तिब्बती प्रशासन प्रमुखले दिए प्रधानमन्त्री कार्कीलाई बधाई, तिब्बती शरणार्थीको समस्या समाधान गरिदिन आग्रह
काठमाडौं : तिब्बतका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाउँदै नेपाल र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै उनले नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्था सुधार हुने आशा व्यक्त गरेका छन्।
'गणतन्त्र नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीको रूपमा तपाईंको ऐतिहासिक नियुक्ति नेपालका सबै जनताको लागि खुशीको क्षण र राम्रो भविष्यको आशा दुवै हो,' बधाई सन्देशमा भनिएको छ। उनले नेपाली जनताको बलिदान, विशेष गरी जेनजी क्रान्तिको समयमा गरिएको योगदानको पनि उल्लेख गरिएको छ।
धर्मगुरु दलाई लामाले पनि नेपाल र तिब्बतीबीचको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गरेको सन्देशमा भनिएको छ। सन् १९५९ देखि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकार र नेपाली जनताले प्रदान गरेको सहयोगप्रति उनले आभार व्यक्त गरेका छन्। 'म यो ऐतिहासिक सम्बन्धको महत्वलाई पुनः जोड दिन चाहन्छु,' सन्देशमा भनिएको छ।
नेपालमा शरण लिन बाध्य तिब्बतीहरूको अवस्था अहिले जटिल रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 'हामीले विगतका वर्षहरूमा गरेका सबै प्रयासहरू असफल भएका छन्, तर तपाईंको नेतृत्वमा हामीलाई आशाको किरण देखिएको छ,' सिक्योङले भनेका छन्। उनले यही सरकारले नेपालमा रहेका तिब्बत शरणार्थीहरूले राहत पाउने विश्वास व्यक्त गरेका छन्। 'हामी तपाईंलाई विश्वस्त गराउन चाहन्छौं कि तिब्बती जनता नेपालको विकासमा सकारात्मक रूपमा सहभागी हुनेछन्,' सन्देशमा भनिएको छ।
यो पनि पढ्नुस् : प्रधानमन्त्री कार्कीलाई तिब्बती धर्मगुरु दलाई लामाले दिए बधाई
प्रतिक्रिया दिनुहोस !