नयाँ ठाउँमा किन लाग्दैन निद्रा ?

नयाँ ठाउँमा किन लाग्दैन निद्रा ?

घरबाट कतै बाहिर जानु भएको छ र रात परिसकेको छ। तपाईं अत्यन्तै थकित पनि हुनुहुन्छ। तर, होटेलको ओछ्यान केही असजिलो लाग्छ। त्यस माथि मिनी–फ्रिजको हल्का घुनघुन आवाज रोकिँदैन। पावर आउटलेटका साना बत्तीहरू असामान्य रूपमा चम्किला देखिन्छन्। बाहिरबाट आउने गाडीका हर्न र पदचापले निद्रालाई टाढाको सम्भावना जस्तो बनाइदिन्छ।

हामीमध्ये धेरैले नयाँ वातावरणमा सुत्न गाह्रो अनुभव हुन सक्छ। शारीरिक रूपमा थकित हुँदा पनि निद्रा पर्दैन। यसको कारण केवल मन नलाग्नु होइन। यसको पछाडि जैविक, मनोवैज्ञानिक र विकासवादी कारणहरूको मिश्रण काम गरिरहेको हुन्छ।

पहिलो रात मस्तिष्क आधा जागै 

यस अवस्थालाई वैज्ञानिकहरूले ‘पहिलो रात प्रभाव’ भन्छन्। सन् २०१६ मा अमेरिकाको ब्राउन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिका करन्ट बायोलोजीमा एउटा अध्ययन रिपोर्ट प्रकाशित गर्दै नयाँ वातावरणको पहिलो रात मस्तिष्कको देब्रे गोलार्ध गहिरो निद्रामा पनि बढी सतर्क रहन्छ भनेका थिए।

अनुसन्धान टोलीका सदस्य सासाकी युका जो जापनी पूर्वगायिकासमेत हुन्। उनका अनुसार, मस्तिष्कको एउटा भागले ‘रातको पहरेदार’ जस्तै काम गर्छ। अपरिचित आवाजप्रति बढी प्रतिक्रियाशील भएर सम्भावित खतराबाट जोगाउने भूमिका खेल्छ। दोस्रो रातदेखि यो प्रभाव सामान्यतया घट्दै जान्छ।

हजारौं वर्षअघि नयाँ ठाउँमा सुत्दा पूर्ण रूपमा गहिरो निद्रामा जानु जोखिमपूर्ण हुन सक्थ्यो। त्यसैले मस्तिष्कले आंशिक सतर्कता कायम राख्ने प्रणाली विकास ग¥यो। निद्रा केवल आँखा बन्द गर्नुमात्र होइन। यो जैविक प्रक्रियाको परिणाम हो। शरीरको जैविक घडी, जसलाई ‘सर्केडियन रिदम’ भनिन्छ। यसले प्रकाश–अँध्यारो चक्रसँग मिलेर काम गर्छ। यसले साँझ पर्दै जाँदा शरीरको मूल तापक्रम घटाउँछ र निद्रासम्बन्धी हर्मोन ‘मेलाटोनिन’ बढाउँछ।

मेलाटोनिन र कोर्टिसोल हर्मोनको असर 

मेलाटोनिन अँध्यारोमा स्राव हुने हर्मोन हो। होटलको कोठामा साना एलईडी बत्तीहरू, सडक बत्ती वा मोबाइल स्क्रिनको नीलो प्रकाशले यसको स्रावमा अवरोध पु¥याउन सक्छ। त्यसबाट जोगिनु आवश्यक हुन्छ। तनाव हर्मोन ‘कोर्टिसोल’ उच्च हुँदा मस्तिष्क सतर्क अवस्थामा रहन्छ। यात्रा, चाँडो उडान, बैठक वा सामान बिर्सिने चिन्ताले ‘कोर्टिसोल’ बढाउन सक्छ। समय क्षेत्रमा परिवर्तन गर्दै यात्रा गर्नुभएको छ भने, जेट ल्यागले सर्केडियन रिदम बिगार्छ।

फ्लिन्डर्स विश्वविद्यालय अस्ट्रेलियाको एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय हो। जुन एडिलेडको दक्षिणी उपनगरमा छ। त्यो विश्वविद्यालयका निद्रा अनुसन्धानकर्ताहरूले देखाएका छन् कि भावनात्मक उत्तेजना, चाहे सकारात्मक (उत्साह) होस् वा नकारात्मक (चिन्ता) दुवैले मस्तिष्कको उत्तेजना प्रणाली सक्रिय गर्छ। मस्तिष्कले ‘यो उत्साह हो’ वा ‘यो चिन्ता हो’ भनेर छुट्ट्याउँदैन;। उसले केवल उत्तेजना महसुस गर्छ। र अत्यधिक उत्तेजना र निद्रा एकअर्काका प्रतिस्पर्धी हुन्। जसका कारण निद्रा बिथोलिन सक्छ। 

के छ, कारण ? 

घरमा, तपाईंको नियमित सुत्ने बानी र परिचित संकेतहरूले अब सुरक्षित छ, सुत्न मिल्छ भन्ने सन्देश दिन्छ। तर नयाँ ठाउँमाः फरक गद्दा र तकिया, अपरिचित आवाज (लिफ्ट, ट्राफिक, छिमेकी), फरक गन्ध, तापक्रम परिवर्तन, ढिलो भोजन वा ओछ्यानमै काम गर्ने बानी यी सबैले मस्तिष्कलाई ‘यो सामान्य अवस्था होइन’ भन्ने संकेत दिन्छन्। 

पर्याप्त ननिदाउँदाको असर

पर्याप्त निद्रा नपाउँदाः ध्यान र स्मरण शक्ति घट्छ। निर्णय क्षमता कमजोर हुन्छ मुड चिडचिडा हुन्छ। रोग प्रतिरोधात्मक क्षमता घट्न सक्छ। दीर्घकालीन रूपमा हृदयरोग र मेटाबोलिक समस्याको जोखिम बढ्छ। अमेरिकास्थित नेसनल स्लिप फाउन्डेसनका अनुसार वयस्कले प्रतिदिन औसत ७ देखि ९ घण्टा निदाउनु पर्छ। 

रोचक तथ्य 

केही मानिस घरबाहिर राम्रो सुत्छन्। अनुसन्धानले देखाएको छ कि घरमा तनावपूर्ण वातावरण भएका व्यक्तिहरूले यात्रा गर्दा राम्रो निद्रा पाउन सक्छन्। कारणः दैनिक जिम्मेवारीबाट अस्थायी छुट्टी। काम र आरामबीच स्पष्ट सीमा। मानसिक ‘रिसेट’ प्रभाव आदिका कारण तपाईं घरबाहिर राम्रो सुत्नुहुन्छ भने, घरको निद्रा वातावरण पुनर्मूल्यांकन गर्नुपर्ने संकेत हुन सक्छ।
वैज्ञानिक सुझाव के छ ? 

–    पहिलो रात पूर्ण नहुन सक्छ भन्ने स्वीकार गर्नुहोस्। यो सामान्य र जैविक रूपमा सुरक्षात्मक प्रतिक्रिया हो।
–    कोठा चिसो, अँध्यारो र शान्त राख्नुहोस्। स्लिप मास्क, इयरप्लग प्रयोग गर्न सकिन्छ।
–    नियमित दिनचर्या कायम राख्नुहोस्। सुत्ने–उठ्ने समय सम्भव भएसम्म स्थिर राख्नुहोस्।
–    सुत्नुअघि स्क्रिन प्रयोग घटाउनुहोस्।
–    परिचित वस्तु साथमा लैजानुहोस्। आफ्नै तकियाको खोल वा परिचित सुगन्धले मस्तिष्कलाई सुरक्षित सन्देश दिन सक्छ।
–    पहिलो दिन हल्का योजना बनाउनुहोस्। नयाँ ठाउँमा पहिलो रात गहिरो निद्रा नहुन सक्छ भन्ने अपेक्षा राख्नुहोस्। नयाँ ठाउँमा निद्रा नलाग्नु कमजोरी होइन; यो मस्तिष्कको सुरक्षात्मक प्रणाली हो। 
–    अस्ट्रेलियाली अनुसन्धानकर्ताहरूले अनिद्रा दिमागको प्राकृतिक चौबिसघण्टे मानसिक गतिविधिको लयमा हुने अवरोधसँग सम्बन्धित हुन सक्ने जनाएका छन्।

निद्रा वैज्ञानिक पुस्तक ह्वाई विई स्लिपका लेखक म्याथ्यु वाकर भन्छन् निद्राको कमीले स्मरण शक्ति घटाउँछ,। निर्णय क्षमता कमजोर बनाउँछ र डिप्रेसन तथा चिन्ताको जोखिम बढाउँछ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार दीर्घकालीन निद्रा अभावले उच्च रक्तचाप, मुटुरोग र स्ट्रोकको जोखिम बढाउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.