धनुषा-४ : रघुवीर ‘ह्याट्रिक’ को दाउमा, महेन्द्रलाई घण्टी ‘तगारो’
ढल्केवर (धनुषा) : आसन्न प्रतिनिधिसभा निर्वाचनसँगै धनुषा क्षेत्र नम्बर–४ मा चुनावी तापक्रम उल्लेख्य रुपमा बढेको छ । विगत दुई निर्वाचनदेखि एउटै जोडीबीच हुँदै आएको प्रतिष्पर्धा यस पटक पनि दोहोरिँदा समीकरण भने बदलिँदो देखिन्छ । पुराना दुई शक्ति आमनेसामने हुँदा नयाँ राजनीतिक शक्तिको प्रवेशले चुनावी अंकगणित जटिल बनाएको छ ।
यस क्षेत्रमा नेकपा एमालेका उपमहासचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ र नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री महेन्द्र यादवबीच प्रत्यक्ष भिडन्त छ । २०७४ र २०७९ मा लगातार विजयी भएका महासेठ तेस्रो जितसहित आफ्नो राजनीतिक साख जोगाउने दाउमा छन् । विशेषतः २०७९ को निर्वाचनमा १२४ मतको झिनो अन्तरले जित निकालेका उनले यस क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्रका रुपमा स्थापित गरिसकेका छन् ।
तर यही झिनो अन्तरले महासेठमाथि दबाब पनि सिर्जना गरेको छ । विकासका कामलाई मुख्य एजेण्डा बनाएका उनले भौतिक पूर्वाधार, सडक सञ्जाल र स्थानीय परियोजनालाई उपलब्धिको रूपमा अघि सारेका छन् । तर मतदाता स्तरमा देखिने असन्तुष्टि, रोजगारी र कृषि क्षेत्रका चुनौती जस्ता मुद्दाले उनको दाबीलाई परीक्षणमा राखेको छ । यस पटक उनको चुनावी अभियान समेत विकासको दाबीमा सीमित नभई एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका केही सार्वजनिक अभिव्यक्तिहरु स्थानीस्तरसम्म बहसको विषय बनेका छन् । विपक्षी दलका उम्मेदवारहरुले ती अभिव्यक्तिलाई मुद्दा बनाएपछि महासेठ मतदाताको प्रश्नले घेरिन थालेका छन् ।
चुनावी भेटघाटमा विकासभन्दा बढी ‘पार्टी नेतृत्वको धारणा’ बारे जिज्ञासा आउने गरेको एमालेकै स्थानीय नेताहरु स्वीकार्छन् । सामाजिक सञ्जालमार्फत ती अभिव्यक्तिहरु तीव्र रुपमा फैलिँदा युवा मतदातामा प्रभाव परेको आकलन गरिएको छ । कडा प्रतिष्पर्धाको क्षेत्रमा यस्ता बाह्य कारकले सानो मत परिवर्तन समेत निर्णायक बन्न सक्ने स्थानीय राजनीतिक विश्लेषकहरु बताउँछन् ।
यस पटकको चुनाव महासेठको ‘ह्याट्रिक’ भन्दा बढी राजनीतिक विश्वसनीयताको परीक्षा बनेको उनीहरुको बुझाइ छ । यता कांग्रेसका यादवका लागि यो निर्वाचन ‘प्रतिष्ठाको लडाइँ’ बनेको छ । लगातार दुई पटक पराजित भएका उनी यस पटक पार्टीभित्रको आन्तरिक एकता र बदलिएको रणनीतिमा भरोसा राखिरहेका छन् ।
पाँच दलीय गठबन्धनको अनुभवपछि कांग्रेसले संगठन सुदृढीकरण र मतदाता पहुँच विस्तारमा ध्यान दिएको दाबी गरिरहेको छ । यादवले लोकतन्त्र, संघीयता र समावेशिताको मुद्दा उठाउँदै आफूलाई वैकल्पिक स्थिर शक्तिका रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । तर विगतका हारले उनको आधार क्षेत्र कति पुनः एकीकृत भयो भन्ने प्रश्न अझै खुला छ ।
यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतोको उपस्थिति निर्णायक बन्न सक्ने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को प्रभाव र वैकल्पिक राजनीतिक विमर्शले युवा मतदातामा आकर्षण बढाएको स्थानीय विश्लेषकहरुको भनाइ छ । रास्वपाले परम्परागत दलप्रति देखिएको निराशालाई भोटमा रूपान्तरण गर्न सके परिणाम अप्रत्याशित हुन सक्ने चर्चा व्याप्त छ । यद्यपि संगठन संरचना र मतदान व्यवस्थापन क्षमताले अन्तिम नतिजा निर्धारण गर्ने विश्लेषकहरूको बताउँछन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार संजयकुमार महतोले पनि युवामुखी मुद्दा उठाउँदै चुनावी बहसलाई नीतिगत सुधारतर्फ मोड्ने प्रयास गरेका छन् । ‘जेन्जी’ को भाष्य, पारदर्शिता र प्रणाली सुधार जस्ता एजेण्डाले सीमित तर प्रभावकारी मत तान्ने सम्भावना देखिन्छ । तर बहुदलीय प्रतिष्पर्धामा मत विभाजनले कसलाई फाइदा पुग्छ भन्ने समीकरण महत्वपूर्ण हुनेछ ।
धनुषा-४ को चुनावी प्रतिष्पर्धा यस पटक स्थानीय विकासको मूल्यांकन, परम्परागत दलबीचको प्रतिष्ठाको लडाइँ र वैकल्पिक शक्तिप्रति बढ्दो आकर्षण गरी तीन तहमा चलिरहेको देखिन्छ । यो निर्वाचन एमालेका महासेठका लागि साख जोगाउने चुनौती छ भने कांग्रेसका यादवका लागि हारको शृंखला तोड्ने अवसर । उता ‘घण्टी’ को प्रभावले दुवैको गणित बिगार्ने सम्भावना बलियो रहेको राजनीतिक मामिलाका जानकारहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !