लाइसेन्सको स्वास्थ्य परीक्षणमा अनियमितताको आशंका, इटहरीका यातायात प्रमुख हटाइए

लाइसेन्सको स्वास्थ्य परीक्षणमा अनियमितताको आशंका, इटहरीका यातायात प्रमुख हटाइए

विराटनगर : सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) मा स्वास्थ्य परीक्षणसम्बन्धी अनियमितताको गम्भीर आरोप लागेपछि कार्यालय प्रमुख सतिश सत्याललाई जिम्मेवारीबाट हटाइएको छ । 

अनियमितताको आशंकासँगै उनलाई जिम्मेवारीबाट मुक्त गरेर कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तानिएको छ । बढ्दो गुनासो र अनुगमनबाट भेटिएको कैफियतका आधारमा विराटनगरस्थित मन्त्रालय तानेर उनीमाथि औपचारिक छानबिन सुरु गरिएको छ । मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार बिहीबारको निर्णयअनुसार सत्याललाई मन्त्रालयमा तानिएको हो । हाल सत्याल मन्त्रालयमा हाजिर भए पनि कुनै जिम्मेवारी दिइएको छैन । छानबिन निष्पक्ष बनाउन उनलाई सक्रिय जिम्मेवारीबाट अलग राखिएको मन्त्रालयले जनाएको छ ।

सत्यालमाथि लाइसेन्स जारी वा नवीकरणका क्रममा स्वास्थ्य परीक्षण (मेडिकल) मा फेल भएका व्यक्तिलाई पास गराएको आरोप छ । सेवाग्राहीबाट पटक–पटक गुनासो आएको सचिव तामाङ बताउँछन् । यो गुनासो मन्त्री इन्द्रमणि पराजुलीसम्म पनि पुगेको थियो । मन्त्री पराजुलीको निर्देशनपछि सचिव तामाङकै नेतृत्वमा यातायात कार्यालयमा छड्के अनुगमन भयो ।

अनुगमनका क्रममा चिकित्सकले अनुत्तीर्ण ठहर गरेका सेवाग्राहीलाई पनि उत्तीर्ण गराइएको भेटिएको मन्त्रालयको दाबी छ । त्यसलगत्तै सत्याललाई हटाएर मन्त्रालय तानिएको हो । अनुगमन टोलीले उनको कार्यकक्षको दराज समेत शिल गरेको छ । मन्त्रालयका अनुसार यसअघि पनि सत्याललाई मौखिक रूपमा सचेत गराइएको थियो । तर, सुधार नआएका कारण पछिल्लो अनुगमनपछि कडा कदम चालिएको मन्त्रालयले जनाएको छ । 

लामो समयदेखि यातायात कार्यालयहरूमा स्वास्थ्य परीक्षण प्रक्रियामा नक्कली परीक्षण, आर्थिक चलखेल र रिपोर्ट मिलाउने जस्ता गुनासो आउने गरेका थिए । यस्तो समस्या रोक्न मन्त्रालयले कात्तिक १६ गतेदेखि झापा, इटहरी र विराटनगरका यातायात कार्यालयहरूमा विशेषज्ञ चिकित्सक नियुक्त गरेको थियो । ती चिकित्सकले दिने स्वास्थ्य प्रतिवेदनलाई आधार मानेर मात्रै लाइसेन्स प्रक्रिया अगाडि बढाउने व्यवस्था गरिएको छ । तर, सत्यालले त्यसलाई उल्लंघन गर्दै स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराउने गरेको पाइएको मन्त्रालयको दाबी छ । 

यस विषयमा बुझ्न खोज्दा सत्यालसँग सम्पर्क हुन सकेन । उनी मोबाइल अफ गरेर बसेका छन् । तर, सत्यालले भने आरोप अस्वीकार गर्ने गरेको एक कर्मचारीले बताए । आफूले सेवाग्राहीलाई सहज बनाउन ‘रिचेक’ अर्थात् पुनः परीक्षणको सिफारिस गर्ने गरेको र त्यसैलाई गलत रूपमा व्याख्या गरिएको सत्यालले बताउने गरेको ती कर्मचारीको भनाइ छ । 

यता मन्त्रालयले भने समिति नै गठन गरेर छानबिन सुरु गरेको छ । घटनाको सत्य तथ्य पत्ता लगाउन यातायात व्यवस्था महाशाखा प्रमुख उर्मिला निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । आइतबारबाट काम सुरु गरेको समितिलाई दुई साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

सोही प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाइने सचिव तामाङले बताए । कार्यालयको दैनिक कामकाज सञ्चालनका लागि वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । मन्त्रालयले छानबिनबाट तथ्य स्पष्ट भएसँगै यातायातमा आवश्यक सुधार र कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.