भेडेटार–थुम्की–नाम्जे सडक दुई दिनदेखि अवरुद्ध, यात्रु र स्थानीय मारमा
धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्की नजिकै गएको पहिरोका कारण भेडेटार–रवि–राँके सडक खण्डअन्तर्गत भेडेटार–थुम्की–नाम्जे सडक विगत दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ । लगातारको अविरल वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिँदा सडक पूर्ण रूपमा अवरुद्ध भई यातायात सेवा ठप्प बनेको हो ।
सडक अवरुद्ध भएपछि दैनिक रूपमा सञ्चालन हुँदै आएका साना–ठूला सवारीसाधन चल्न सकेका छैनन् । यसका कारण यात्रुहरू वैकल्पिक तथा जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । बिरामी ओसारपसार, अत्यावश्यक सामग्री ढुवानी तथा दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर परेको छ । स्थानीय बासिन्दा, व्यापारी तथा विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
स्थानीयका अनुसार पहिरोले करिब २० मिटर सडक पूर्ण रूपमा पुरिएको छ । सडक माथिबाट निरन्तर माटो, ढुंगा खसिरहेकाले पहिरो हटाउने कार्य चुनौतीपूर्ण बनेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । ‘पहिरो पन्छाउने बित्तिकै फेरि माथिबाट माटो झरेर सडक पुरिन्छ’, अध्यक्ष राईले भने ।
भेडेटार–रवि–राँके सडक खण्ड हाल निर्माणाधीन अवस्थामा रहेको छ । सोही क्रममा माटो कटिङको काम भइरहेका बेला वर्षासँगै पहिरो खस्दा समस्या झनै जटिल बनेको हो । अहिले पनि त्यो क्षेत्रमा सिमसिम वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पूर्ण रूपमा पहिरो पन्छाउन कठिन हुने भेडेटार प्रहरी चौकीका ईन्चार्ज महेश भट्टराईले बताए ।
अहिले पनि जोखिम कायमै रहेकाले सडक आसपासका क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेको छ । उनका अनुसार सुख्खा पहिरो खस्ने जोखिम अझै कायम रहेकाले सावधानी अपनाउनु पर्ने अवस्था छ । ‘माथिबाट ढुंगा र माटो झर्ने क्रम जारी छ, त्यसैले पूर्ण रूपमा सुरक्षित नभएसम्म सवारी सञ्चालन गर्न जोखिम हुन्छ’, उनले भने ।
भेडेटारदेखि डाँडाबजार हुँदै राजरानी, छ नं बुधवारेदेखि पाँचथरको लेखगाउँ, रवि, इलाम र पाँचथरको सीमा क्षेत्र राँकेसम्म पुग्न सकिन्छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा कोशी राजमार्गसँग जोडिने वैकल्पिक मार्गमा पनि चाप बढेको छ । कतिपय सवारीसाधनले लामो घुमाउरो बाटो प्रयोग गर्नुपरेको छ भने कतिपय यात्रु पैदल हिँड्न बाध्य भएका छन् ।
सडक सञ्चालनका लागि निर्माण कम्पनी, स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको समन्वयमा पहिरो पन्छाउने प्रयास भइरहेको छ । तर मौसम अनुकूल नभएसम्म पूर्ण रूपमा सडक खुलाउन समय लाग्ने देखिएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई अनावश्यक जोखिम नलिन, पहिरो प्रभावित क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक काम बाहेक उक्त सडक प्रयोग नगर्न आग्रह गरेको छ । साथै, वैकल्पिक मार्ग प्रयोग गर्न र सतर्क रहन सबैलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !