लुगुममा झाँक्री मेला
रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुगुममा परम्परादेखि चलिआएको झाँक्री मेला सोमबार सम्पन्न भएको छ। गाउँलाई विभिन्न अनिष्ट, रोगव्याधि र प्राकृतिक विपत्तिबाट जोगाउने विश्वासका साथ आयोजना गरिने यो मेला स्थानीय मगर समुदायको महŒवपूर्ण सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा परिचित छ।
अग्ला पहाडको फेदीमा रहेको लुगुम गाउँ ढुंगा र माटाले बनेका परम्परागत घर तथा मगर खाम भाषाको मौलिक संस्कृतिका कारण परिचित छ। यही गाउँको पूर्वी भेगमा रहेको चौतारामा बर्सेनि झाँक्री मेला लाग्ने गर्दछ। चौतारामा रहेका अग्ला धुपीसल्लाका रुखमुनि गाउँभरिका झाँक्रीहरू भेला भएर विशेष पूजा, तान्त्रिक अनुष्ठान तथा सामूहिक नृत्य गर्ने चलन रहेको छ।
स्थानीयवासीका अनुसार साउन महिनाको पहिलो साताभित्र साउन १ र २ गतेबाहेक पर्ने सोमबार, मंगलबार वा शनिबारमध्ये साइत जुरेको दिन मेला आयोजना गरिन्छ। झाँक्रीहरूले तिथिमिति र ग्रहदशा हेरेर मेलाको दिन निर्धारण गर्ने परम्परा रहिआएको छ। यस वर्ष मेलाको साइत सोमबार परेको थियो।
स्थानीय किंवदन्तीअनुसार परापूर्वकालमा ‘काना सुरपांगे’ नामक प्राकृतिक भूतको आत्माले गाउँ वरपर आवतजावत गर्ने मानिसलाई दु: ख दिने तथा विभिन्न समस्या सिर्जना गर्ने गरेको विश्वास गरिन्थ्यो। उक्त आत्माको प्रभाव बढ्दै गएपछि त्यसबेलाका रामजाली घर्तीमगरले तान्त्रिक शक्तिको प्रयोग गरी त्यस आत्मालाई माटोमुनि दबाएको र पुन: सक्रिय हुन नदिन प्रत्येक वर्ष झाँक्री मेला आयोजना गर्न थालिएको जनविश्वास रहेको छ।
त्यसयता गाउँमा कुनै अनिष्ट नहोस्, महामारी नफैलियोस्, पशुचौपाया सुरक्षित रहुन् र प्राकृतिक विपत्ति टारियोस् भन्ने कामनासहित झाँक्री मेला आयोजना हुँदै आएको स्थानीय बुढापाकाहरू बताउँछन्। मेलाका क्रममा झाँक्रीहरूले गाउँको चारैतर्फ पुगेर तन्त्रमन्त्र गर्ने, पूजा चढाउने तथा गाउँको सुरक्षाका लागि धार्मिक अनुष्ठान सम्पन्न गर्ने गर्दछन्।
मेलाको मुख्य आकर्षण सामूहिक झाँक्री नृत्य हो। परम्परागत पोसाकमा सजिएका झाँक्रीहरू ढ्यांग्रो, घण्टी तथा अन्य पूजासामग्री बोकेर एकै साथ नाच्ने गर्दछन्। ढ्यांग्रोको तालसँगै झाँक्रीहरूले गर्ने नृत्य र मन्त्र उच्चारणले मेलास्थललाई धार्मिक तथा सांस्कृतिक वातावरणले भरिपूर्ण बनाउने गरेको छ।
स्थानीय संस्कृतिप्रति चासो राख्नेहरूका लागि यो मेला विशेष आकर्षण बन्ने गरेको छ। मेला अवलोकन गर्न लुगुम गाउँका बासिन्दामात्र नभई जिल्लाका विभिन्न स्थान तथा छिमेकी क्षेत्रबाट समेत सर्वसाधारण पुग्ने गरेका छन् भने पछिल्लो समय अमेरिका, ताइवान, बेलायत र भारतबाट पनि झाँक्री मेला अवलोकन गर्न आउनेको संख्या बढ्दै भएको छ।
आधुनिक जीवनशैली र प्रविधिको प्रभाव बढ्दै जाँदा कतिपय परम्परागत संस्कारहरू लोप हुने अवस्थामा पुगेका बेला लुगुममा भने पुर्खौंदेखि चलिआएको झाँक्री मेला अझै जीवित छ। स्थानीय समुदायले यसलाई आफ्नो पहिचान, आस्था र सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्दै आएको छ। यही कारण झाँक्री मेला केवल धार्मिक अनुष्ठानमा सीमित नभई लुगुमको सांस्कृतिक अस्तित्वसँग जोडिएको महŒवपूर्ण परम्पराका रूपमा स्थापित भएको छ।
प्रतिक्रिया दिनुहोस !