कांग्रेस विवाद : इतर पक्ष भन्छ– सहमतिको सम्भावना सकियो

कांग्रेस विवाद : इतर पक्ष भन्छ– सहमतिको सम्भावना सकियो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर १५औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरे पनि आन्तरिक विवाद झनै चुलिएको छ। विशेष महाधिवेशनदेखि नै फरक बाटो समातेका संस्थापन पक्ष र इतर (शेरबहादुर देउवा) समूहबीचको दूरी घट्नुको साटो झन् फराकिलो बन्दै गएको छ।

संस्थापन पक्ष महाधिवेशनको तयारीमा जुटिरहँदा इतर समूहले भने साउन महिनाभित्रै काठमाडौंमा ‘राष्ट्रिय भेला’ गर्ने घोषणा गरेको छ। साउन ६ गते कमलादीस्थित प्रज्ञा भवनमा हुने बीपी स्मृति दिवसका अवसरमा सो भेलाको मिति, समय र स्थान औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी इतर पक्षको छ।

पार्टी एकताका लागि निरन्तर प्रयास र हदैसम्मको लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ। वर्तमान राजनीति जटिल र अप्रत्याशित मोडमा पुगेको, स्थापित दलहरूलाई नै संकटमा पार्ने खेल भइरहेको र लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने प्रयास भइरहेको बेला संस्थापन पक्षले सहकर्मी दलहरूलाई समेत चिढ्याउने काम गरेको इतर समूहको आरोप छ। पार्टीभित्र बलियो एकता कायम गर्न र नयाँ कार्यदिशा तय गर्न ‘नियमित महाधिवेशन पक्षधर’ का नाममा राष्ट्रिय भेला बोलाउनुपरेको इतर समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सर्वस्वीकार्य बनाउँछौं  : शर्मा
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भने आगामी १५औं महाधिवेशनलाई सर्वस्वीकार्य र सहभागीमूलक बनाउन नेतृत्व तहमा निरन्तर संवाद भइरहेको दाबी गरेका छन्। सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति गगनकुमार थापा, शीर्ष नेतृत्व र विभिन्न तहका नेताहरूबीच सकारात्मक छलफल भइरहेको र संवादबाटै सहमति खोजिने बताए।

पत्रकार सम्मेलनमा उपसभापति शर्माले प्रदेश सरकार गठनका विषयमा पनि पार्टीको धारणा स्पष्ट पारेका छन्। संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्न नहुने उल्लेख गर्दै उनले नागरिकको अभिमत बेवास्ता गरी सबै प्रमुख दल एउटै सरकारमा सहभागी हुने अभ्यास गलत हुने बताए। आवश्यक परे कांग्रेस प्रदेशमा प्रतिपक्षमा बस्न पनि तयार रहेको उनको भनाइ थियो।

यसैबीच, कांग्रेसले बीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा साउन ६ र ७ गते विविध जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। साउन ६ गते जलवायु परिवर्तनबारे जनचेतना जगाउन ललितपुरको यूएन पार्कबाट ५ किलोमिटरको ‘ग्रीन रन’ दौड आयोजना गरिनेछ, जसमा सभापति गगनकुमार थापासहित शीर्ष नेताहरू सहभागी हुनेछन्।

सो दौडमा सहभागी हुनेको संख्याका आधारमा एक मानवीय सहयोग कोष स्थापना गरी हालै विस्थापित भएका सुकुम्बासी, ज्येष्ठ नागरिक र बालबालिकालाई राहत वितरण गरिनेछ। त्यसैगरी, साउन ७ गते राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गरिनेछ। सोही मञ्चबाट सभापति थापाले ‘जरा अभियान’ पछिको नयाँ राजनीतिक अभियान सार्वजनिक गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.