क्यान्सर जित्ने ओलम्पियन

क्यान्सर जित्ने ओलम्पियन

नेपालगन्ज : १४ वर्षअघि सुरेन्द्र हमालको जीवनमा अकल्पनीय मोड आयो। क्यान्सर रोग विशेषज्ञले उनलाई दोस्रो चरणको आन्द्राको क्यान्सर भएको पुष्टि गरे। खेल मैदानमा कहिल्यै हार नस्वीकार्ने खेलाडीले यसपटक जीवनकै सबैभन्दा कठिन प्रतिस्पर्धामा उत्रिनुपर्‍यो। लामो उपचार, पीडा, तनाव र आर्थिक चुनौतीबीच पनि उनले आत्मबल गुमाएनन्। अन्ततः उनले क्यान्सरलाई पराजित गरे। हमाल भन्छन्, ‘मलाई क्यान्सर लागे पनि सबैको माया, सद्भाव र प्रेम पाएँ। त्यसैले यो रोगलाई जित्न सफल भएँ।’

‘पढोगे, लिखोगे, होगे नवाब, खेलोगे, कुदोगे, होगे खराब’– त्यो बेला यस्तो भन्ने समाज थियो। यो भावना अझै पनि कतै–कतै छ। तर नेपालगन्ज घरबारी टोलका सुरेन्द्र हमाल भन्छन्, ‘मैले नवाब हुनभन्दा खेलाडी हुन रुचाएँ।’ ती भनाइ सम्झिँदा उनी हल्का मुस्कुराउँछन्। भन्छन्, ‘त्यतिबेला अधिकांश अभिभावकका लागि खेलकुद समयको बर्बादी थियो। किनकी पढाइले भविष्य बनाउँछ, खेलले जीवन बिगार्छ भन्ने मान्यता समाजमा गहिरोसँग बसेको थियो।’

खेलाडी बन्ने सपना देख्नु भनेको अनिश्चित भविष्य रोज्नुजस्तै मानिन्थ्यो। तर समाजले देखाएको बाटो होइन, उनी आफ्नै मनले मार्ग कोरे। तर, उनी घरेलु खेलमा मात्र सीमित भएनन्, ओलम्पियन नै हुन पुगे। यो यात्राका क्रममा हमालको जीवनमा सबैभन्दा कठिन प्रतिस्पर्धा खेल मैदानमा होइन, अस्पतालको शय्यामा भयो।

दोस्रो चरणको आन्द्राको क्यान्सर पुष्टि भयो। धेरैका लागि त्यो जीवनको अन्तिम मोड पनि हुन सक्थ्यो। तर, उनका लागि त्यो अर्को चुनौतीमात्र थियो। उनी भन्छन्, ‘खेलकुदले मेरो मनोबल सधैं उच्च राख्यो। त्यही मनोबलले मैले क्यान्सरलाई पनि पराजित गर्न सकेँ भन्ने महसुस गर्छु।’

खेलाडी जीवनले उनलाई हार स्वीकार नगर्ने बानी सिकाएको थियो। खेलकमा जस्तै जीवनमा पनि अन्तिम सिट्टी नबजेसम्म संघर्ष जारी राख्नुपर्छ भन्ने संस्कार उनको स्वभाव बनिसकेको थियो। यस्तो स्वभाव भएका हमाललाई हमला गर्ने क्यान्सर उनको जीवनको अन्त्य होइन, अर्को प्रतिस्पर्धा बन्यो। ‘खेलकुद यस्तो विधा हो, जसले मानिसको मनोबल सधैं उच्च राख्छ। क्यान्सर जित्नुको एउटा कारण त्यो पनि हो,’ उनले भने।

उनलाई सुरुमा पेट दुख्न थाल्यो। आउँ परे जस्तो दिसा आउन थाल्यो। केही महिना त आउँकै औषधि गरियो। तर वजन घट्दै गयो। के भएको हो, पत्ता लागेन। साथीहरूको सल्लाहपछि उपचार गर्न भारतको लखनउ गए। त्यहाँको अस्पतालमा जाँच गर्दा आन्द्रामा घाउ देखियो। हमालले क्यान्सरसँगको लडाइँका क्षण सम्झँदै भने, ‘बायोप्सी गर्दा क्यान्सर पुष्टि भयो। शल्यक्रिया गरेको केही सातापछि घर फर्केँ। फेरि इन्फेक्सन भयो। अति दुख्न थाल्यो। क्यान्सरविरुद्धको लडाइँ भारोत्तोलनमा ओलम्पियन हुँदा उचालेको १५२ किलो तौलभन्दा कम थिएन। तर, मैले हरेस खाइनँ। मनोबल उच्च थियो। करिब ४ महिनापछि म सामान्य अवस्थामा फर्किएँ र अन्ततः मैले जितेँ।’ उनी खेलकुदको सबैभन्दा ठूलो शक्ति पदक जित्नु मात्र होइन, मनमा आत्मविश्वास, अनुशासन, धैर्य र कठिन परिस्थितिसँग जुध्ने क्षमता विकास गर्नु पनि उद्देश्य ठान्छन्। क्यान्सर मृत्युको अन्तिम फैसला होइन। समयमै उपचार र दृढ इच्छाशक्तिले क्यान्सरलाई परास्त गर्न सकिने उनको भनाइ छ। सन् १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका हुन् उनी।

हमालको जीवनले शारीरिक रोगसँगै पुरानो सामाजिक मान्यतालाई पनि चुनौती दिएको छ। कहिल्यै ‘खेलले भविष्य बिगार्छ’ भन्ने सोच हाबी भएको समाजमा उनले खेलकै माध्यमबाट अन्तर्राष्ट्रिय सम्मान कमाए। अन्ततः जीवन–मृत्युको संघर्षमा पनि विजयी भए। खेलकुद केवल पदक जित्ने माध्यम होइन; आत्मविश्वास बढाउने र रोगविरुद्ध लड्न सिकाउने शक्ति दिने उनी बताउँछन्। गर्वका साथ भन्छन्, ‘खेलकुदले मलाई धेरै सम्मान दिएको छ, रोगविरुद्ध लड्ने ऊर्जा र साहस दिएको छ।’यो एउटा खेलाडीको मात्र अनुभव होइन, खेलले मानिसको जीवनलाई कसरी बदल्न सक्छ भन्ने जीवित प्रमाण पनि हो। 

हमाल लुम्बिनी प्रदेशका सांसद भए, मन्त्री बने। राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको जिम्मेवारी पनि सम्हाले। तर, उनी आफूलाई चिनाउने परिचय खोज्नुपर्दा आज पनि गर्वका साथ ओलम्पियन भन्न रुचाउँछन्। उनको जीवन केवल खेल जित्ने कथा होइन, मृत्युको मुखबाट फर्किएर फेरि जीवन जित्ने अदम्य साहसको उदाहरण पनि हो। उनले सन् १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै विश्व खेलकुदको सबैभन्दा ठूलो मञ्चमा राष्ट्रिय झण्डा फहराए। राष्ट्रिय खेलकुद प्रतियोगितादेखि दक्षिण एसियाली खेलकुदसम्म जितेका स्वर्ण, रजत र कांस्य पदकहरू उनको मिहिनेतका साक्षी हुन्। २०४१ सालमा उनले ‘स्ट्रोंगेस्ट म्यान अफ नेपाल’ र ‘बेस्ट लिफ्टर’को उपाधिसमेत जिते।

क्यान्सरलाई जितेपछि उनले आफ्नो जीवनको अर्को सपना पूरा गरे। सन् २०१६ मा उनले नेपालको कुनै पनि खेलाडीद्वारा लिखित पहिलो आत्मकथा ‘ओलम्पियन’ प्रकाशित गरे। २०६ पृष्ठको पुस्तकमा बाल्यकाल, खेल जीवन, अन्तर्राष्ट्रिय अनुभव, राजनीतिक यात्रा, क्यान्सरसँगको संघर्ष र नेपाली भारोत्तोलनको विकासक्रम समेटिएको छ। उनले पुस्तक लेखने योजना पहिले कहिल्यै नबनाएको बताउँछन्। ‘नेपालगञ्जका साथीहरू र खेल पत्रकार टंकसिंह ठकुरीको आग्रहपछि मात्र आत्मकथा लेख्ने निर्णय गरेको थिएँ,’ उनी सम्झिन्छन्। उनको विश्वास छ, उनको संघर्षको कथा भावी पुस्ताका खेलाडीका लागि प्रेरणाको स्रोत बन्नेछ।

नेपालको खेल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय भारोत्तोलन पदक जित्ने खेलाडी, पहिलो खेलाडी आत्मकथाकार र क्यान्सरलाई जित्ने योद्धाका रूपमा उनले व्यक्तित्व बनाएका छन्। क्यान्सरलाई पराजित गरेर सार्वजनिक जीवनमा सक्रिय रहेका उनी रोगसँग जुधिरहेका बिरामीका प्रेरणास्रोत बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.