४ वर्षमा हामीले आम नागरिकको मन जित्यौं : रवि लामिछाने
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्र र संविधानको मजबुतीका लागि आफूहरू नचुक्ने बताएका छन्।
चितवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान बलियो बनाउनका लागि आफूहरू होसियारीका साथ लागि परेको बताए। उनले विगतमा मुलुकलाई यहाँसम्म ल्याउन भएका त्याग र बलिदानको सम्मान गर्नुपर्ने समेत बताए।
‘संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, संविधान, मुलुकलाई यहाँसम्म ल्याउन भएका त्याग, बलिदान, संघर्षको सम्मानको जगमा हामीहरू उभिएका छौँ,’ केन्द्रीय समितिलाई सम्बोधन गर्दै लामिछानेले भने ‘हिजोको त्याग र बलिदानीको उजाइको काँधमा उभिएको हुँदा लोकतन्त्रको मूल्य र मान्यताबाट लोकतन्त्रको प्रतिबद्धताबाट कहिल्यै विमुख हुने छैनौं।’
उनले महाधिवेशनमा आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन संस्थापक सभापतिको हैसियतमा आफूले गरेको भूमिकाको आम पार्टी कार्यकर्ताले मूल्यांकन गर्ने विषय रहेको बताए। उनले निष्ठा र आन्तरिक लोकतन्त्रमा कहिल्यै सम्झौता नगरेको समेत स्पष्ट पारे।
उनले होसियारीका साथ नयाँ कदम चाल्नुपर्ने बताउँदै आम नागरिकको चाहना अनुसार अघि बढ्नुपर्ने बताए। ‘हामी होसियारीका साथ कदम चाल्नुपर्ने हुन्छ। अबको हाम्रो जिम्मेवारी हिजोको भन्दा फरक छ। हाम्रै आँखाबाट हाम्रै हुटहुटीबाट अभिव्यक्तिबाट देशले एउटा सपना देख्न सुरु गरेको छ,’ उनले भने ‘एउटा युग पर्खेर हाम्रा माध्यमबाट देशले समृद्धि , सुशासन र सामाजिक न्यायको सपना देखेको छ। यो सपना पुरा गर्नका लागि हामी महाधिवेशनपछि जुन भूमिकामा रहे तापनि जिम्मेवार नागरिकका रूपमा रहन आग्रह गर्छु।‘
सभापति लामिछानेले पार्टी दर्ता गराउन जाँदा निर्वाचन आयोगमा २१, २२ वटा नागरिकता बोकेर गएको सम्झना समेत गरे। ‘मेरो कार्यकक्षमै हस्ताक्षर भए यही कोठामा भित्र कयौँ निर्णय भए। पार्टीको महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर भए। यही मलाई गिरफ्तार गर्न प्रहरी भित्र छिरे,’ उनले भने ‘यहाँसम्म आइपुग्दा अनेक भोगाइहरू जीवनमा जस्तै पार्टीमा पनि व्यहोर्न पर्यो।’
उनले मान्छेको जीवन र पार्टीको जिवनमा उतारचढाबहरू हुने बताउँदै उतारचढाबको बीचमा चार वर्षको समय बिताएको बताए। रविले भावुक हुँदै भने ‘यो चार वर्षमा हामीले आम नागरिकको मन जित्यौँ। नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन बन्यो।’
प्रतिक्रिया दिनुहोस !