‘आगामी विश्वकप मेरा लागि अन्तिम’
रियाद : पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अर्को वर्ष हुने फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। उनले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने विश्वकप आफ्नो अन्तिम हुने बताएका हुन्। ४१ वर्षीय रोनाल्डोले अर्को वर्ष कीर्तिमानी छैटौं विश्वकप खेल्दै छन्।
‘निश्चित रुपमा सन् २०२६ मा हुने विश्वकप मेरो अन्तिम विश्वकप हो’, पोर्चुगलको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका रोनाल्डोले एक भिडियो लिङ्कमा साउदी फोरमसँग भने, ‘म ४१ वर्षको हुन लागें। मलाई लाग्छ यो अन्तर्राष्ट्रिय खेलबाट बिदा लिनु उपयुक्त समय हो भन्ने लाग्छ।’
अन्तर्राष्ट्रिय र क्लब खेलमा नौ सय ५० भन्दा बढी गोल गरिसकेका रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्न्यास लिनेसमेत बताएका छन्। ‘म चाँडै नै अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिँदैछु। चाँडै नै भनेको एक वा दुई वर्ष हुन सक्छ’, रोनाल्डो भने, ‘सम्भवतः अझै एक वा दुई वर्ष म सक्रिय खेलाडी रहने छु।’
सन् २०२३ मा साउदी अरेबियाको अल नासरमा कीर्तिमानी रकममा अनुबन्ध भएका रोनाल्डोले गत साता आफूले चाँडै नै सन्न्यास लिने बताएका थिए। पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आफ्नो छैटौं विश्वकपमा राष्ट्रका लागि पनि अविश्मरणीय उपलब्धि दिलाउने लक्ष्य राखेका छन्। सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो। उनको नेतृत्वमा पोर्चुगलले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि हो।
पोर्चुगल सन् २०२६ को विश्वकपमा छनोट भइसकेको छैन। बिहीबार राति हुने खेलमा आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछ। दुई खेल खेल्न बाँकी पोर्चुगललाई विश्वकपमा छनोट हुन दुई अंकको मात्रै आवश्यकता छ। पोर्चुगलले आयरल्यान्डसँगै समूहको अन्तिम स्थानमा रहेको अर्मेनियासँग खेल्नेछ।
विश्वकप छनोटको समूह ‘एफ’मा रहेको पोर्चुगल चार खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा छ। विश्वकप छनोटको चार खेलमा रोनाल्डोले पाँच गोल गरिसकेका छन्। उनले राष्ट्रिय टोलीबाट कीर्तिमानी एक सय ४३ गोल गरिसकेका छन्। ‘पछिल्लो समय म निकै खुसी छु। मैले राम्रो महसुस पनि गरिरहेको छु। मैले लगातार गोल गरिरहेको छु। यसका लागि आफूले पनि मेहनत गरिरहेको छु’, उनले भनेका छन्, ‘म राष्ट्रिय टिममा रमाइरहेको छु।’
प्रतिक्रिया दिनुहोस !