूले सजाय अवधि बिताइराखेका छन्। 

६.५ बिघा क्षेत्रफलमा फैलिएको यस कारागारमा पहिला महिला कैदीहरू पनि राखिन्थ्यो तर व्यवस्थापनमा समस्या भएपछि पछिल्लो केही वर्षदेखि महिला र बालबालिकालाई यहाँ राख्न छाडिएको कारागार प्रशासक अशोक कुमार क्षेत्री बताउँछन्। ‘भौतिक संरचनाको त अभावनै छ। तर, हामीले सक्दो सुरक्षित र शान्त वातावरण बनाउने प्रयास गरेका छौं,’ जेलर क्षेत्री भन्छन्, ‘कारागारको नयाँ भवन बनाउन हामीले जलेश्वरमै जग्गा प्राप्त गरेका छौं। तर, बजेटको बन्दोबस्ती नहुँदा डीपीआएर प्रक्रियाहरू अघि बढाईएको छैन। यो कारागार निकै जीर्ण भइसकेको छ तर भित्री वातावरण सौहार्दपूर्ण नै छ। सातामा एक दिन भजनकृतन गराउँछौं। मैत्रीपूर्ण व्यवहार गर्न कैदीबन्दीहरूलाई उत्साहित गर्छौं।’

२०७५ सालमा अनाथालयको भवनलाई बाल सुधारगृहका रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको निकै जीर्ण अवस्थामा रहेको वीरगन्जको बाल सुधारगृह, पर्सामा बालकैदीहरूका लागि सुत्ने, बस्ने ठाउँसमेत अपर्याप्त छ। दुईवटा भवनमा जम्मा ११ वटा कोठा छन्। छुट्टै जाँच तथा उपचार कक्षसमेतको व्यवस्था नरहेको बाल सुधारगृहमा बालकैदीहरूका लागि न त खेलकुद, मनोरञ्जन र सिर्जनात्मक क्रियाकलापहरूको व्यवस्था छ न त उनीहरूका लागि पुस्तकालय, रेडियो वा टेलिभिजन नै छ। 

बालबालिकाको व्यवहारमा सुधार ल्याउन आवश्यक पाठ्यपुस्तकहरू तथा पुस्तकालयको कुनै प्रबन्ध नगरिएको सुधारगृहमा खेल्ने ठाउँसमेत नहुँदा खेलकुदका सामग्रीको पनि कुनै व्यवस्था गरिएको छैन। क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी रहेको जिल्ला कारागार कार्यालय पर्सामा राणाकालमै निर्माण भएको जीर्ण भवन छ। कैदीबन्दीहरू वर्षायाममा घर चुहिने र ब्लक भवन भत्किने त्रासलेनै त्रसित हुन्छन्। १ बिघा १८ कट्ठामा फैलिएको कारागारमा १० वटा भवनमा ५५ कोठा छन्। 

१९९० सालमा नै निर्माण भएको रौतहट कारागार निकै जीर्ण छ। ४ वटा भवनमा सञ्चालनमा रहेको सो कारागार जीर्ण र जर्जर अवस्थामा छ। जम्मा १० वटा कोठा रहेको सो कारागारमा ढलको प्रमुख समस्या छ। कैदीबन्दीका लागि न त पुस्तकालयको व्यवस्था छ न त औषधि उपचार र सरसफाइसम्बन्धी उचित बन्दोबस्त छ।

 ‘मधेस प्रदेशका कारागारहरूमा खानेपानी र अन्य व्यवस्थापनको विषयमा सरकारले सक्दो चाँडै पहल गर्ने,’ मधेस प्रदेशका गृहमन्त्री फकिरा महतो भन्छन्, ‘यस प्रदेशमा लागुऔषधको प्रयोग निकै ठूलो समस्या रहेको र यसले अपराध तथा अन्य गैरकानुनी क्रियाकलापहरूलाई बढोत्तरी गरेको हुँदा यसको रोकथामका लागि सम्पूर्ण प्रदेशवासीको जागरुकता आवश्यक रहेको छ।’

जेन–जी आन्दोलको मौका छोपी मधेसका कारागारहरूबाट २ जना महिला र ११११ जना पुरुष गरी जम्मा १११३ कैदीबन्दी फरार भएका थिए। जसमध्ये ६१३ लाई नियन्त्रणमा लिइएको छ भने अन्य हाल पनि फरार अवस्थामै छन्। सो बेला जेल तोडेर भाग्नेमध्ये सबैभन्दा बढी महोत्तरी कारागारबाट ५७६ जना फरार भएका थिए। रौतहटबाट २६२ र सप्तरी कारागारबाट २०५ जना कैदी भागेका थिए भने बाल सुधारगृह पर्साबाट ६८ जना फरार भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.