निर्जीव खेलौनाभित्र ‘आमा’ खोजिरहेको एउटा सानो प्राण !

निर्जीव खेलौनाभित्र ‘आमा’ खोजिरहेको एउटा सानो प्राण !
सुन्नुहोस्

काठमाडौं : जापानको चिवा प्रान्तस्थित इचिकावा चिडियाखानामा जुलाई २०२५ मा जन्मिएको ‘पञ्च’ को कथाले आज विश्वको ध्यान खिचेको मात्र छैन, लाखौंको आँखा रसाएको छ । 

जन्मने बित्तिकै आमाको न्यानो काख नपाएको यो सानो बाँदरको बच्चाका लागि कोही अभिभावक बन्न सकेनन् । समूहमा बस्दा अरूको आक्रमण र एक्लोपनले जब उसलाई सतायो, तब उसको सहारा बन्यो-एउटा सानो नरम खेलौना । जसको नाम थियो ओराङ्गुटान । आज पञ्च त्यो खेलौनालाई वस्तु होइन, आफ्नै आमा सम्झिन्छ । डर लाग्दा त्यसैलाई कसेर अँगाल्छ, सुत्दा त्यसैको न्यानो खोज्छ । कसैले खोस्न खोजे उसको आँखामा आँशु भरिन्छ ।

हजारौंको भीड उसलाई हेर्न झुम्मिन्छ, तर पञ्च भने आफ्नै सानो दुनियाँमा त्यो खेलौनाभित्र आमाको न्यास्रो तर काखको न्यानोपन खोजिरहेको हुन्छ । कहिलेकाही खेलौना, खेलौना मात्र हुँदैन, कसैको बाँच्ने अन्तिम आधार र हराएको माया बन्छ । पञ्चको यो कथा हृदयविदारक मात्र छैन, यसले माया र ममताको भोक कति गहिरो हुन्छ भन्ने कुरालाई पनि प्रष्ट पार्छ ।

जापानको चिवा प्रान्तस्थित सानो चिडियाखाना, जहाँ हरेक बिहान पर्यटकहरूको चहलपहल सुरु हुन्छ । मानिसहरू हाँस्छन्, रमाउँछन् र जनावरका गतिविधि हेरेर खुशी हुन्छन् । तर त्यहीँको एउटा सानो पिँजडाको कुनामा एउटा यस्तो दृश्य छ, जसले कठोर मन भएकाहरूलाई पनि स्तब्ध बनाई दिन्छ ।

त्यहाँ छ–पञ्च । एउटा सानो बाँदरको बच्चा, जसको आँखामा संसारको सारा जिज्ञासा हुनुपर्ने थियो, तर त्यहाँ केवल एउटा गहिरो शून्यता र तिर्सना छ । पञ्चको जन्म एउटा उत्सव हुनुपर्ने थियो, तर उसको लागि त्यो जीवनकै सबैभन्दा ठूलो वियोग बन्यो । पञ्च जन्मिएको केही समयमै उसकी आमाले उसलाई पालनपोषण गर्न अस्वीकार गरिन् । बाँदरका बच्चाहरू आमाको शरीरमा टाँसिएर मात्र सुरक्षित महसुस गर्छन्, तर आमाले त्यागेपछि पञ्च एकदमै एक्लो र त्रसित भएको थियो ।

चिडियाखानाका कर्मचारीहरूले पञ्चलाई दूध खुवाए, उसको स्वास्थ्यको ख्याल राखे । तर उनीहरूले त्यो ‘न्यानो’ दिन सकेनन्, जुन केवल एउटी आमाको छातीमा ढिप्प टाँसिदा महसुस हुन्छ । अरू बाँदरका बच्चाहरू आफ्ना आमाको पछि लागेर यताउता उफ्रिरहँदा, पञ्च भने पिँजडाको एउटा चिसो कुनामा बसेर टोलाइरहन्थ्यो ।

बाँदरहरू समूहमा बस्ने प्राणी हुन् । तर पञ्चको लागि उसको आफ्नै समूह नै बैरी जस्तो थियो । आमाले अस्वीकार गरेको टुहुरो बच्चालाई समूहका अरू बलिया बाँदरहरूले पनि स्वीकार गरेनन् । कसैले झम्टिने, कसैले टोक्ने र कसैले खेद्ने क्रम बढ्दै गयो । पञ्च डराउँथ्यो । ऊ डराउँदा कतै लुक्न चाहन्थ्यो, तर उसलाई लुकाउने र ‘नडराऊ’ भनेर ढाडस दिने व्यवहार कसैबाट थिएन । जब जब अरूको आक्रमण हुन्थ्यो, ऊ रुन्थ्यो-एउटा यस्तो आवाजमा जुन आवाज केवल सहायताको लागि पुकारिरहेको हुन्थ्यो । उसको सानो मुटु डरले ढुकढुक हुन्थ्यो, तर त्यो ढुकढुकीलाई शान्त पार्ने आमाको धड्कन त्यहाँ उपलब्ध थिएन ।

चिडियाखानाका कर्मचारीहरूले पञ्चलाई आमाको न्यास्रो मेटाउनका लागि विभिन्न उपायहरू अपनाए । सुरुमा तौलिया र कम्बलहरू दिइयो, तर उसले त्यति मन पराएन । अन्ततः उसलाई ‘आइकेया’ कम्पनीको एउटा सुन्तला रङ्गको ओराङ्गुटानको ‘टेडी बियर’ दिइयो । यो खेलौनाको हातहरू लामा भएकाले पञ्चलाई यसलाई अंगाल्न सजिलो भयो ।

सुरुमा पञ्च डरायो । तर बिस्तारै उसले त्यो खेलौनालाई छाम्यो । त्यो नरम थियो, ठ्याक्कै उसको आमाको भुवादार रौं जस्तै । उसले बिस्तारै त्यसलाई अँगालो हाल्यो । उसले त्यो खेलौनालाई आफ्नो सानो टाउको राख्ने तकिया जस्तो बनायो । सायद उसको मस्तिष्कले भन्यो होला, ‘हो, यो मेरी आमा होइन’, तर उसको हृदयले भन्यो, ‘अहिलेका लागि यहि मेरो सहारा हो ।’

त्यस दिनदेखि पञ्चको संसार फेरियो । ऊ अब एक्लो थिएन । उसले त्यो निर्जीव खेलौनालाई आफ्नो जीवनको केन्द्र बनायो । सुत्दा ऊ त्यो खेलौनालाई कसेर अँगाल्छ, मानौं उसले छोड्यो भने त्यो फेरि कतै हराउनेछ । डर लाग्दा जब चिडियाखानामा ठूलो आवाज आउँछ वा कोही अपरिचित नजिक आउँछ, ऊ तुरुन्तै दौडेर गएर त्यो खेलौनाको पछाडि लुक्छ ।

भोक लाग्दा कहिलेकाहीँ त उसले आफ्नो दूधको बोतल पनि त्यही खेलौनासँग बाँड्न खोज्छ । एउटा भिडियोमा देखिन्छ, जब एक कर्मचारीले सफा गर्नका लागि त्यो खेलौना हटाउन खोज्छन्, पञ्च चिच्याउँछ । उसको आँखामा आँशु भरिन्छ । उसको त्यो रोदन कुनै वस्तु खोसिएकोमा थिएन, बरु आफ्नो संसारै खोसिएकोमा थियो । उसले त्यो खेलौनालाई दाँतले समात्छ र तान्छ, ‘मेरी आमालाई नलैजाऊ’ भनिरहे जस्तो ।

पञ्चले त्यो टेडी बियरलाई नै आफ्नो आमा मानेर चौबीसै घण्टा अंगालेर हिँड्न थालेको छ । भिडियोहरूमा ऊ कतै जाँदा त्यो टेडी बियर घिसार्दै लैजाने र सुत्दा पनि उसकै छातीमा टाँसिने गरेको देखिन्छ । जुन दृश्यले संसारभरका मानिसहरूको मन जित्यो । पञ्चको कथाले एउटा गम्भीर प्रश्न उब्जाउँछ–माया भनेको के हो ? के माया केवल रगतको नातामा हुन्छ ? पञ्चको लागि त्यो कपास र कपडाले बनेको वस्तु नै उसको ब्रह्माण्ड हो । उसलाई थाहा छैन त्यो निर्जीव हो, उसलाई त केवल यति थाहा छ कि जब ऊ त्योसँग टाँसिन्छ, उसले सुरक्षित महसुस गर्छ ।

आज पनि जापानको त्यो चिडियाखानामा पञ्चलाई हेर्न मानिसहरूको भीड लाग्छ । धेरैले उसलाई हेरेर आँशु पुछ्छन् । पञ्च भने भीडतिर हेर्दैन । ऊ त आफ्नै सानो दुनियाँमा व्यस्त छ–आफ्नो त्यो सानो नरम ‘आमा’ को छातीमा टाउको राखेर शान्तिको निद्रा निदाइरहेको छ । उसलाई अहिले अन्य बाँदरहरुको समूहमा मिसाउने प्रयास जारी छ । हालैका समाचारहरू र भिडियोहरू अनुसार, पञ्चले अब विस्तारै समूहका अन्य साथीहरू बनाउन थालेको छ । एउटा भिडियोमा अर्को एउटा वयस्क बाँदरले उसलाई अंगालाे हालेर जीउ कन्याइदिने गरेको पनि देखिएको छ ।

पञ्चको कथा भाइरल भएपछि जापान र सिङ्गापुर लगायतका देशहरूमा आइकेयाको त्यो ओराङ्गुटान खेलौनाको माग निकै बढेको छ।  पञ्चको यो कथाले जीवनमा कहिलेकाहीँ भौतिक सुख सुविधा भन्दा पनि एउटा ‘अँगालो’ महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि सिकाएको छ । एउटा निर्जीव खेलौनाले पञ्चलाई बाँच्ने आधार दिएको छ । पञ्चको त्यो सानो शरीरभित्र एउटा यस्तो ठूलो प्राण छ, जसले निर्जीव वस्तुमा पनि ममताको प्राण भर्न सक्छ । यो कथा केवल एउटा जनावरको मात्र नभएर माया, सुरक्षा र बाँच्ने इच्छाको प्रतीक बनेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.