विराटनगरका अस्पतालमा भाइरल ज्वरो र पखालाका बिरामी बढे
विराटनगर : केही दिनयता लगातार बदलिएको मौसमले विराटनगरका ठूला अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप उल्लेख्य रूपमा बढाएको छ । मौसम फेरिँदा अस्पताल भरिभराउ भएका हुन् ।
अत्यधिक गर्मी, बीचबीचमा भइरहेको वर्षा र वातावरणीय परिवर्तनका कारण विशेषगरी भाइरल ज्वरो, रुघाखोकी र झाडापखालाका बिरामी दैनिक बढ्दै गएका छन् । कोशी अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङ होम, न्यूरो अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको संख्या ह्वात्तै बढेको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यकर्मीका अनुसार अहिले अस्पताल पुग्ने अधिकांश बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकी, घाँटी दुख्ने, बान्ता तथा पखाला जस्ता समस्या धेरै देखिएका छन् ।
मौसमी संक्रमणको असर विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा बढी देखिएको चिकित्सकहरूको भनाइ छ । उनीहरूका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा संक्रमणले छिट्टै असर गर्ने भएकाले अतिरिक्त सावधानी आवश्यक छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा दैनिक करिब १ हजार ५ सयभन्दा बढी बिरामी ओपीडी सेवाका लागि पुग्ने गरेका छन् । तीमध्ये करिब ४ सयदेखि ५ सय जनासम्ममा भाइरल ज्वरो, झाडापखाला तथा अन्य मौसमी संक्रमण देखिने गरेको अस्पतालले जनाएको छ ।
यस्तै, नोबेल शिक्षण अस्पतालमा पनि दैनिक ५ सयभन्दा बढी बिरामी मौसमी संक्रमण र भाइरल ज्वरोको उपचारका लागि पुग्ने गरेका छन् । बिरामीको संख्या बढेसँगै अस्पतालका फिजिसियन तथा बालरोग विभागमा उल्लेख्य चाप परेको छ । कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काका अनुसार मौसम परिवर्तनका बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा भाइरल संक्रमण फैलिने सम्भावना बढ्छ । अहिले आउने अधिकांश बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, खोकी र कमजोरीका लक्षण देखिएको उनले बताए ।
चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक सेवन नगर्न आग्रह गर्दै डा. खड्काले प्रशस्त झोलिलो पदार्थ पिउन, पर्याप्त आराम गर्न र आवश्यक परे चिकित्सकको परामर्श लिन सुझाव दिए । न्यूरो अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहका अनुसार विद्यालय जाने उमेरका बालबालिकामा भाइरल संक्रमण तीव्र रूपमा फैलिरहेको छ । लगातार उच्च ज्वरो आउने, खाना खान छोड्ने वा अत्यधिक कमजोर देखिने बालबालिकालाई ढिला नगरी स्वास्थ्य संस्थामा लैजान उनले अभिभावकलाई आग्रह गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले मौसमको उतारचढाव, दूषित पानीको प्रयोग, अस्वस्थ खानपान, खुला खानेकुरा, लामखुट्टेको वृद्धि तथा भिडभाड भएका स्थानमा संक्रमण सजिलै फैलिने भएकाले अहिलेको अवस्थामा थप सावधानी अपनाउनु पर्ने बताएका छन् । पछिल्ला दिनमा पखालाका बिरामी पनि बढ्न थालेकाले सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।
विराटनगर महानगरपालिका–१० की भूमिका राईले १३ वर्षीय छोरालाई उच्च ज्वरो आएपछि अस्पताल लैजाँदा बिरामीको अत्यधिक भिडका कारण लामो समय पालो कुर्नु परेको अनुभव सुनाइन् । चिकित्सकले मौसमी भाइरल ज्वरो भएको जानकारी दिँदै औषधिसँगै पर्याप्त आराम गर्न सुझाव दिएको उनले बताइन् । चिकित्सकहरूले उमालेको वा शुद्ध पानी मात्र पिउने, बासी तथा खुला खानेकुरा नखाने, नियमित साबुनपानीले हात धुने, घर वरिपरि पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्ने, झुल प्रयोग गर्ने तथा चिकित्सकको सल्लाह बिना औषधि सेवन नगर्न आग्रह गरेका छन् ।
उनीहरूका अनुसार सामान्य भाइरल ज्वरो तीनदेखि पाँच दिनभित्र निको हुन सक्छ । तर, ज्वरो लामो समयसम्म नरोकिए, सास फेर्न गाह्रो भए, लगातार पखाला लागे, शरीरमा पानीको कमी देखिए वा बिरामीको अवस्था जटिल बन्दै गए तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन आवश्यक रहेको डा. खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस !