निर्जीव खेलौनाभित्र ‘आमा’ खोजिरहेको एउटा सानो प्राण !
काठमाडौं : जापानको चिवा प्रान्तस्थित इचिकावा चिडियाखानामा जुलाई २०२५ मा जन्मिएको ‘पञ्च’ को कथाले आज विश्वको ध्यान खिचेको मात्र छैन, लाखौंको आँखा रसाएको छ ।
जन्मने बित्तिकै आमाको न्यानो काख नपाएको यो सानो बाँदरको बच्चाका लागि कोही अभिभावक बन्न सकेनन् । समूहमा बस्दा अरूको आक्रमण र एक्लोपनले जब उसलाई सतायो, तब उसको सहारा बन्यो-एउटा सानो नरम खेलौना । जसको नाम थियो ओराङ्गुटान । आज पञ्च त्यो खेलौनालाई वस्तु होइन, आफ्नै आमा सम्झिन्छ । डर लाग्दा त्यसैलाई कसेर अँगाल्छ, सुत्दा त्यसैको न्यानो खोज्छ । कसैले खोस्न खोजे उसको आँखामा आँशु भरिन्छ ।
हजारौंको भीड उसलाई हेर्न झुम्मिन्छ, तर पञ्च भने आफ्नै सानो दुनियाँमा त्यो खेलौनाभित्र आमाको न्यास्रो तर काखको न्यानोपन खोजिरहेको हुन्छ । कहिलेकाही खेलौना, खेलौना मात्र हुँदैन, कसैको बाँच्ने अन्तिम आधार र हराएको माया बन्छ । पञ्चको यो कथा हृदयविदारक मात्र छैन, यसले माया र ममताको भोक कति गहिरो हुन्छ भन्ने कुरालाई पनि प्रष्ट पार्छ ।
जापानको चिवा प्रान्तस्थित सानो चिडियाखाना, जहाँ हरेक बिहान पर्यटकहरूको चहलपहल सुरु हुन्छ । मानिसहरू हाँस्छन्, रमाउँछन् र जनावरका गतिविधि हेरेर खुशी हुन्छन् । तर त्यहीँको एउटा सानो पिँजडाको कुनामा एउटा यस्तो दृश्य छ, जसले कठोर मन भएकाहरूलाई पनि स्तब्ध बनाई दिन्छ ।
त्यहाँ छ–पञ्च । एउटा सानो बाँदरको बच्चा, जसको आँखामा संसारको सारा जिज्ञासा हुनुपर्ने थियो, तर त्यहाँ केवल एउटा गहिरो शून्यता र तिर्सना छ । पञ्चको जन्म एउटा उत्सव हुनुपर्ने थियो, तर उसको लागि त्यो जीवनकै सबैभन्दा ठूलो वियोग बन्यो । पञ्च जन्मिएको केही समयमै उसकी आमाले उसलाई पालनपोषण गर्न अस्वीकार गरिन् । बाँदरका बच्चाहरू आमाको शरीरमा टाँसिएर मात्र सुरक्षित महसुस गर्छन्, तर आमाले त्यागेपछि पञ्च एकदमै एक्लो र त्रसित भएको थियो ।
चिडियाखानाका कर्मचारीहरूले पञ्चलाई दूध खुवाए, उसको स्वास्थ्यको ख्याल राखे । तर उनीहरूले त्यो ‘न्यानो’ दिन सकेनन्, जुन केवल एउटी आमाको छातीमा ढिप्प टाँसिदा महसुस हुन्छ । अरू बाँदरका बच्चाहरू आफ्ना आमाको पछि लागेर यताउता उफ्रिरहँदा, पञ्च भने पिँजडाको एउटा चिसो कुनामा बसेर टोलाइरहन्थ्यो ।
बाँदरहरू समूहमा बस्ने प्राणी हुन् । तर पञ्चको लागि उसको आफ्नै समूह नै बैरी जस्तो थियो । आमाले अस्वीकार गरेको टुहुरो बच्चालाई समूहका अरू बलिया बाँदरहरूले पनि स्वीकार गरेनन् । कसैले झम्टिने, कसैले टोक्ने र कसैले खेद्ने क्रम बढ्दै गयो । पञ्च डराउँथ्यो । ऊ डराउँदा कतै लुक्न चाहन्थ्यो, तर उसलाई लुकाउने र ‘नडराऊ’ भनेर ढाडस दिने व्यवहार कसैबाट थिएन । जब जब अरूको आक्रमण हुन्थ्यो, ऊ रुन्थ्यो-एउटा यस्तो आवाजमा जुन आवाज केवल सहायताको लागि पुकारिरहेको हुन्थ्यो । उसको सानो मुटु डरले ढुकढुक हुन्थ्यो, तर त्यो ढुकढुकीलाई शान्त पार्ने आमाको धड्कन त्यहाँ उपलब्ध थिएन ।
चिडियाखानाका कर्मचारीहरूले पञ्चलाई आमाको न्यास्रो मेटाउनका लागि विभिन्न उपायहरू अपनाए । सुरुमा तौलिया र कम्बलहरू दिइयो, तर उसले त्यति मन पराएन । अन्ततः उसलाई ‘आइकेया’ कम्पनीको एउटा सुन्तला रङ्गको ओराङ्गुटानको ‘टेडी बियर’ दिइयो । यो खेलौनाको हातहरू लामा भएकाले पञ्चलाई यसलाई अंगाल्न सजिलो भयो ।
सुरुमा पञ्च डरायो । तर बिस्तारै उसले त्यो खेलौनालाई छाम्यो । त्यो नरम थियो, ठ्याक्कै उसको आमाको भुवादार रौं जस्तै । उसले बिस्तारै त्यसलाई अँगालो हाल्यो । उसले त्यो खेलौनालाई आफ्नो सानो टाउको राख्ने तकिया जस्तो बनायो । सायद उसको मस्तिष्कले भन्यो होला, ‘हो, यो मेरी आमा होइन’, तर उसको हृदयले भन्यो, ‘अहिलेका लागि यहि मेरो सहारा हो ।’
त्यस दिनदेखि पञ्चको संसार फेरियो । ऊ अब एक्लो थिएन । उसले त्यो निर्जीव खेलौनालाई आफ्नो जीवनको केन्द्र बनायो । सुत्दा ऊ त्यो खेलौनालाई कसेर अँगाल्छ, मानौं उसले छोड्यो भने त्यो फेरि कतै हराउनेछ । डर लाग्दा जब चिडियाखानामा ठूलो आवाज आउँछ वा कोही अपरिचित नजिक आउँछ, ऊ तुरुन्तै दौडेर गएर त्यो खेलौनाको पछाडि लुक्छ ।
भोक लाग्दा कहिलेकाहीँ त उसले आफ्नो दूधको बोतल पनि त्यही खेलौनासँग बाँड्न खोज्छ । एउटा भिडियोमा देखिन्छ, जब एक कर्मचारीले सफा गर्नका लागि त्यो खेलौना हटाउन खोज्छन्, पञ्च चिच्याउँछ । उसको आँखामा आँशु भरिन्छ । उसको त्यो रोदन कुनै वस्तु खोसिएकोमा थिएन, बरु आफ्नो संसारै खोसिएकोमा थियो । उसले त्यो खेलौनालाई दाँतले समात्छ र तान्छ, ‘मेरी आमालाई नलैजाऊ’ भनिरहे जस्तो ।
पञ्चले त्यो टेडी बियरलाई नै आफ्नो आमा मानेर चौबीसै घण्टा अंगालेर हिँड्न थालेको छ । भिडियोहरूमा ऊ कतै जाँदा त्यो टेडी बियर घिसार्दै लैजाने र सुत्दा पनि उसकै छातीमा टाँसिने गरेको देखिन्छ । जुन दृश्यले संसारभरका मानिसहरूको मन जित्यो । पञ्चको कथाले एउटा गम्भीर प्रश्न उब्जाउँछ–माया भनेको के हो ? के माया केवल रगतको नातामा हुन्छ ? पञ्चको लागि त्यो कपास र कपडाले बनेको वस्तु नै उसको ब्रह्माण्ड हो । उसलाई थाहा छैन त्यो निर्जीव हो, उसलाई त केवल यति थाहा छ कि जब ऊ त्योसँग टाँसिन्छ, उसले सुरक्षित महसुस गर्छ ।
आज पनि जापानको त्यो चिडियाखानामा पञ्चलाई हेर्न मानिसहरूको भीड लाग्छ । धेरैले उसलाई हेरेर आँशु पुछ्छन् । पञ्च भने भीडतिर हेर्दैन । ऊ त आफ्नै सानो दुनियाँमा व्यस्त छ–आफ्नो त्यो सानो नरम ‘आमा’ को छातीमा टाउको राखेर शान्तिको निद्रा निदाइरहेको छ । उसलाई अहिले अन्य बाँदरहरुको समूहमा मिसाउने प्रयास जारी छ । हालैका समाचारहरू र भिडियोहरू अनुसार, पञ्चले अब विस्तारै समूहका अन्य साथीहरू बनाउन थालेको छ । एउटा भिडियोमा अर्को एउटा वयस्क बाँदरले उसलाई अंगालाे हालेर जीउ कन्याइदिने गरेको पनि देखिएको छ ।
पञ्चको कथा भाइरल भएपछि जापान र सिङ्गापुर लगायतका देशहरूमा आइकेयाको त्यो ओराङ्गुटान खेलौनाको माग निकै बढेको छ। पञ्चको यो कथाले जीवनमा कहिलेकाहीँ भौतिक सुख सुविधा भन्दा पनि एउटा ‘अँगालो’ महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि सिकाएको छ । एउटा निर्जीव खेलौनाले पञ्चलाई बाँच्ने आधार दिएको छ । पञ्चको त्यो सानो शरीरभित्र एउटा यस्तो ठूलो प्राण छ, जसले निर्जीव वस्तुमा पनि ममताको प्राण भर्न सक्छ । यो कथा केवल एउटा जनावरको मात्र नभएर माया, सुरक्षा र बाँच्ने इच्छाको प्रतीक बनेको छ ।
प्रतिक्रिया दिनुहोस !